राजनीतिको गलत प्रभाव



 

यो देशमा राजनीति यत्तिसम्म मौलाउँदै गयो कि यसले प्रभाव नपारेको कुनै क्षेत्र नै रहेन। राजनीति कहाँ गर्ने, कसले गर्ने, आफू कुन ठाउँमा छु, आफ्नो कर्तव्य के हो भन्ने कुरा सबैले बिर्सिसके। नेता बनाउने कार्यकर्ताले हो। कार्यकर्ता देखेर नेता डराउनुपर्नेमा नेता देखेर कार्यकर्ता डराएका छन्। सचिव देखेर उनीभन्दा तलका कर्मचारी डराउनुपर्नेमा तल्लो तहका कर्मचारी देखेर सचिव डराएका छन्। कर्मचारीले आफ्नो परिचय कर्मचारीका रूपमा होइन, पार्टी कार्यकर्ताका रूपमा दिँदा ठूलो मान्छे भएको ठान्दै छन्।

हुन पनि राजनीतिक दलको सदस्य बन्नु भनेको एकथरी मान्छेका लागि जे मन लाग्यो त्यही गर्न छुट पाउने अवसर भएको छ। नेपाली कांग्रेसको महाधिवेशनमा विश्वविद्यालयका पदाधिकारी, स्कुल, कलेजका शिक्षकसँगै सरकारीदेखि संघसंस्थानका कर्मचारीसमेत कार्यालयको काम छाडेर लागेका र कति त प्रतिनिधि बनेका भन्ने समाचार पनि बाहिर आइरहेका छन्। अब त एउटै व्यक्ति बहुरूपी परिचयमा देखिन थाले। यस्तो चरित्रका व्यक्ति अन्य दलहरूमा पनि देखिन्छन्। एउटा व्यक्तिले धेरै परिचय बनाउन सक्नु स्वयंका लागि गौरवको कुरा होला। तर यथार्थमा ऊ को हो ? उसलाई संरक्षण दिने नेताले बाहेक अरू कसैले चिन्न सक्दैनन्। नेताको संरक्षण पाउनेहरू सबै क्षेत्रका विज्ञ बनेका छन्। त्यसैको परिणाम देश सबै क्षेत्रमा तहसनहस भएको छ।

– लोकराज पन्थी, बारा

युवाले नै किन कोशिश नगर्ने ?

भनिन्छ, युवा देशका कर्णधार हुन्, युवाका काँधमा मुलुक हाँक्न सक्ने जोश, जाँगर अनि क्षमता हुन्छ। तर विडम्बना, हाम्रो नेपालका अधिकांश युवा खाडी मुलुकमा पसिना बगाएर देशको अर्थतन्त्र धान्दै छन्। एकपटक वैदेशिक रोजगारमा गइसकेका युवा सकभर देशमै केही गर्ने मानसिकता लिएर फर्केका हुन्छन्। ती युवालाई उचित अवसर र साधन–स्रोत प्रदान गर्ने हो भने एक त देशमा रोजगारी सिर्जना हुन्छ, अर्कोतर्फ उद्यमशीलताको विकास पनि हुन्छ। सरकारले त यस्तो अवस्था सिर्जना गर्न सक्दैन नै, बरु हामी देशमा रहेका युवाले केही कोशिश किन नगर्ने ?

– बबिता थापा, उदयपुर

दलित हलिया बस्तीको उद्धार होस्

बैतडीको सदरमुकाम मार्तडीसँगै जोडिएको बडिमालिका नगरपालिका–९, उखाडीमा रहेको दलित हलिया बस्ती बाढी र पहिरोको उच्च जोखिममा परेको छ। ३ पुस्तादेखि हलिया बस्दै आएका ५० घरपरिवार जोखिममा परेका भए पनि उनीहरूका विषयमा कसैले केही सोचेको र उद्धारको काम गरेको पाइएको छैन। केही दिनअघिको अविरल वर्षासँगै बाढीपहिरोको चोखिममा परेका उनीहरू पालमुनि कष्टकर जीवन बिताइरहँदा पनि सरकारी निकायको ध्यान जान सकेको छैन। जोखिमपूर्ण जीवन बिताइरहँदा पनि राज्यका कुनै पनि निकायले चासो देखाएनन् आजसम्म। पानी पर्नासाथ रातभर जाग्राम बस्ने गरेका उनीहरूको यो वेदना कसले सुन्ने ?

