क्रसर उद्योग सञ्चालनमा रोक



 

रामधन राई, खोटाङ
खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा रहेको रूपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाको महुरेमा सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ। १३ नम्बर नुन्थला र १४ नम्बर बुइप।ाको सिमाना तथा ऐतिहासिक महुरेगढीको आसपासमा अवस्थित राँकेडाँडामा २ वर्ष अघिदेखि नियमविपरीत ढंगले सञ्चालन गरिएको क्रसर उद्योगलाई रूपाकोट मझुवागढी नगरपालिकाले हालैदेखि रोक लगाएको हो।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रेका काम गरिरहेको ठेकेदारले अनधिकृत रूपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएकाले क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो। क्रसर उद्योगले सदियौंदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरेको अस्तित्व समेत संकटमा पारेकाले तत्काल क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको जनाइएको छ।

क्रसर उद्योगका कारण किरात समुदायको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको महुरेगढी नजिकैको राँकेमेला लाग्ने चौरमा गिटी र ढुंगा थुप्रिएको छ।

क्रसर उद्योग सञ्चालकले सोही स्थानका महुरे प्राकृतिक सामुदायिक वन नुन्थलाका उपभोक्ता समूहलाई वार्षिक ४० हजार र रातमाटे लुम्रे सामुदायिक वन बुइपालाई वार्षिक २० हजार दिने सम्झौतामा ठेकेदारले क्रसर उद्योग सञ्चालनमा ल्याएको थियो। क्रसर सञ्चालकले स्थानीय सामुदायिक वनसँग सम्झौता गरेको भए पनि नगरपालिका, स्थानीय निकाय, जिल्ला वन कार्यालयलगायतको अनुमतिविना नै मनोमानी ढंगले क्रसर उद्योग सञ्चालन गरिरहेको थियो। दुई सामुदायिक वन र ठेकेदारबीचमा ३ वर्षका लागि क्रसर सञ्चालन गर्ने सम्झौता भएको बताइएको छ।

शुरूमा क्रसर उद्योग सञ्चालनको विरोध गर्दा प्रशासनले समेत सञ्चालनका लागि दबाब दिएको रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो। ऐतिहासिक स्थलको प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी क्रसर उद्योग सञ्चालनमा रोक लगाउन अनेक कोसिस गरे पनि नसकिएको तथा नगरपालिकामा जनप्रतिनिधि चुनिएपछि मात्र क्रसर उद्योगको असरका विषयमा आवाज उठेको सरोकारवाला बताउँछन्।

अन्यत्रबाट ढुंगा ल्याएर क्रसर उद्योग चलाउने नाममा ठेकेदारले महुरेकै ढुंगा झिकेर प्राकृतिक स्रोतमाथि दोहनसमेत गरिरहेको पाइएको छ। क्रसर उद्योग बस्ती नजिक रहेकाले पनि सो स्थानमा राख्नु अनुपयुक्त रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्