शुभ श्रेष्ठ

वैदेशिक रोजगारी भन्नेबित्तिकै अचेल नेपाली मिडियादेखि सबैको ध्यान नकारात्मकतिरै मोडिने गरेको छ। विदेशमा रोजगार गर्ने नेपालीले कि भाँडा माझ्ने काम गरेका होलान्, कि मजदुरी गरेका होलान्, कि अनैतिक काम गरेर जेलमा फसिरहेका होलान्। हाम्रो यही सोच र प्रचारबाजीले गर्दा विश्वमा अहिले नेपालको छवि अति विपन्न गरिब राष्ट्रका रूपमा विकसित भइरहेको छ भने नेपाली भन्नेबित्तिकै दरिद्र व्यक्ति।

यसपटक तीन महिना लामो युरोप भ्रमण गर्नुअघि यस अन्तरवार्ताकारको ध्यान पनि युरोपमा विभिन्न बहानामा भासिएका नेपाली शरणार्थीहरूप्रति नै बढी केन्द्रित थियो। उनीहरूकै विषयमा एउटा समाचार खोज्ने सोच थियो। तर, खोज्दाखोज्दै फोहोरको थुप्रोमा एउटा मोती फेला पर्यो।

संयोगले यस अन्तरवार्ताकारलाई भियनामा आतिथ्यता प्रदान गर्ने भाइ प्रभु श्रेष्ठकी दिदी शुभ श्रेष्ठको निम्तोमा युरोप पुगेको पहिलो हप्तामै अस्ट्रियाको राजधानी भियनास्थित संयुक्त राष्ट्रसंघको विशाल कार्यालय अवलोकनको अवसर प्राप्त भयो। सन् २००१ मा अमेरिकी सरकारको निम्तोमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र त्यसको केही वर्षपछि स्विट्जरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको विशाल कार्यालय भ्रमण गर्ने अवसर प्राप्त गरिसकेको यस अन्तरवार्ताकारलाई यहीं पुग्दा थाहा भयो कि भियनास्थित यो कार्यालय स्विट्जरल्यान्डपछि संयुक्त राष्ट्रसंघको विश्वकै तेस्रो ठूलो कार्यालय रहेछ।

एउटा साधारण परिवारमा जन्मी–हुर्की सरकारी स्कुल र कलेजमा पढेर संयुक्त राष्ट्रसंघको उच्च पदमा काम गर्न सफल भएकी रहिछन् नेपाली चेली शुभ श्रेष्ठ, त्यो पनि आजभन्दा झन्डै चालीस वर्षअघि खुला प्रतिस्पर्धामा उत्तीर्ण भएर। सुन्दा पनि गर्वले छाती फुल्ने। एक जना पत्रकारका लागि यति परिचयबाटै शुभ श्रेष्ठ अन्तरवार्ताका लागि योग्य पात्र बनिसकेकी थिइन्। तर अत्यन्त साधारण, लो–प्रोफाइलकी मृदुभाषी शुभ श्रेष्ठ भने अन्तरवार्ताका लागि तयार हुन सकिरहेकी थिइनन्।

विदेशमा काम गर्ने नेपालीहरूप्रति सकारात्मक धारणा बन्न नसकिरहेको अवस्थामा शुभ श्रेष्ठको संघर्ष र जीवनको कथा नेपालीहरूका लागि ठूलो उदाहरण र प्रेरणा बन्न सक्ने भएकाले लामो प्रयासपछि शुभ श्रेष्ठ अनौपचारिक कुराकानी गर्न सहमत भइन्। कुनै जमानामा नेपालमा टेबुलटेनिस खेलमा धमाका मच्चाएर अचानक गुमनाम भएको उनको विगत सुनाउँदा भावुक भएकी उनी यस अन्तरवार्ताकार त्यस बेलाका राष्ट्रिय स्तरका जुनियर ब्याडमिन्टन खेलाडी भएकाले पनि हामीलाई कुरा गर्न अझ बढी सहज बनाएको थियो। शुभ श्रेष्ठले त्यस बेलाकी प्रख्यात टेबुलटेनिस खेलाडी सिजरिनी शाहसँग मिलेर महिला युगलमा धेरैचोटि राष्ट्रिय च्याम्पियनको उपाधि उचालिसकेकी छिन्।

