पेट्रोलियमबारे चुरो कुरा के हो ?



 

तराईका दलहरूले गरेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दी बिर्सन थालिएको छ। तर कहिले काहीं ईन्धन अभाव हुँदा ठ्याक्कै त्यसैको झल्को आउछ। भारतले नाका खोलेको पनि निकै भइसक्यो, तर पेट्रोल, ग्यासलगायतका अति आवश्यक बस्तु जनताले सहज रुपमा पाउन सकेका छैनन्। पेट्रोल पम्पमा पेट्रोल छैन अनि ग्यास पसलमा ग्यास सकिएको छ भन्दै ब्यापारीले अहीले पनि फर्काउने गरेका छन। अहीले पनि एक सिलिन्डर ग्यासका लागि महिनौं कुर्नुपर्छ, त्यो पनि पाउन सकिँदैन।

लोकतान्त्रिक गणतन्त्र उच्च पदस्थ र राजनीतिकर्मीलाइ मात्र आयो। प्रधानमन्त्री देउवा आएपछि पनि पेट्रोलियम पदार्थका लागि वातावरण सहज बन्न सकेको छैन। निकै राम्रो काम गरीरहनु भएका गृहमन्त्री जनार्दन शर्माले यस विषयमा ध्यान दिन जरुरी देखीन्छ। सडकमा लाइन बसेका सवारीसाधनका कारण दिनहुँ सवारी जाम भएको छ भने त्यसरी घन्टौं लाइन बस्दा पनी तेल सहज तरिकाले पाउन सकिँदैन। पेट्रोलपम्प सञ्चालनका आफन्त, प्रहरीका आफन्तले भने सजिलोसँग तेल पाइरहेका छन्। जनता कहिलेसम्म निरीह भएर बस्नुपर्ने हो ?

प्रजातन्त्रमा बलियो आधार भनेको जनता हुन् तर जनतालाई सधैं कौडीका भाउमा पनि नगन्ने चाला ठीक भएन। अहिले तेल पेट्रोलपम्पबाट भन्दा बाहिरबाट बढी बिक्री भएको सुनिन्छ तर कारबाहीमा खासै कोही पर्दैनन्। सरकार भएर पनि हरठाउँमा सरकार नभएको आभास भएको छ जनतालाई यति बेला। सरकारले कि केही गर्न सक्दैनौं भन्नुर्पयो, होइन भने जनतालाई निराश पार्ने काम छाड्नुर्पयो। सरकरले तेल सहज छ भन्दा पनि व्यापारीले के गरेका हुन् वा के भएको हो ? चुरो कुरो जान्न पाउनुपर्यो।

– पोषण गिरी, भक्तपुर

लोपोन्मुख चेपाङको अवस्था उस्तै

आजभन्दा पुस्तौँअगाडि चेपाङहरुको जंगलमा र ओडारमा बासस्थान थियो। जंगलको कन्दमूल, सागसिस्नु, गिठा–भ्याकुर खाएर जीवन चलाउँथे उनीहरु। प्रायजसो चेपाङहरु ४ जिल्ला गोर्खा, धादिङ, मकवानपुर, चितवनका विकट ठाउँहरुमा बस्ने गरेका थिए र चेपाङहरुको जनसंख्या अघिल्लो जनगणनाअनुसार ६०,००० (साठी हजार) भन्दा माथि थियो। आजभोलि उनीहरु १० जिल्लाभन्दा धेरैमा बसोबास गरिरहेका छन्।
आजभोलि चेपाङहरु पहिलाजस्तो ओडारमा बस्दैनन, साना–साना झुपडी बनाएर स्याउलाले बारेर बस्ने गरेका छन् उनीहरु। चेपाङ समुदायहरु शिक्षा, स्वास्थ्यमा कमजोर नै छन्। चेपाङहरुका ठूला–ठूला खेतहरु हुँदैनन, पाखापखेरामात्र हुन्छन्। अहिले दुई प्रतिशतसँगमात्र जग्गाधनी लालपुर्जा छ, बाँकी ९८ प्रतिशत चेपाङको ऐलानी खोरियामात्र छन्। ती खोरियामा कोदो, मकै, फापर, तोरी लगाइन्छ, तैपनि प्रशस्त मात्रामा खान पुग्दैन। हुनेखाने चेपाङलाई ३ देखि ६ महिनासम्म खान पुग्छ, बाँकी समय अर्मापर्मा गरेर जीवन चलाइरहेका हुन्छन्।

