प्रदेशको बहुमतले राजधानी तय : पौडेल



नेपाल समाचारपत्र, बाँके । नेकपा एमालेका उपमहासचिव एवं प्रदेश नम्बर पाँचका संयोजक विष्णु पौडेलले प्रदेशसभाको बहुमतले प्रदेशको राजधानी तय गर्ने बताउनु भएको छ ।

प्रेस चौतारी, बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले प्रदेशसभाको बहुमतले जहाँ भन्छ, त्यही राजधानी हुने बताउनुभयो । ‘बहुमतले नेपालगञ्ज, गुलरिया, दाङ, प्यूठान, बुटवल जहाँ भन्छ, राजधानी त्यही हुन्छ, नेता पौडेलले भन्नुभयो, त्यतिबेलासम्म जसले पनि यहाँ हुनुपर्छ भनेर दावी गर्न पायो ।’

नेता पौडेलले पाँच नम्बर प्रदेश टुक्राउने षड्यन्त्र अझै जारी रहेको बताउनुभयो । ‘संविधान संशोधनको कुरा सेलाउछ, फेरि बिउझिन्छ, नेता पौडेलले भन्नुभयो, पाँच नम्बर प्रदेशलाई टुक्रिन हामी दिदैनौ । एमालेका नेताहरु टुक्रिन तयार छन् । तर, पाँच नम्बरको पहाडी र तराईलाई छुट्टिन दिदैनौं ।’ उहाँले संविधान संशोधनको आवश्यकता महसुस भए सबै तहको चुनावपछि गर्न सकिने बताउनुभयो । माघ ७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि एमालेले दबाब दिइरहेको बताउनुभयो । ‘सरकारले संसदको म्याद थप्न भित्रभित्र गृहकार्य गरेको सुनेका छौं । हामीले कुनै हालतमा त्यसलाई मान्दैनौं, पौडेलले भन्नुभयो, मंसीर पहिलो हप्तासम्ममा दुवै तहको निर्वाचन गर्नुपर्छ भन्ने हाम्रो दबाब छ ।’

नेता पौडेलले तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने दावी गर्नुभयो । ‘दोस्रो चरणमा पनि राजपाले भाग लिएका थियो, अब दुई नम्बर प्रदेशको चुनावमा ऊ सहभागी हुन्छ, पौडेलले भन्नुभयो, चुनावमा भाग नलिए जनताबाट टाढा हुन्छन् ।’

सरकारमा एमाले जाने संभावना छ भन्ने प्रश्नमा पौडेलले त्यो अहिले सम्भव नभएको बताउनुभयो । ‘एमालेलाई सरकार होइन, चुनाव चाहिएको छ, पौडेलले भन्नुभयो । उहाँले अविलम्ब प्रदेश र संसदको चुनावको मिति घोषणा गर्न माग गर्नुभयो ।

एमाले प्रदेश नम्बर पाँचका जनप्रतिनिधिलाई १० र ११ गते दिन थालेको प्रशिक्षणका लागि पौडेल नेपालगञ्ज आउनु भएको हो । प्रशिक्षणको उद्घाटन पार्टीका कार्यवाहक अध्यक्ष बामदेव गौतमले गर्ने एमाले, बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । जनप्रतिनिधिलाई वरिष्ठ नेता माधवकुमार नेपाललगायतले प्रशिक्षण दिनेछन् ।

प्रदेश नम्बर पाँचमा ४३ तहमा प्रमुख जितेको एमालेको प्रशिक्षणमा मेयर र उपमेयर तथा गाउँपालिका प्रमुख र उपप्रमुख गरी दुई÷दुई जना सहभागी हुने छन् । प्रशिक्षणमा एक सय ५७ जना सहभागी हुने प्रचार विभाग बाँकेका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । जनप्रतिनिधिलाई संविधान, कानूनी अधिकार र विकास निर्माणका बारेमा प्रशिक्षण दिन थालिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्