शुभ श्रेष्ठसँगको अनौपचारिक कुराकानीको प्रसंग पनि खेलबाटै शुरू हुन्छ। सन् १९७२–७३ तिर नेपालमा टेबुलटेनिस खेलको महिलातर्फ पुनम लामा, अनिता धाख्वा, सिजरिनी शाहको धाक चल्थ्यो। यस्तो बेला अचानक उदाएकी शुभ श्रेष्ठले नेपालकै प्रतिनिधित्व गरेर जापान, चीन, भारतजस्तो देशमा भएका अन्तर्राष्ट्रिय टेबुलटेनिस प्रतियोगिताहरूमा समेत सहभागी भएर नेपालको नाम राखेकी थिइन्। तर, उनी कसैले पत्याउनै नसकिने गरी यो खेलबाट अचानकै गुमनाम भइन्।

कारण ?
शुभ श्रेष्ठः तपाईंलाई त मेरो विषयमा धेरै कुरा थाहा रहेछ। खेल त्याग्ने मेरो रहर होइन, बाध्यता थियो। तपाईंलाई राम्ररी थाहा छ, हाम्रो समयमा खेलेर मात्र जीवन धान्न सकिँदैनथ्यो। फेरि पहिलो सन्तान भएकीले होला, आमा–बुबाले पनि बढी पढाइमा ध्यान दिन खोजिरहेका हुन्थे। आमा–बुबाको भावनाको कदर गर्दै मैले खेलकुदलाई चटक्क छोडेर आफ्नो सम्पूर्ण ध्यान अध्ययनमै केन्द्रित गरेकाले म खेलकुदबाट एकाएक हराएकी हुँ। त्यसो त म अहिले पनि खेलकुदबाट टाढा हुन सकिरहेकी छैन। भियना स्पोटर््स युनिभर्सिटीका विद्यार्थीलाई पौडी सिकाउँछु।

संयुक्त राष्ट्रसंघलगायत विभिन्न संघसंस्थाले आयोजना गर्ने दौड प्रतियोगिताहरूमा सहभागी हुने गरेकी छु। सन् २००५ देखि संयुक्त राष्ट्रसंघसँग आबद्ध संस्थाहरूबाट अमेरिका, स्पेन, फ्रान्स र अस्ट्रियामा भएका १० किलोमिटर समूह दौड प्रतियोगितामा भाग लिएर थुपै्र पदक पनि जितिसकेकी छु। यसबाहेक म हाइकिङ र योगा पनि गर्छु।

काठमाडौंको ह्युमत टोलमा आमा शारदा श्रेष्ठ र बुबा बलराम श्रेष्ठका पहिलो सन्तानका रूपमा साधारण नेवार परिवारमा जन्मेकी शुभ श्रेष्ठले आफ्नो स्कुले शिक्षा सरकारी स्कुल कान्ति ईश्वरी माध्यमिक विद्यालयमा सम्पन्न गरेकी थिइन् भने पद्मकन्या कलेजबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक गरेकी थिइन्। यति अध्ययनको भरमा उनी कसरी पुगिन् त संयुक्त राष्ट्रसंघजस्तो संस्थाको उच्च पदमा ?

शुभ श्रेष्ठः सानैदेखि आमा–बुबाले शिक्षामा जोड दिएकै कारणले होला मैले स्नातक गर्नेबित्तिकै नेपाल औद्योगिक विकास निगममा काम पाइसकेको थिएँ। त्यहाँ ६ महिना काम गरिसकेपछि एकैचोटि विश्व स्वास्थ्य संगठनमा काम गर्ने अवसर प्राप्त भयो। त्यहाँ ३ वर्ष २ महिना काम गरेपछि म अस्ट्रिया आइपुगें।

विश्व स्वास्थ्य संगठनमा काम गर्न पाउनु कम ठूलो अवसर होइन। यस्तो अवसर छोडेर शुभ श्रेष्ठ फेरि किन पुगिन् त अस्ट्रिया ?

शुभ श्रेष्ठः यहाँ काम गर्दागर्दै मेरा श्रीमान् डा. हेमन्त राणालाई ९ महिनाको छात्रवृत्तिमा अध्ययन गर्न अस्ट्रियाको राजधानी भियनामा आउनुपर्ने भयो। तपाईंले सही कुरा भन्नुभयो, विश्व स्वास्थ्य संगठनको जागिर छोड्नु मेरा लागि पनि त्यति सहज थिएन। तर, मेरो श्रीमान्को मायाको अगाडि जागिर त्यति ठूलो लागेन र विवाह भएको भोलिपल्टै अस्ट्रिया उडेँ।

विवाह गरेको भोलिपल्टै भन्नु भो नि ⁄ त्यसको अर्थ तपाईं भियना उड्नुअघि डाक्टर साहेबसँग प्रेमालापमा हुनुहुन्थ्यो। अन्तरजातीय विवाह भएकाले हतार–हतार विवाह गरेर भाग्नुभएको त होइन नि ?

