एजेन्डामा नै प्रवेश नगरी सकिने भो कांग्रेस बैठक



 

नेपाल समाचारपत्र
काठमाडौं
शनिबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज आइतबार सकिने जनाइएको छ। स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा प्रमुख एजेन्डा रहेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज सकिने र आजै बैठक टु·िने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्नुका साथै असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल गरिरहेका छन्। साथै, बैठकमा भविष्यमा हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनमा कांग्रेस कसरी अघि बढ्नुपर्ने भन्नेबारेमा पनि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई सुझाव दिइरहेका छन्। अघिल्लो दिनकोजस्तै आइतबारको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसले अनपेक्षित हार व्यहोर्नु पर्नाको कारणबारे बोलेका थिए।

निर्वाचनको समीक्षा गर्ने क्रममा अधिकांश केन्द्रीय सदस्यहरूले राष्ट्रिय राजनीतिमा सधै नेतृत्वदायी भूमिका निभाएको नेपाली कांग्रेसले स्थानीय तहमा दोस्रो पार्टीको रूपमा देखिनु दुःखदायी भएको बताएका थिए।

‘कांग्रेसको नेतृत्वदायी भूमिकाका कारण आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुँदै गएको छ र राष्ट्रिय राजनीतिमा जहिले पनि नेतृत्व गरिरहेको कांग्रेसले स्थानीय निर्वाचनमा दोस्रो भएको छ’, बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्य पुष्पा भुसालले भन्नुभयो– ‘यसको मुख्य कारण आन्तरिक संगठनलाई मजबुत बनाउन नसक्नु हो।’ उहाँले आन्तरिक संगठनलाई मजबुत बनाउँदै नेतृत्वले विगतको कमीकमजोरीलाई समेत सच्चाएर अघि बढ्नुपर्ने बताउनुभएको थियो।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसले अनपेक्षित हार व्यहोर्नुपरेकोबारे समीक्षा गर्ने क्रममा केन्द्रीय सदस्यहरूले उम्मेदवार छनोटमा ढिलाइ भएको, गुटको आधारमा उम्मेदवार छनोट गरिएको, कांग्रेसले गरेका राम्रा कामहरूको बारेमा मतदातालाई बुझाउन नसकेकोजस्ता विषय उठाएका थिए। आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, एनपी साउद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगन थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले धारणा राखेका थिए।

कांग्रेस केन्द्रीय समितिको बैठक हिजो र अस्ति बिहान ८ बजेदेखि बसे पनि आज बिहान ११ बजेदेखि बस्ने बताइएको छ। सांसद्समेत रहेका केन्द्रीय सदस्यहरू भने व्यवस्थापिका संसद्को बैठक सकेपछि मात्र आइतबारको बैठकमा भाग लिन साँझ पार्टी केन्द्रीय कार्यालय, सानेपा पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस्