ब्याजमा खेल्नेहरु प्रहरी फन्दामा,भन्छन्-‘छिटो धेरै पैसा आउँछ भनेर लगानी गर्दा बर्बाद भयौँ’



बाँके (नेस) ।
एक लाखमा सुरुमै ब्याज स्वरुप दश हजार असुल्ने । ९० हजार हाता लगाएर महिनामा लाख रुपैया नै लिने । फेरि अर्को लाख दिंदा २० हजारसम्म लिने ।

बाँकेमा यसो गर्दै एक व्यक्तिलाई ९१ लाखसम्म ऋण दिएको पाइएको छ । पटक–पटक गरी गरेको लगानी
(साँवा) नै डुब्न थालेपछि मिटर ब्याजको खेलो बाहिर आएको छ ।

चर्को ब्याजमा पैसा लगानी गर्न पल्केका कम्तीमा ३० जनाको साँवा नै धराप परेको छ ।

चर्को ब्याजमा लिएकाले फेरि अर्को व्यक्तिलाई त्यो भन्दा बढीमा लगानी गरेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिकामा यस्तो खेलोमा लागेका ५० जना प्रहरी सम्पर्कमा आएका छन् । ३२ जना लगानीकर्ता र १६ जना पैसा लिएर अर्कोलाई लगाउनेहरु प्रहरीकहाँ आइपुगेका हुन् । यिनीहरुले एक–अर्कामा पाँच करोडबढी लगाएका छन ।

अरु पनि सम्पर्कमा आइरहेको बाँके प्रहरीका प्रवक्ता सरोज पौडेलले बताउनुभयो ।

बैजनाथकी भगवती भण्डारीले धेरै पैसा चलाएकी छन् । भण्डारीले आफूले मिटरब्याजमा लिएर अर्कोलाई लगाउने गरेकी हुन् । प्रहरीले यसरी पैसा खेलाएका १६ जनालाई नियन्त्रणमा लिएको छ ।

मिटरब्याजमा पैसा लगाउनेहरु ‘ठगिएको’ उजुरी लिएर प्रहरी कार्यालय पुगेका छन् । ‘चर्को ब्याज लिएर पैसा लगानी गरेकाहरु लामो समयसम्म साँवा नपाएपछि हामीकहाँ उजुरी दिन आइपुगेका छन्, प्रहरी प्रवक्ता पौडेलले भन्नुभयो, बुझ्दै छौं ।

अरु पनि सम्पर्कमा आउँदैछन् । ब्याजको खेलोमा करोडौ रुपैया फसेको देखिएको छ ।’

सामान्य अवस्थाका महिलालाई लाखौं रुपैया दिइएको छ । ब्याजमा लिइएको पैसाले केहीले घर–जग्गा जोडेका छन् । ‘केही पैसाले घरजग्गा जोडेको देखिन्छ ।

केही थप चर्को ब्याजमा लगानी गरेका छन् । एउटाबाट लिएको पैसा समयमा तिर्न नसकेपछि अर्कोबाट त्यसरी नै पैसा लिएर पहिलाको साहुलाई तिरेको पनि देखिन्छ, एक प्रहरी भन्छन्, पैसा आपसमै घुमिरहेको छ ।’

प्रहरीमा आएपछि बाहिर आएको मिटरब्याजको खेलो वर्षौदेखि चलेको देखिन्छ । प्रहरीका अनुसार अहिले आएको उजुरीमै चार वर्षदेखिको उल्लेख छ ।

चर्को ब्याज असुल्ने नाममा पैसा लगानी गरेकाहरुका बारेमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘छिटो धेरै पैसा आउँछ भनेर लाग्ने अनि अहिले बर्बाद भयौ, ठगियौं भनेर आएका छन्, हामीले उनीहरुका बारेमा पनि राम्ररी बुझ्छौं, किन असुरक्षित लगानी गर्नुभयो भनेर प्रहरीले भनेको छ ।

ठगीको मुद्दालाई अघि बढाउनु भन्दा लिनदेन मिलाएर जादा राम्रो हुने भन्दै एकथरी लागि परेका छन् । लिएको र दिएको पैसा तत्काल उठ्न सक्ने अवस्था छैन । एउटाले अर्कोलाई, अर्कोलाई झन् अर्कोलाई पैसा दिएका छन् ।

चर्को ब्याजको यस्तो गन्जागोल तत्काल समाधान हुने देखिदैन, एक भुक्तभोगी भन्छन् ।

गाउँगाउँमा छ्याप्छ्याप्ती रहेका समूहबाट ऋण निकाल्ने र त्यसको सही सदुपयोग गरेर डुबेका धेरै घटना बाहिर आएका छन् ।

शुरुमा आफैले ऋण निकाल्ने, त्यो तिर्न नसकेपछि अर्को समूहबाट अर्को व्यक्तिको नाममा ऋण निकाल्ने र एवं तरिकाले अगाडि बढ्दा अन्तिममा पुख्र्यौली सम्पत्ति बेचिएका घटना बाहिर आइरहेका बेलामा बैजनाथमा व्यक्तिले नै चर्को ब्याजको आशामा ‘विश्वास’ मा पैसा लगानी गरेको बाहिर आएको हो ।

पश्चिम नेपालको कैलालीमा मिटरब्याजले उठीबास लगाएको समाचारहरु आइरहदा बाँकेमा पनि पाँच करोडसम्मका उजुरी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्