सामूहिक आत्महत्याको कारण खुल्दै, सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा



मोतीराम तिमल्सिना, काभ्रे
शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ। शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन्।

दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालको कान्छी श्रीमती पूजा दाहालले ८ महिनाअघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ।

‘दुई श्रीमती रहेका राजारामसँग अंश लिएर कान्छी श्रीमती पूजाले सम्बन्ध विच्छेद गरेको देखियो’ –बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरि घिमिरेले बताउनुभयो।

‘जेठी श्रीमतीलाई अंश मार्ने नियतले कान्छी श्रीमती पूजाले भएको सबै सम्पत्ति आफ्नो नाममा बकस गराएर सम्बन्ध विच्छेद गरेको हुन सक्ने आशंका भएको छ’ –वडा अध्यक्ष घिमिरेले भन्नुभयो।

पूजाले श्रीमान् राजाराम, ससुरा हरिभक्त र सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन्।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चार दिनमै पूजाले राजारामसँग छोरा पुजन श्रीमान्सँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरिन् तर उनी पहिलाकै हैसियतमा श्रीमान्सँगै बसिरहिन्।

त्यस कारण पनि पूजाले जेठीको परिवारलाई सम्पत्ति नदिने उद्देश्यले सधैं सँगै बस्ने गरे पनि सम्बन्ध विच्छेद गरेको पुष्टि भएको छ। १५ वर्षअघि जेठी श्रीमती कमलासँग विवाह गरेका राजारामले पूजासँग २०६२ साउन २७ गते सामाजिक परम्परासहित टुकुचा नाला गाविसमा दर्ता नम्बर ३१ मा विवाह दर्ता गराएका थिए।

जुन दिन कमलाको कोखबाट जन्मेको छोरा सुरज २२ दिनका मात्रै थिए। जेठी छोरी मनिका १४ वर्षकी भएकी छिन्। पूजासँग विवाह भएको १० दिनमै राजारामले बुबा हरिभक्तका नाममा भएको टुकुचा नाला गाविस–८ को ६६६ कित्ताबाट २०६२ साल भदौ ६ गते १ रोपनी जग्गा बकसपत्र गरेर पास गरिदिएका छन्। जसको कित्ता नम्बर ७२९ रहेको छ। त्योबाहेक कमलाले अरू सम्पत्ति प्राप्त गरेकी छैनन्। कानुनी आधारमा अब कमलाले श्रीमान्को नाममा रहेको ८ आना जग्गा र ससुराका नाममा भएको ८ आना जग्गाबाहेक प्राप्त गर्ने छैनन्।

कमलालाई बकसपत्र गरेरै जग्गा दिएपछि राजाराम र पूजा सँगै बस्न थाले। केही समय राजाराम विदेसिएका थिए। पछि पूजाका बाबु झम्कप्रसाद गौतमले बनेपामा सञ्चालन गर्दै आएको गौतम भोजनालय सञ्चालनमा ल्याए। त्यसअघि पूजालाई राजारामले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०६३ साल माघ १९ गते नागरिकता बनाइदिए।

३०३०२९⁄१०५ नागरिकता नम्बर रहेकी पूजाको जन्म २०४३ साउन ५ गते रहेको छ। रामेछाप जिल्ला गुन्सी भदौरे गाविस १ मा झम्कप्रसाद गौतमको कोखबाट उनी साईंली छोरीका रूपमा जन्मिएकी थिइन्। श्रीमान राजारामको नागरिकता नम्बर १२८४४९ हो। उनी ३२ वर्षका भएका छन्।

२०७३ साल मसिंर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा ८ मा रहेको ०–८–३–२ क्षेफलको बारी आफ्नो नाममा अंश बुझिलिए। जसको कित्ता नम्बर ९६३ रहेको छ। २०८५ ‘ग’ ४ नम्बर ठेलीको १४ नम्बर पानाबाट २०७३ मसिंर २ गते कित्ता नम्बर ७३० बाटै छोरा राजाराम दाहालले ९६२ कित्ता नम्बर कायम हुने गरी ०–८–३–१ क्षेत्रफलको जग्गा अंश बकसपत्र गरी बुझि लिएका छन्। श्रीमती पूजालाई २०७३ मसिंर ७ गते सासू हरिमाया दाहालको नाममा रहेको उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ नम्बरको ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरिदिएका छन्। मसिंर ७ गते अंश लिएकी पूजाले मसिंर ९ गते नै श्रीमान राजारामसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी हुन्। अदालतमै तारेख बुझेर चार दिनमै छोरा पुजनलाई श्रीमानकै साथमा रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरेकी थिइन्।

सम्बन्ध विच्छेद भएको २३ दिन अर्थात २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल १ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तल्ले घर पूजाले बकसपत्र गरी लिएकी छिन्।

पशुपति पूजाको मितिनी नाता पर्ने निर्मलाको श्रीमान हुन्। उनी प्रहरीमा सिपाही पदमा जागिरे छन्। राजाराम र पुजाले ८ वर्ष होटलमा भाँडा माझेर कमाएको रकमले कमाएको पैसाले घर घडेरी जोडेकाले उक्त सम्पत्ति जेठीको परिवारले अंश दाबी नगरुन् भन्ने उद्देश्यले सबै नाटक रचिएको हुन सक्ने बताइएको छ।
जेठी श्रीमती कमलाले अंश लगाउनुअघि जति कमाए पनि छोरा २० वर्षको भए पछि मुद्दा राखेर अंश लिने धम्कि दिँदै आएको र कान्छि पूजाले पनि जसरी भए पनि आफूले कमाएको सम्पत्ति नदिने बताएकाले त्यो सबै गर्नुपरेको हुन सक्ने आंशका ब्यक्त गरिएको छ।

पूजा र राजारामको सम्बन्ध विच्छेद भएको खवरपछि त्रिवि शिक्षण अस्पतालमा राखिएका परिवारका शव पोस्टमार्टम हुन सकेको छैन। शुक्रबार राति बाबु हरिभक्त, आमा हरिमाया, छोरा राजाराम र छोरी रञ्जना मृत अवस्थामा बनेपा बसपार्कमा फेला परेका थिए। होटलभित्र सटरमा ताल्चा लगाएर घर सल्लाह गर्ने बाहनामा आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बनेपामा दिनभर शव उठाउन र उठाएको शबको पोस्टमार्टम गर्ने विषयमा छलफल भए पनि सहमति हुन सकेको छैन। सम्बन्ध विच्छेद भएको खबरपछि उनलाई किरिया गर्न नदिने तयारीमा जेठीको परिवार लागेको श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्