यतीको एटीआर जहाज आयो



 

काठमाडौं, (नेस)
यती एयरलाइन्सले एटीआर जहाज खरिद गरी काठमाडौं ल्याएको छ। नेपाली दर्ता नम्बर ९ एन–एएमएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) रहेको नयाँ विमान एफएए⁄ईएएसए चाप प्रमाणित नेपाली आन्तरिक उडान क्षेत्रकै सर्वाधिक नयाँ (कान्छो) विमान भएको कम्पनीले जानकारी दिएको छ। एयरलाइन्सले सेवा थप विस्तारित गर्ने उद्देश्यका साथ एमएसएन ८७६ सहितको एटीआर विमान थपेको घोषणा गरेको हो।

यतीको पहिलो एटीआर विमान शनिबार मध्यान्ह सिंगापुरबाट थाइल्यान्ड हँुदै त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। फ्रान्सको जहाज निर्माता कम्पनी एटीआरमा निर्मित ७२ सिटे एटीआर ७२–५०० एक अर्बको लगानीमा यतीले पहिलो एटीआर काठमाडौं भित्र्याएको हो।

सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग यतीले जहाज खरिद गरेको हो। यती एयरलाइन्सले एक हप्तापछि विराटनगर र नेपालगन्ज विमानस्थलबाट सेवा थालनी गर्ने जनाएको छ। साथै एनएसीद्वारा नै वित्तीय सहयोग प्रदान गरिएको दोस्रो एटीआर ७२–५०० को आगमनसँगै कम्पनीले भद्रपुर र भैरहवाबाट समेत एटीआर सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको छ। दुई इन्जिन सहितको एटीआर ७२–५०० फ्रेञ्च–इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो।

एटीआर७२–५००लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई वटा प्राट एन्ड ह्विट्ने पीडब्ल्यू १२७ इन्जिनले शक्ति प्रदान गर्छ। यी अत्याधुनिक प्रविधि सुसज्जित इन्जिन र प्रोपेलरले अद्वितीय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, इन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने कम्पनीले जनाएको छ। सन् १९९८ बाट सेवा थालनी गरेको यती एयरलाइन्सले आफ्नो सब्सिडायरी तारा एयरको साथमा नेपालमै सर्वाधिक ठूलो सञ्जाल र अधिक विमानमार्फत सेवा प्रदान गरिरहेको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्