बयल गाडाबाटै काठ तस्करी



 

गोकुल घोरसाइने, बारा
जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हँुदै गरेको अवस्थामा गन्जभवानीपुर प्रहरी चौकीको प्रहरी टोलीले करैया गाउँपालिका–४ बाट शुक्रबार बिहान ३ बजे ३ थान सखुवाको गोलियासहित गाडा र एक हल गोरु बेवारिसे अवस्थामा बरामद गर्यो। सोही बिहान सेक्टर वन कार्यालयको गस्ती टोलीले जितपुर सिमरा उपमहानगरपालिका–१७ को रघुनाथपुरमा पनि बाँसघारीमा लुकाई राखेको अवस्थामा सखुवाको थप ४ थान हरियो टुना फेला पार्यो। प्रहरीले बरामद काठसहित गोरु र गाडा कारबाहीका लागि सेक्टर वन कार्यालय मधुवनको जिम्मा लगाएको छ।

जिल्लामा केही समययता मिलेमतोमा काठ तस्करी वृद्धि भएको गुनासो बढिरहेको बेला प्रहरी र वन कर्मचारी टोलीले एकै दिन दुई स्थानबाट तस्करीको काठ बरामद गरेका हुन्। मधुवन, तामागढी र जिल्लाको तामागढी सेक्टर जंगलबाट बयल गाडामा राखेर काठ तस्करी हुने गरेको हो। ‘कर्मचारी र प्रहरी देखे पनि नदेखेझैं गर्छन्’, तामागढी सेक्टर कार्यालय अन्तर्गतको जंगल नजिकै पर्ने ककडी गाउँका एक सर्वसाधारणले भने– ‘बयल गाडामा लोड गरेर दिनहुँ लैजान्छन्।’

स्थानीयका अनुसार दक्षिणतर्फबाट साँझपख आउने तस्करहरूको समूहले हरिया सखुवा फडानी गरी टुना पारेर बयलगाडा राखी लैजाने गरेका छन्। ककडीसहित, सपही, बलुवा, भलुहिखोर नाकाबाट काठ तस्करी हुने गरेको छ। मधुवन सेक्टरअन्तर्गतको सहजनाथ साझेदारी वनमा पनि दक्षिणतर्फबाट पस्ने काठ तस्करीको बिगबिगी छ। तस्करहरूले रामनगर, बोधवन मधुवन र पसाहा नदीपारिको जैतापुर नाका प्रयोग गरी हरिया दाउरा र सखुवाको टुना बनाएर साइकल र बयल गाडामा तस्करी गर्दै आएका छन्। यस क्षेत्रबाट तस्करी भएको काठ जिल्लाको दक्षिणी भेगमा पर्ने चिरान मिल र सीमापारि भारतीय बजारसम्म पुर्याएर बिक्री गरिन्छ।

तस्करीको अर्को अखडा तामागढी सेक्टरबाट फडानी भएको काठ भने स्थानीय बजारमा नै खपत हुने गर्छ। तस्कर समूहले यस क्षेत्रबाट पनि बयल गाडा नै प्रगोग गरी काठ तस्करी गर्दै आएका छन्। यहाँको काठ निजगढबजार, सिगौल, रतनपुरी र बागदेव क्षेत्रका घरघरमा पुर्याएर बिक्री हुने गरेको छ। तस्करहरूले जंगलबाट टुना वा चिरान बनाएर पनि काठ ल्याइदिने गरेको स्थानीयको भनाइ छ। एउटा ३.५ चौडाइको ४ हाते सखुवा चिरान कडी २ हजारदेखि २ हजार ५ सय रुपियाँसम्म खरिद बिक्री हुने उनले जानकारी दिए। सखुवाको गोलिया भने बजार मूल्यभन्दा निकै कममा बयल गाडाबाट घरमा पुर्याइन्छ। ‘जस्तो अर्डर आयो त्यस्तै ल्याइदिन्छन्’, उनले भने– ‘एउटा २० क्विफिटको सखुवा गोलियाको १०⁄१५ हजार लिन्छन्।’ तर बजारमा चिरान ५ हजार र गोलिया काठको मूल्य प्रतिक्विफिट ३ हजार रुपियाँसम्म छ। निजगढ नगरपालिकाभित्र निर्माण हँुदै गरेका अधिकांश घर र भवनमा तस्करीको काठमा नै निर्भर छन्। निजगढ क्षेत्रबाट तस्करीको चिरान ट्रक र बसमा समेत राखेर काठमाडौं, हेटौंडा र वीरगन्ज जस्ता शहरमा समेत पुर्याइने गरिन्छ। तामागढी सेक्टरको पुरानो निजगढ, सिगौल, लाल र रतनपुरी नाकाबाट सखुवाको काठ तस्करी हँुदै आएको छ।

वन कर्मचारी र नाका चौकीका प्रहरीको मिलेमतोमा काठ तस्करी हुने गरेको गुनासो छ। तामागढी क्षेत्रबाट हुने तस्करीमा इलाका प्रहरी कार्यालय निजगढका घुमुवा प्रहरीले महिनावारी रकम असुलेर छुट दिने गरेको बताइन्छ। जिल्ला वन अधिकृत भैरव घिमिरे तस्करी नियन्त्रणका लागि कार्यालयले कुनै कसुर बाँकी नराखेको बताउछन्। उनले कर्मचारीको तस्करसँग मिलोमतो रहेको कुरामा सत्यता नभएको यदि त्यस्तो पाइए कडा कारबाही गरिने पनि बताए।

प्रतिक्रिया दिनुहोस्