पशुपतिनाथमा पौने दुई लाख भक्तजन



 

काठमाडौँ, ९ साउन । साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा पौने दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

साउने सोमबारको अवसर पारेर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पशुपति मन्दिरमा विशेष पूजा गर्नुभएको छ । प्रधानसेनापति क्षत्रीले लघु रुद्राभिषेकसहित पशुपतिनाथ मन्दिरमा रु ११ हजारको विशेष पञ्चामृत पूजा गराउनुभएको कोषले जनाएको छ ।

प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले पनि मन्दिरमा दर्शन गर्नुभएको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । मन्दिरमा आज पनि उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी भक्तजनले दर्शन गरेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

पशुपतिमा विशेषगरी महिला भक्तजनको भीड थियो । विवाहित नारीले साउनको सोमबार व्रत गरी शिवालयमा दर्शन गरेमा अटल सौभाग्य र अविवाहितले व्रत गरेमा चिताएको वरवधु प्राप्त हुने धार्मिक विश्वास छ ।

सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा जल चढाउनेको पनि आज भीड लागेको थियो । यसैबीच पन्ध्र दिन अघिदेखि बिग्रिएको शवदाह गृह यन्त्रको मर्मत भइरहेकाले एक हप्तामा सञ्चालनमा ल्याउने तयारी गरिएको कोषले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्