शुभ श्रेष्ठ– होइन…होइन… ⁄ परिवारको सहमतिमै विवाह गरेकी हुँ। सबै कुरा एकैचोटि परेकाले धुमधामसँग विवाह गर्ने अवसर जुटेन। भद्रकाली मन्दिरमा स्वयंवर गरेर सबैलाई खुसी बनाएरै हामी आएका हौं।

कुराकानीको अवसरमा शुभ श्रेष्ठका श्रीमान् डा. हेमन्त राणा पनि हामीसँगै हुनुहुन्थ्यो। अस्ट्रियामै प्रतिष्ठित र वरिष्ठ चिकित्सक भएर पनि अत्यन्त सरल तथा भलाद्मी देखिनुहुने डा. साहेब पनि सायद हाम्रो कुरा सुनेर अलि रोमाञ्चित हुनुभयो क्यारे ⁄ विगतको याद गर्दै मसिनो स्वरमा भन्नुभयो– शुभ एकपटक बिरामी भएर शान्तभवनमा उपचारका लागि भर्ना हुँदा मैले नै जाँचेको थिएँ। पहिलोचोटि भेट हुँदा नै म घायल भइसकेको रहेछु। तर, मुख खोलेर केही भन्न सकिरहेको थिइनँ। त्यसको ठीक दुई वर्षपछि शुभकी आमा बिरामी भएर वीर अस्पतालमा हुँदा संयोगले त्यहाँ पनि मैले नै उपचार गर्ने अवसर पाएँ। आमा अस्पतालबाट डिस्चार्ज हुनु एक दिनअगाडि अचानक शुभसँग फेरि देखादेख भएपछि हामीले एक–आपसमा फोन साटासाट गरेर डेटिङमा जान थाल्यौं। पाटन अस्पतालमा हामीबीच भएको पहिलो भेटमै शुभका आमा–बुबा भलाद्मी डाक्टर भन्दै मसँग प्रभावित भइसक्नुभएको रहेछ। जसले गर्दा हतारमा विवाह गर्नुपरे पनि हामीलाई कतैबाट कुनै रोकतोक भएन।

त्यसपछि ?
शुभ श्रेष्ठः नेपालमा सुविधा सम्पन्न जागिर खाइरहेको मान्छे अस्ट्रियामा आएपछि फेरि शून्यबाट काम थाल्नुपर्ने भयो। श्रीमान्को छात्रवृत्तिबाट आउने पैसाले घर व्यवहार चलाउन निकै मुस्किल भयो। अस्ट्रियामा जर्मनी भाषा नजानीकन केही कामै नहुने। श्रीमान्ले कलकत्तामा पढ्दा नै जर्मनी भाषा सिकिसक्नुभएकाले अलि सहज भए पनि उहाँ नहुँदा भने मलाई निकै असहज हुन्थ्यो। त्यसैले यहाँ आउनेबित्तिकै मैले पनि दुई महिना जर्मनी भाषाको कोर्स पढेँ। श्रीमान्लाई जर्मनी भाषा पूरै आउने भएकाले उहाँसँग जर्मनी भाषामै कुरा गर्न थालेपछि मलाई धेरै सजिलो भयो। त्यसपछि मैले यहाँ स्नातकोत्तर अध्ययन शुरू गरेँ।
श्रीमान्को छात्रवृत्तिले मात्र घर व्यवहार गर्न नसकिने समस्याले गर्दा पढ्दापढ्दै मैले ओपेकमा जागिरका लागि दरखास्त हालें। सायद नेपालमा विश्व स्वास्थ्य संगठनजस्तो अन्तर्राष्ट्रिय संस्थामा काम गरिसकेको अनुभवले होला ओपेकमा पनि सजिलैसँग जागिर पाएँ। त्यसपछि भने घर धान्न निकै सजिलो भयो।

ओपेक पनि निकै राम्रो तलब पाउने कार्यालय हो। ओपेक छोडेर फेरि संयुक्त राष्ट्रसंघमा आबद्ध हुन पुग्नुको कारण ?

