रुसले भारतलाई अत्याधुनिक मिग–३५ विमान बेच्ने



 

जुकोभ्स्की, रुस (एजेन्सी)
रुसले भारतीय वायुसेनालाई आफ्नो नयाँ युद्धक विमान जेट मिग–३५ बिक्री गर्न चाहेको बताएको छ।
अहिले रुसमा एमएकेएस–२०१७ सैन्य विमान प्रदर्शनी भइरहेको छ। यो प्रदर्शनीमा विश्वका ठूला युद्धक विमान निर्माण कम्पनीहरू आफ्ना लडाकू विमान प्रदर्शन गर्छन्। उक्त लडाकू विमान प्रदर्शनीका क्रममा मिगका सीइओले भारतलाई मिगजी–३५ फाइटर जेट्स बेच्ने प्रस्ताव गरेको हो। मिग कर्पोरेसनका सीइओ इल्या टोरेसेन्कोले भने– ‘हामीले यो वर्ष जनवरीमा मिगजी–३५ लाई भारतको आवश्यकताअनुसार तयार गरेका छौं। हामी भारत र अन्य देशमा यो लडाकू जेटलाई प्रबद्र्धन गर्न चाहेका छौं।’ भारतलाई नयाँ लडाकू विमानको आवश्यकता रहेको र उसको वायुसेनासँग यस विषयमा लगातार कुरा भइरहेको उनले बताए। युद्धक विमानको टेन्डर मिगले नै पाउनुपर्ने र विगतदेखि दुई देश बीच राम्रो रक्षा सम्बन्ध रहेको उनले बताए।

रुसको उक्त मिग–३५ विश्वको सबैभन्दा उत्कृष्ट लडाकू विमानमध्येमा पर्छ। नयाँ पुस्तामा पनि यो रुस र विश्वको सबैभन्दा अध्याधुनिक लडाकू विमानमध्येमा पर्छ। रुसले यसको नयाँ संस्करणमा दुईवटा अर्को लडाकू विमान तयार गरेको छ। २९के⁄कुब र मिग–२९ एम⁄एम२ नामक ती विमान रुसको अत्यन्त शक्तिशाली मानिन्छ। एक प्रश्नमा टोरेसेन्कोले मिग–३५ लाई लिएर भारतले चासो दिइरहेको जवाफ दिँदै भारतले मिगका युद्धक विमानलाई विगत ५० वर्षदेखि प्रयोग गर्दै आइरहेको बताए। रुसले अहिले उत्कृष्ट लडाकू जेट तयार गरिसकेकाले भारत त्यसको महत्वपूर्ण खरिदकर्ता हुन सक्ने उनले बताए।

भारतसँग यस विषयमा कुरा भइरहेको र भारतको आवश्यकताअनुसार विमानमा केही विशेष प्राविधिक सुविधाहरू थप्न सकिने पनि उनले बताए। विमान मात्र बेच्ने नभएर त्यसको सही प्रयोग गर्न तालिम र लामो समयसम्म सेवा पनि दिने ग्यारेन्टी गरेको टोरेसेन्कोले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्