यू–१९ विश्वकप छनोटः नेपालसँग मलेसिया पराजित, सन्दिपले लिए ७ विकेट



काठमाडौ (नेस) ।
नेपालले आइसीसी यू—१९ विश्वकप छनोटमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । पाँचौ खेलमा नेपाली युवा टोलीको यो चौथो जित हो । ९० रनको लक्ष्य पछ्याएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि सन्दीप सुनार र अनिल शाहले ३० रनको साझेदारी गरेपनि त्यसपछि नेपालको इनिङ केही लडखडाएको थियो । ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको युवा टोलीले सोमबारको खेलमा पनि ९० रन लक्ष्यका पुरा गर्न ५ विकेट खर्चनु परेको थियो ।

पछि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । रोहित ३४ र दीपेन्द्र १९ रनमा अविजित रहे । रोहितले ३७ बलमा ६ चौका र दीपेन्द्रले २९ बलमा १ चौका प्रहार गरे ।

सन्दीपले १५, अनिले १२ रन बनाए । प्रनित थापा ८ रनमा आउट भए भने अदिल खान र प्रकाश केसीले खाता खोल्न सकेनन् । मलेसियाका विरानदिप सिंहले ३ र हाफिजुद्दिनले २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ३५.१ ओभरमा ८९ रन जोड्दै अलआउटभएको थियो । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोज्ने निर्णयलाई आफैले सहि साबित गर्ने क्रममा ७ विकेट लिएका थिए ।

खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटको साझेदारी भने महत्वपूर्ण रह्यो । कप्तान विरानदिप सिंह र साएद अजिज मुबारकले ५८ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान सन्दिपले आफ्नो पहिलो ओभरमै ४६ रनमा खेलिरहेका मुबारकलाई कट बिहाईन्ड गराएका थिए । ६६ बल खेलेका मुबारकले ७ चौका र १ छक्का प्रहार गरे ।

सन्दिपले आफ्नो दोस्रो ओभरमा कप्तान विरानदिपको पनि विकेट लिंदै मलेसियालाई थप संकटमा पारेका थिए ।

त्यसपछि नियमित विकेट गुमाएको मलेसियाको लागि कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए ।

नेपालका लागि साहब आलमले २ विकेट लिए। प्रतियोगितामा पहिलो खेल खेलिरहेका रिजन ढकालले पनि १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्