सेलिब्रेटिङ कवितामा लम्सालका गीत र कविता



 

हेटौंडा, (नेस)। हेटौंडामा शनिबार भएको सेलिब्रेटिङ कविताको दोस्रो शृंखलामा कवि, गीतकार तथा रेडियो कार्यक्रम प्रस्तोता डा. नवराज लम्सालले आफ्ना छन्द तथा गद्य कविता सुनाएर मकवानपुरबासीलाई मन्त्रमुग्ध तुल्याए।

उनको धरा महाकाव्यमा समेटिएको कवितामाथि नाटकसमेत मञ्चन गरियो। लम्सालका कविता कृति तथा व्यक्तित्वमाथि मकवानपुरका विश्लेषक घनश्याम घिमिरेले विमर्श गरेका थिए।

कार्यक्रममा गायक अञ्जन दाहाल र प्रलय चौलागार्इंले लम्सालले लेखेका दुई गीत सुनाएका थिए। गायक दाहालले सायद मायामा फसिएछ गीत गाउँदा अर्का गायक चौलागाईंले दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसाझैं फुटेको गाएका थिए।

डा. लम्साल २०५९ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएका थिए। गीतकार डा. लम्सालका करिब ३ सय गीत रेकर्डिङ भइसकेका छन्। रेडियो नेपालबाट स्रोताको सुख–दुःखको साथी बनेका लम्साल रेडियो कार्यक्रम मधुवनका प्रस्तोता र रेडियो नेपालका उपनिर्देशक हुन्।

कवि लम्सालले दिमाग र आँखामा राजनीतिक दल राखेर सिंगो मुलुकको कविता लेख्न नसकिने बताए। स्वरिलो छन्दसहित उनले प्रवृत्ति शीर्षकको कविताबाट वाचन शुरु गरेका थिए। त्यसपछि उनले सुनाए– कविताको घोषणापत्र। उनले फर्कन्छु साथी म त शीर्षक कविता पनि प्रस्तुत गरे ।

कवि डा. लम्सालले कविताले राष्ट्रलाई जोड्नुपर्ने र आशाका किरण छर्न सक्नुपर्ने जिकिर गरे। करिब साढे २ घण्टा चलेको कार्यक्रममा उनले एक दर्जन बढी छन्द र गद्य कविता प्रस्तुत गरेका थिए। कुशल गीतकार उनका गीतमा नातिकाजी, फत्तेमानलगायत गायक तथा संगीतकारका साथै युवा पुस्ताका चर्चित कलाकारले स्वर र संगीत भरिसकेका छन्।

सेलिब्रेटिङ कविता टिमको आयोजनामा भएको कार्यक्रमले कविताको माध्यम प्रयोग गरेर विद्यार्थी, साहित्यकर्मी, राजनीतिज्ञ, सरकारी र गैरसरकारी कर्मचारी, उद्योगी, व्यापारीलाई साहित्यको माधुर्यताबाट मनोरञ्जन गराउने उद्देश्य लिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्