शुभ श्रेष्ठः जति ठूलो र सुविधा सम्पन्न संस्था हुन्छ तिनीहरूको नियम–कानुन पनि त्यत्तिकै कडा हुँदो रहेछ। ओपेकको कर्मचारी नियमावलीमा जागिर खाएको एक वर्षसम्म महिला कर्मचारी गर्भवती हुन नपाइने रहेछ। तर, म त्यहाँ जागिर खाएकै बेला गर्भ बोकिसकेकी थिएँ। त्यसैले प्राविधिक कारणले गर्दा अस्ट्रियामा पनि हुनेखाने जागिर छोड्न बाध्य हुनुपर्यो।

त्यसपछि के गर्नुभयो त ?
शुभ श्रेष्ठः ओपेकको जागिर छोडेपछि पहिला बच्चा जन्माउनमा समय दिन थालेँ। पहिलो सन्तानका रूपमा छोरी पाएँ। अब त छोरी नै डाक्टर भइसकेकी छिन्। छोरी पाएको चार महिनापछि संयुक्त राष्ट्रसंघले कर्मचारी आवश्यकता परेको भन्दै प्रकाशित गरेको एउटा विज्ञापनमा आवेदन दिएँ। त्यहाँ पनि विश्व स्वास्थ्य संगठन र ओपेकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरिसकेको अनुभवले धेरै काम गरेछ। लिखित र मौखिक दुवै परीक्षा पास गरेँ। परीक्षा सकेको दुई हप्तामै काम गर्न बोलायो। अब त तपाईं युरोपमै भएका बेला ३० जुन २०१७ मा मेरो अवकाश हुँदै छ। झन्डै ३८ वर्षको सेवापछि म संयुक्त राष्ट्रसंघबाट बिदा हुँदै छु।


विश्व स्वास्थ्य संगठनको जागिर छोड्नु मेरा लागि पनि त्यति सहज थिएन । तर, मेरो श्रीमान्को मायाको अगाडि जागिर त्यति ठूलो लागेन र विवाह भएको भोलिपल्टै अस्ट्रिया उडेँ ।

 

साधारण परिवारमा जन्मी–हुर्की गरेर विदेशमा आएपछि पनि तपाईंले यत्रो उचाइ प्राप्त गर्नुभयो। तपाईंले यहाँ पाउँदै आउनुभएको तलब कुनै नेपालीले कल्पना पनि गर्न नसकिने रहेछ। यति लामो समय संयुक्त राष्ट्रसंघमा काम गरेपछि आफू जन्मेको देशका लागि चाहिँ के योगदान गर्नु भो त ?

शुभ श्रेष्ठः तपाईंले राम्रो प्रश्न गर्नुभयो। मेरो मनको कुरा बोलिदिनुभयो। राष्ट्रको माया आफ्नो देशमा भन्दा बाहिर आएपछि झन् बढ्ने रहेछ। कैयौं गुणा बढी। जुन दिन मलाई संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीहरूबाट गरिब मुलुकहरूलाई सहयोग गर्न सकिन्छ भन्ने कुरा थाहा भो, सोही दिनदेखि अहोरात्र नेपाललाई कहाँ, कुन संस्थाबाट कसरी सहयोग जुटाउन सकिन्छ भनेर होमवर्क गर्न थालेँ। शुरूमा संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन वुमन गिल्टबाट विकासोन्मुख राष्ट्रलाई सहयोग गर्न सकिन्छ भन्ने थाहा पाएपछि नेपालको गोदावरी एल्मुनाई एसोसिएसनलाई राम्रै सहयोग जुटाएँ। यसै गरी संयुक्त राष्ट्रसंघमा काम गर्ने कर्मचारीहरूका श्रीमतीले चलाउने संस्था यूएचडब्ल्यूजी (ग्ज्ध्न्) मार्फत् पनि नेपालका धेरै संस्थाहरूलाई सहयोग जुटाउन मद्दत गरेकी छु।

केही वर्षअघि धुलिखेल अस्पतालमा साना बच्चाहरूलाई राख्ने इन्कोभेटर वार्डका लागि पनि सहयोग जुटाएकी छु। त्यसै गरी नेपालका गरिब तथा विपन्न बच्चाहरूको अध्ययनका लागि राजधानी र राजधानीबाहिरका तीनवटा स्कुल छानेर हामीले निरन्तर सहयोग जुटाइरहेका छौं। जसमा विद्याराम श्रेष्ठको नेतृत्वमा स्थापना भएको किन्डर हिल्फे नेपाल डिप्लोमा इन्जिनियर नामक संस्थामार्फत् आफू जन्मेको ह्युमत टोलमा स्थापित राष्ट्रिय निम्नमाध्यमिक विद्यालय र लुम्बिनीका स्कुलहरूलाई आवश्यक फोटोकपी मेसिन, कम्प्युटर, पानी तान्ने मेसिन आदि सहयोगस्वरूप पठाइरहेका छौं।

