घर भत्किए पछि एकल महिला र बालबालिकाको बिचल्ली



ललित सिहं,बझाङ ।
दुइ हप्ता देखी लगातार भैरहेको बर्षाले घर भत्किए पछि एक जना एकल महिला र उनका बालबालिकाको विचल्ली भएको छ ।

जयपृथ्वी नगरपालिका ७ नौराकी सिता देवी सिंह र उनका दुइ छोरा छोरी विचल्लीमा परेका हुन ।

बर्षाका कारण सनिबार दिउँसो घर भत्किए पछि उनि छोरा छोरी सहित नजिकैको छाउगोठमा बसिरहेकी छन । घरमा कोही नभएको बेला घर भत्किएको थियो ।

मानविय क्षति नभए पनि घरमा भएको अन्नपात, लुगाफाटो र भाडाकुडाहरु सबै पुरिए पछि आफुलाई निकै समस्या भएको उनले बताईन ।
छिमेकीहरुले सहयोग स्वरुप दिएको खाना खाएर गुजरा चलाई रहेको र एक मात्र कोठा र झ्याल पनि नभएको सांघुरो छाउगोठमा खाना पकाउन र तिन जनालाई सुत्न निकै समस्या भैरहेको उनले बताईन ।

३ वर्ष अघि श्रीमान गुमाएकी ४० वर्षिय सिताले यस अघी गाउँ मै ज्याला मजदुरी गरेर दुइ छोराछोरीको पढाई खर्च र परिवारको गुजरा चलाउदै आएकी थिएन ।

गाउँ कै सबै भन्दा कमजोर आर्थिक अवस्था भएकी उनले आफ्नो सर्बश्व गुमेको बताउदै भनिन ‘भएको अन्नपात लत्ताकपडा सबै खत्तम भैहाल्यो । यो साघुरो गोठमा तिन जना सुत्न पनि गाह्रो हुन्छ ।

खाना पकाउन आगो बाल्दा धुवांले निसास्सिएर मरौला झै हुन्छ ।
बर्षाले मेरो त वित्यास पार्यो’ सुत्ने ठांउ दुइ जनालाई मात्र पुग्ने भएकोले आफुहरुले पालै पालो सुत्ने गरेको उनले सुनाईन ।

जिल्ला प्रशाशन कार्यालयबाट नगद ३ हजार राहत दिलाउन आफुले सहयोग गरेको बताउदै यस वडाका वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले वडा कार्यालयमा यस सम्बन्धी कुनै व्यवस्था नभएकाले केही गर्न नसकिएको बताए ।

सिताको परिबार निकै समस्यामा रहेको बताउदै उनले भने ‘जिल्ला प्रशाशनले ३ हजार भन्दा बढी दिन मिल्दैन रहेछ । कतै बाट सहयोग खोजेर भए पनि उनिहरुको बासको व्यवस्था गर्न प्रयास गरिरहेका छौ ।

उनको परिवार निकै समस्यामा छ’ तत्कालै बासको व्यवस्था गर्न नसकिए उनका छोराछोरीको पढाई पनि प्रभावित हुन सक्ने अवस्था रहेको भन्दै सिंहले सहयोग जुटाउन आफु लागी परेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्