दुई वर्षअगाडि आएको विनाशकारी भूकम्पले चेपाङ समुदायमा मानव क्षतिमात्र गरेन, आर्थिक क्षति पनि नराम्रोसँग गर्यो। डाँडाहरु चिराचिरा पार्यो। ती चिराचिरा पारेका डाँडाहरु बिस्तारै बर्षादको समयमा भत्किएर चेपाङहरुले लगाएको कोदो, मकै पुरिएर नष्ट भयो। चेपाङ समुदायमा गएको दसैँ–तिहार मान्न साह्रै समस्या भएको थियो। चेपाङ समुदायमा भोकमरीको चपेटा बढेर फेरि पहिलेजस्तै जंगलतिर बाह्रै महिना कन्दमूल खाएर बस्नुपर्ने त हैन ? भन्ने आशंका अहिले चेपाङहरुको ठूलो चिन्ताको विषय बनेको छ। सरकारले उचित ब्यबस्थानिमा ध्यान दिनु जरुरी देखीएको छ।

– सीताराम शर्मा, मकवानपुर

बीपी कोइरालाबारे राम्ररी बुझियोस्

दिवंगत बीपी कोइरालाले राष्ट्रियताबारे थोरै बोलेका छन् र लेखेका छन्। तर उनी स्वयं नै राष्ट्रियताको भावले ओतप्रोत थिए, जसका लागि उनले जीवनलाई दाउमा लगाए, जीवनकै खतरा मोले। तर उनी अतिराष्ट्रवाद, अन्धराष्ट्रवाद र संकीर्ण राष्ट्रवादको खिलाफमा थिए। उनले नेपाललगायत अन्य देशका शासक या नेताले जस्तो राष्ट्रियताको नारा दिएर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न खोजेनन्। उनले पराधीनताभन्दा सम्भावित मृत्यु रोजे, जेलजीवन रोजे।

उनले भनेका छन्– राष्ट्र र राष्ट्रियता भनेको फगत माटो होइन, त्यो भौगोलिक क्षेत्रभित्र बस्ने जनता नै मुख्य रूपमा राष्ट्र हो। उनले भनेका छन्– जनता बलिया र समृद्ध भए मात्र राष्ट्रियता बलियो हुन्छ। त्यसैले होला उनी स्वयं रोगले थलिएर विदेशी अस्पतालमा भर्ना भएका बखत लोकतन्त्र ल्याउने बुटी खोज्न भन्दा पनि जनतालाई कसरी निरोगी र स्वस्थ बनाउन सकिन्छ भनेर उपाय सोध्थे।

बीपी कोइरा लोकतन्त्रवादी थिएनन्। लोकतन्त्र र सत्ता प्राप्तिलाई साधन मात्रै ठानेका थिएनन। त्यसैले उनले सुकिला र मुकिलाको कुरा उठाएका थिए, जसलाई अहिले पनि आफू सत्तामा नभएका बखत मात्रै कांग्रेसीजनले उठाउने गरेका छन्। बीपीको परिभाषामा महलमा बस्ने होइन, झुपडीमा बस्नेहरू सहजरूपमा बाँच्नु र हाँस्नु नै समाजवाद थियो। अहीले विपीलाई नबुझी उनका हरेक कुरालाई गलत तरीकाले ब्याख्या गर्ने गरेको पाईन्छ। यसो हुन नदिन विपीका बारेमा सबैलाई बुझाउन जरुरी छ।

– सागर नेपाली, कैलाली

नेतृत्वलाई मेरो अनुरोध

नताज्यू, तपाईहरु जागिर खान र कमाउन त्यो ठाउँमा जानुभएकै हैन। तपाईहरु ३ करोड नेपालीको प्रतिनिधित्व गरेर उनिहरुका समस्या समाधान गरी देशको राज्यभार चलाउन जानुभएको हो। तपाईंहरू सेवक बन्नुस्, जनतालाई सेवक नबनाउनुस्। आफु शासक बनेर नबस्नुस्।

यो नेपाल जनताका हातमा छ। जनताले तपाईंहरूलाई कति विश्वासका साथ संसद् भवनको ढोका खोलिदिएका छन् तर तपाईंहरू जनतालाई सेवक बनाउने ? नेपाल प्रजातान्त्रिक देश हो र सम्पूर्ण देश जनताको हातमा छ। देशलाई खेलौना नसम्झनुस्। यदी यसो भयो भने संसद भवनमा पुर्याउने जनताले तपाईंलाई रोडमा झारीदिनेछन। त्यसैले जनताको र देशको हितमा काम गर्नुस्।
– योगेश बराल, ललितपुर

प्रतिक्रिया दिनुहोस्