५० परिवार हलिया भएको पनि पुस्तौँ बितिसकेको छ। साहूको घरमा काम गर्ने गरेका उनीहरूलाई वर्षमा दुईपटक पाकेको अन्न दिने गरिन्छ। उनीहरूसँग घरबाहेक अन्य जमिन छैन। तर पनि अहिलेसम्म प्रमाणीकरणमा परेका छैनन्। सदरमुकामसँगै जोडिएको यस बस्तीमा न त राज्यको आँखा परेको छ, न त कुनै सरोकारवाला निकायले सहयोग नै गरेका छन् ? सिंगो बस्तीबाट एकजना तेस्रो मुलुक गएका छन् भने पढे–लेखेका केही युवा रोजगारीका लागि भारत जाने गरेका छन्। पुस्तौँदेखि हलिया बस्दै आएको यस बस्तीमा अहिले खानभन्दा बस्नको चिन्ता छ। हलिया बस्ती नै जोखिममा परेपछि चिन्तित छन् उनीहरू। बरू केही दिन नखाई बस्न सक्थे होला, बस्ने ठाउँ नहुँदा साह्रै गाह्रो भएको छ अहिले उनीहरूलाई।
– हरि रोकाया, बैतडी

कोशी नदीको पुल छिटो बनाऊ

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्वाहीका कारण अलपत्र हुन पुगेको छ। गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको उक्त पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्वाहीका कारण अलपत्र हुन पुगेको हो। राष्ट्रिय योजना आयोगको १६ करोडको आर्थिक सहयोगमा निर्माण हुने उक्त पुलको काम गौरा, पार्वती जेभी प्रालिले प्राप्त गरेको छ। कम्पनीले पुल निर्माण गर्न पिलर गाड्नका लागि खाल्टा खन्ने कार्य शुरु गरेको भए पनि त्यसपछि अहिलेसम्म निर्माणको कुनै काम हुन नसक्दा पुल निर्माण अलपत्र परेको छ।

केही प्राविधिक र कर्मचारी राखेर क्याम्प स्थापना गरी एक महिनासम्म पिलर गाड्न खाल्टा खन्ने काम शुरु गरे पनि त्यसपछि भने काम हुन सकेको छैन। सय मिटर लम्बाइको उक्त पक्की आरसीसी पुलको निर्माण कार्य अलपत्र परेपछि निर्माण नै नहुने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। यस विषयमा गाईघाट–दिक्तेल सडक कार्यालयले पनि खासै पहल गरेको छैन। गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल नहुँदा हिउँदमा अस्थायी बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने तथा वर्षायाममा सो बेलिब्रिज खोल्ने कार्य हुँदै आएको छ।

उदयपुर र खोटाङवासीको सेतुका रूपमा रहेको उक्त पुल निर्माण हुन नसक्दा वर्षायाममा यातायात सञ्चालन बन्द हुने गरेको छ। यसले गर्दा पूर्वी तराई भएर पहाडी जिल्ला खोटाङतर्फ आवतजावत गर्ने यस क्षेत्रका बासिन्दालाई वर्षायाममा हप्तौँ दिनसम्म पैदल हिँडेर यात्रा गर्न बाध्य हुनुपरेको छ। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण कार्य शुरु गरेको गाईघाट–दिक्तेल सडक निर्माण कार्य आज २३ वर्ष बितिसक्दा पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षैभरि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। यस विषयमा सरकारी निकायको ध्यान कहिले जाने ?
– सरोज शर्मा, गाईघाट

प्रतिक्रिया दिनुहोस्