विदेशमा स्थापित सबैभन्दा पहिला बनेको अस्ट्रियाको एनआरएनको पहिलो अध्यक्ष बनेपछि मलाई नेपालका लागि सहयोग जुटाउन अझ सहज बनायो। नेपालमा आएको महाभूकम्पका बेला संयुक्त राष्ट्रसंघले भूकम्पको लगत्तै हेल्थ अर्थक्विक भिक्टिम इन नेपाल आदि नामले नेपाललाई सहयोग गर्न पहिलो प्राथमिकतामा राखेका प्रोजेक्टहरूबाट रकम उठाएर नेपालमा सहयोग पठाउन सकिएकोमा धेरै आत्मसन्तुष्टि मिलेको छ।

तपाईंले एनआरएनको कुरा उठाइहाल्नुभयो। तपाईं त झन् विदेशमा बनेको पहिलो एनआरएन संस्थाकी पहिलो महिला अध्यक्ष हुनुहुँदो रहेछ। नेपालमा अहिले एनआरएनको शुरूमा जस्तो राम्रो छाप छैन। वर्षको एकचोटि अधिवेशन वा अन्य कुनै नाममा भेला हुने बेला ठूलो होहल्ला गर्छन्। देशलाई सहयोग जुटाउने ठूला–ठूला प्रोजेक्टहरूको चर्चा हुन्छ। सम्मेलनसँगै ती चर्चाहरू पनि सेलाउँदै जान्छन् भन्ने आरोप छ नि तपाईंहरूमाथि ?

शुभ श्रेष्ठः मलाई त्यस्तो लाग्दैन। आफू जन्मे–हुर्केको देशलाई सहयोग गर्नुपर्छ भन्दै संसारभर छरिएर बसेका नेपालीहरू एकै ठाउँमा भेला हुनु नै ठूलो कुरो भइसक्यो। यहाँ अस्ट्रियामा बसाइँ सरेर आएका कैयौं पूर्वी युरोपका मानिसहरू र अझ कैयौं एसियाका मानिसहरूमै म त्यति देशप्रेमको भावना देख्दिनँ। धन्न नेपालीहरूमा त्यस्तो भावनाको जागृति भएको छैन। आफूले सकेको हर किसिमको सहयोग गर्नुपर्छ भन्ने भावनाले भूकम्पको बेला विदेशमा बसेका नेपालीहरूले आफूले रगत–पसिना गरी कमाएको पैसा सहयोगस्वरूप पठाएको कुराले पनि माथिको कुरालाई खण्डन गर्छ जस्तो लाग्छ। अहिले पनि नेपालका विकट ठाउँहरूमा एनआरएनमार्पmत् धेरै प्रोजेक्टहरू सञ्चालन भइरहेका छन्।

‘अतिथि देवो भव’ भन्ने नारासँगै नेपालमा विदेशी पर्यटकहरू ल्याउन एनआरएनमार्पmत् ठूलो सहयोग भइरहेको जगजाहेर नै छ। शुरूमै एनआरएनबाट धेरै अपेक्षा राखेकाले पनि यस्तो महसुस भएको हुनुपर्छ। म दाबीका साथ भन्छु– एनआरएनको गठनबाट देशलाई बेफाइदा होइन, फाइदैफाइदा भएको छ।

धारा प्रवाह अंग्रेजी, जर्मनी र फ्रेन्च भाषा बोल्ने शुभ श्रेष्ठसँग यसरी लामो कुरा हुँदै गर्दा उनी साँच्चीकै बहुआयामिक व्यक्तित्वकै धनी भएको थाहा पाइयो। कलेज पढ्दै गर्दा नै विभिन्न साहित्य सम्मेलन, वादविवाद प्रतियोगिता, हाजिरी–जवाफ प्रतियोगिताहरूमा भाग लिएर दर्जनौं पुरस्कार जितिसकेकी रहिछन् उनले।

भन्छिन्– मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको हातबाट पनि थुपै्र पुरस्कारहरू थापिसकेकी छु। कुराकानीकै सिलसिलामा थाहा पाइयो, उनी एनसीसीका सफल राष्ट्रिय ट्रेनर हुनुका साथै कलेजका स्टुडेन्ट युनियनका सदस्यसमेत बनिसकेकी रहिछन्।

