नेपाली सुरक्षित



काठमाडौं, (नेस)
अफगानिस्तानमा सोमबार भएको कार बम विस्फोटनमा कोही पनि नेपाली नागरिक हताहतमा नपरेका सरकारले पुष्टि गरेको छ। सो घटनामा कोही पनि नेपाली नागरिक नपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजधानी काबुलको पश्चिमी क्षेत्रमा अवस्थित सिया बाहुल्य क्षेत्रमा भएको आत्मघाती दुर्घटनामा करिव २ दर्जन व्यक्तिले ज्यान गुमाएका छन् भने ४० भन्दा बढी घाइते भएका छन्।

सो दुर्घटनामा नेपाली नागरिकबारे अप्रिय खबर नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो। ‘विस्फोटको खबर आएलगत्तै हामीले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् त्यहाँको खबर पटक–पटक बुझ्यौं, तर नेपालीबारे कुनै प्रकारको अप्रिय खबर नभएको पुष्टि भयो’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

काबुलका अन्य भेगको तुलनामा सोमबार विस्फोट भएको क्षेत्रमा नेपाली कामदारको संख्या न्यून रहेको पौडेलले बताउनुभयो। स्थानीय समयअनुसार बिहान १० बजेपछि सो दुर्घटना भएको थियो। सो आक्रमणको जिम्मेवारी विद्रोही तालिवान समूहले लिएको छ। घटनालगत्तै तालिवानका प्रवक्ता जाबिउल्ला मुजाइदको भनाइ उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिअनुसार विस्फोट अफगान गुप्तचर सवार बसलाई लक्षित गरिएको थियो।

तर, विस्फोटमा परेर सर्वसाधारण नागरिकसहित खानी तथा पेट्रोलियम मन्त्रालयमा कार्यरत अधिकारी हताहतमा परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। संयुक्त राष्ट्र संघका अनुसार ६ महिनायता अफगानिस्तानमा आतंकवादी आक्रमणमा १ हजार ६ सय ६२ जनाले अकालमा ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्