वृद्धभत्ता लिन नै सास्ती



 

सञ्जय कार्की, रौतहट
चन्द्रपुरमा रहेको एभरेस्ट बैंकबाट समाजिक सुरक्षा भत्ता वितरणमा सहजता नभएका कारण सयौं वृद्धवृद्धा, अपांगले भत्ता रकम पाउन सास्ती खेप्नुपरेको छ। भत्ता रकम पाउन चन्द्रपुर नगरक्षेत्रमा बसोबास गर्ने २ हजारभन्दा बढीले कष्ट पाइरहेका छन्।

चन्द्रपुर नगरपालिकाले तीन वर्षअघिदेखि नै बैंकमार्फत् सामाजिक सुरक्षाको भत्ता रकम वितरण गर्दै आए पनि यसपटक भने सास्ती खेप्नुपरेको छ। राज्यले सम्मान गरेका व्यक्तिहरू नै एभरेस्ट बैंकले असहजता गरिदिएका कारण पीडित बनेका छन्। झन्डै दुई महिना ढिला गरी भत्ता रकम वितरण गरे पनि बैंकको कारण जेष्ठ नागरिकहरू पीडित बनेको दुःखेसो गरेका छन्।

दुई तलामाथि रहेको बैंकको काउन्टरमा रकम झिक्नसमेत प्रचण्ड गर्मीमा वृद्धवृद्धाहरू लामो समय लाइनमा बस्न बाध्य बनेका छन्। शारीरिकरूपमा कमजोर भएका वृद्धवृद्धा लामो समय लाइनमा बस्दा रिंगटा लागेर बेहोस हुने गरेका छन्।

चन्द्रपुर नगरपालिकाले गत जेठ १९ गते चौमासिक निकासाबापत प्रति व्यक्ति ८ हजारका दरले करिब १ करोड ६४ लाख चन्द्रनिगाहपुरमा रहेको एभरेस्ट बैंकमा जम्मा गरिसकेको भए पनि बैंकले सो रकम अन्य शीर्षकमा चलाएर वृद्धवृद्धा र असहाय नागरिकलाई ढिला गरी वितरण गरे पनि असहजता गरिदिएका कारण पीडित बनेका छन्। चन्द्रपुर नगरपालिकाका करिब २ हजार ५ सय जना जेष्ठ नागरिक र असहायहरूको सो बैंकमा नगरपालिकाबाट रकम दाखिला हुने गरेको छ।

हातखुट्टा नचल्ने तथा दृष्टिविहीनहरू निकै कष्टका साथ भत्ता लिन लाइनमा बस्ने गरेका छन्। एभरेस्ट बैंक चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर नगरपालिकाको पौराइ, जुडीवेला, सन्तपुर, डुमरियाका २ हजार २ सयभन्दा बढी व्यक्तिलाई भत्ता वितरण गर्नका लागि नगरपालिकासँग सम्झौता गरेको थियो। भत्ता वितरण कार्यलाई छिटो र सहज बनाउन बैंकलाई पटकपटक आग्रह गरे पनि यस्तो आग्रहको बेवास्ता भएको चन्द्रपुर नगरपालिकाका कार्यकारी अघिकृत मिठाराम हुमागार्इंले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्