संसारको सबैभन्दा सुन्दर र व्यवस्थित शहर भियनामा आफ्नो जीवनको झन्डै आधा समय बिताएर भर्खरै अवकाश जीवन शुरू गरेकी शुभ श्रेष्ठलाई आफ्नो सफलताबाट नेपालीले के सिक्ने भनी राखेको प्रश्नको जवाफ भने निकै छोटकरीमा दिन चाहिन्। भन्छिन्– अध्ययन, मेहनत, परिश्रम, अनुशासित र इमानदारिताले मानिसलाई संसारको जुनसुकै ठाउँमा स्थापित गराउन सकिन्छ।

अस्ट्रियामा जस्तै बच्चैदेखि स्कुलमा समयको महत्त्व अनि संस्कार र सभ्यता सिकाउने हो भने नेपाल पनि अस्ट्रियाजस्तै व्यवस्थित र सुन्दर देश बन्न धेरै समय लाग्दैन। राम्रो शिक्षा हासिल गरेका विद्यार्थीबाटै असल र इमानदार नेता जन्मने हुन् भन्ने कुरा हाम्रा देशका नेतादेखि जनतासम्मले हेक्का राख्नुपर्छ।

अन्त्यमा तपाईंले आफ्नो जीवनमा गरेकामध्ये केही सम्झनलायक राम्रा कुराहरू ?

शुभ श्रेष्ठः जीवनमा धेरै संघर्ष गरेँ। दुःख गरेँ। मलाई यहाँसम्म ल्याउनमा मद्दत गर्न राम्रो शिक्षा–दीक्षा दिनुहुने मेरा माता–पिताप्रति म सबैभन्दा अनुग्रहित छु। जीवनको हरेक उत्तारचढावमा साथ दिने श्रीमान्प्रति व्यक्त गर्ने शब्द मैले अझसम्म फेला पार्न सकेकी छैन। अस्ट्रियाजस्तो अनकन्टार देशमा दुई–दुई जना छोरीहरूलाई हुर्काउन उहाँले नसघाएको भए आज म संयुक्त राष्ट्रसंघजस्तो संस्थाको यो पदमा पुग्ने हैसियत बनाउन सक्ने थिइनँ होला सायद।

अन्त्यमा एउटा कुरा राख्न चाहन्छु। संयुक्त राष्ट्रसंघको पछिल्लो २० वर्षको समय मैले न्युक्लियर अटोमिक इनर्जी एजेन्सीमा बिताएँ। यो संस्थामार्फत् मैले पछिल्लो समयमा आफू जन्मेको देश नेपाललाई धेरै सहयोग पनि जुटाएँ। शुरूमै नेपाललाई धेरै सहयोग जुटाउन सकिन्थ्यो। तर दुर्भाग्य के भइदियो भने, मेरो संस्थाको नाम न्युक्लियर भन्ने शब्दसँग जोडिएकाले नेपालबाट अस्ट्रिया आउने कुनै पनि मन्त्री र अन्य नेताहरूलाई आफ्नो कार्यालयका बारे राम्ररी बुझाउनै सकिएन।

न्युक्लियर भए पनि म आबद्ध संस्थाको काम क्यान्सर, पानी, वन, कृषिजस्ता विधामा काम गर्ने हो र यो संस्थासँग आबद्ध भएर नेपाल सरकारले देशका लागि धेरै सहयोग लिन सकिन्छ भनी बुझाउँदा बुझाउँदै धेरै समय बर्बाद भयो। अन्त्यमा जर्मनीका लागि नेपालका राजदूत डा. मदनप्रसाद भट्टराईलाई कुरा बुझाउन सकिएपछि उहाँकै पहलमा नेपाल सरकार यस संस्थासँग आबद्ध भई अहिले नेपालले यस संस्थाबाट धेरै सहयोग लिइरहेको छ। संयुक्त राष्ट्रसंघबाट बिदा हुनुअघि नै आफ्नो तर्फबाट देशलाई केही योगदान गर्न पाएकोमा म अत्यन्त हर्षित र आफूलाई गौरवान्वित महसुस गर्न पाएकी छु। अब एक वर्ष जति म आराम लिनेछु र त्यसपछि पुनः म आफू जन्मेको देशको सेवामा समर्पित हुनेछु।

LEAVE A REPLY