शुरु भयो ग्रिन सिटी धुलिखेल अभियान



नेपाल समाचारपत्र,काभ्रे ।
पर्यटकहरुका लागि मात्रै नभई नगरबासिहरुकै लागि पनि स्वच्छ, हराभरा र शान्त वातावरणमा जीउन सहज बनाउने उदेश्यले क्लिन, ग्रिन र कलरफुल सिटी अन्र्तगतका कार्यक्रम कार्यान्वयन गर्न शुरु गरिएको छ ।

जनप्रतिनिधि निर्वाचित हुनु अगावै जनतासँग गरेको बाचा अनुरुप धुलिखेल नगरपालिकालाई ग्रिन, क्लिन र कलरफुल सिटी बनाउने अभियान शुरु भएको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले गत आर्थिक वर्षबाटै घोषित कार्यक्रमहरु कार्यान्वयन गर्न शुरु गरिएको बताए ।

‘हामी ५ वर्ष भित्र धुलिखेलका सबै वडाहरुको पहिचान दिन सकिने खालका कार्यक्रमहरु गर्ने गरी अगाडी बढेका छौं, त्यसकै एउटा अंश धुलिखेलका विभिन्न स्थानमा हरियाली सहितका पार्कहरुको निर्माण शुरु गरिएको छ’–प्रमुख ब्याञ्जुले भने ।

त्यस्तै धुलिखेलको टुँडिखेल पार्क अगाडी कमल पोखरी सहितको मनोरञ्जन पार्क निर्माण गरिएको छ । धुलिखेल नगरपालिकाको ८ लाख र जिल्ला बन कार्यालयको ८ लाख रुपैया गरी मनोरञ्जन पार्क निर्माण गर्न लागिएको हो ।

सोहि पार्कसँगैबाट धुलिखेलको प्रख्यात हजार सिंढी चढ्ने मुलद्वारमा जिल्ला स्वास्थ्य कार्यालयको आसपासमा समेत हरियाली पार्क निर्माण गरिएको छ । वडा अध्यक्ष निराजन जंगमले वडाका विभिन्न स्थानमा धुलिखेल घुम्न आउने पर्यटकहरुका लागि शान्त वातावरणका पार्कहरु निर्माण गर्न लागिएको बताए ।

निर्वाचनमा गरिएको घोषणा अनुसार नै नगर भित्र विकासका कार्यहरु द्रुत गतिमा अगाडी बढाउने जंगमले बताए । धुलिखेल नगरपालिकाले नगरको विकासका लागि विभिन्न क्षेत्र, निकाय र ब्यक्तिहरुसँगको सहकार्यलाई सँगै लैजाने तयारी गरेको छ ।

धुलिखेल नगरपालिका अन्र्तगत अड्डा बजार जाने सडकमा घरेलु तथा साना उद्योग कार्यालयको गेट देखि उद्योग बाणिज्य संघ नजिकैसम्म झण्डै ७ लाख रुपैया खर्च गरी हरियाली पार्क निर्माण शुरु गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष सुरज श्रेष्ठका अनुसार यस्ता कार्यक्रम र अभियानले धुलिखेललाई स्वच्छ बनाउन सहयोग पु¥याउने छ ।

‘नगरपालिकासँग काम गर्न हामी आजित भएका थियौं, जनप्रतिनिधिको निर्वाचन भएपछि प्रमुख अशोक ब्याञ्जुको हौसलाले धुलिखेललाई हरियाली र कलरफुल सिटी बनाउन लागेका छौं’–अध्यक्ष श्रेष्ठले भने–‘आगामी वर्ष सडकको दायाँबायाँ सबै क्षेत्रमा हरियाली बनाईनेछ ।’

सोहि क्षेत्रमा थप हरियाली सहितको पार्क निर्माण गर्न नवरङ्ग पार्क निर्माणका लागि निकेश तुसुजुको संयोजकत्वमा अर्काे उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ताहरुकै प्रयास र जनसहभागितामा हुने यस्ता कार्यक्रम स्थायीत्व र प्रभावकारी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्