माओवादी केन्द्रको बैठक सम्पन्न, ४ हजारको केन्द्रीय समिति ९९ बनाउने तयारी



 

मधुसूदन रायमाझी, काठमाडौं

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा जम्बो केन्द्रीय समिति बनाउँदा निर्वाचनमा पराजित भएको निष्कर्ष निकाल्दै केन्द्रीय समितिको संख्या घटाउने निर्णय गरेको छ।

ठूलो केन्द्रीय समिति बनाउँदा सांगठानिक रूपमा अस्तव्यस्त भएकाले निर्वाचनअघि नै दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरेको हो। प्रदेश कार्यालयको सिफारिसको आधारमा केन्द्रीय कार्यालयले केन्द्रीय समितिको संख्या घटाउनको निर्णय गरेको छ।

साउन २ गतेदेखि जारी पार्टी केन्द्रीय सचिवालयको विस्तारित बैठकको समापनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब दुई अंकको केन्द्रीय समिति बनाउने बताउनुभएको छ।

‘सबै प्रदेशबाट यस विषयमा निर्णय गराएर केन्द्रीय कार्यलयले दुई अंकको केन्द्रीय समिति बनाउछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने– ‘पार्टीलाई गतिशील बनाउने जम्बो केन्द्रीय समितिले सक्दैन, अब सानो समिति बनाइन्छ।’

बलिदानको औचित्य पूरा गर्नसक्ने पार्टी बनाउनुपर्नेमा जोड दिँदै प्रचण्डले सर्वहारा वर्गीय पहिचान बचाएर संगठन चुस्त पार्नुपर्ने बताउनुभयो।
देशविदेशका सबै प्रतिक्रियावादी शक्तिहरू नेपालको परिवर्तन भत्काउन घुँडा टेकेर लागेको बताउँदै परिवर्तन संस्थागतका लागि अझै पनि विवेकपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रतिक्रियावादीलाई धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र स्थानीय तहजस्ता परिवर्तन प्रतिक्रियावादीहरूलाई पटक मन नपरेको बताउनुभयो।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘हामी क्रान्तिकारी थियौं र हौं, संसद्वादको अभ्यास हामीले गरेका होइनौं।’ क्रान्तिको स्वरुप मात्रै फेरिएको बताउँदै पार्टीले यसलाई उपयोग गर्दै समाजवादी क्रान्तिको तयारी गर्नेतर्फ संगठनलाई होम्नुपर्ने बताउनुभयो।

निर्वाचनमा विजयी हुनका लागि जनताको घर–घरमा जान निर्देशन दिँदै अध्यक्ष प्रचण्डले चुनाव पनि क्रान्तिकै मोर्चा भएकाले संगठन बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो। चुनाव जित्नका लागि जोसँग पनि एकता गर्न नसकिने बताउँदै आफ्नो पार्टीको लागि चुनाव एउटा कार्यनीति मात्रै भएको बताउनुभयो।
माओवादीको सचिवालयको विस्तारित बैठकले स्थानीय तहको दुई चरणको निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्ने पार्टी नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको छ। माओवादीले अन्तरघात छानविनका लागि ६ वटै प्रदेशमा कार्यदल गठन गर्ने भएको छ। प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘६ वटै प्रदशेमा तीन⁄तीन सदस्यीय कार्यदल बनाएर छानबिन हुन्छ। बागी उठ्ने, अन्तर्घात गर्ने र अर्को पार्टीको पैसा खानेलाई कारबाही हुन्छ।’

बैठकले प्रदेश नम्बर २ को चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेता मणि थापाले बताउनुभयो। बैठकले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को संयोजकत्वमा समिति बनाएको छ भने प्रदेशसभाको चुनावका लागि उम्मेदवार छनोटका लागि रामबहादुर थापाको संयोजकत्वमा समिति बनाएको छ।
बैठकले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिहरूसँग विज्ञसहितको भेला गर्ने निर्णय गरेको छ।

नेकपा माओवादीका युवा नेता युवराज चौलागाईंले पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दालाई उठाउने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा पराजित भएका पार्टीका उम्मेदवारहरूलाई स्थानीय सरकार सञ्चालन समिति बनाउने निर्णय पनि भएको छ।

माओवादी केन्द्रले जारी मतदाता नामावली संकलनको कार्यमा ध्यान दिने बताउँदै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पनि मतदानको व्यवस्था गराउनका लागि निर्वाचन आयोगसँग आग्रह गर्ने निर्णय गरेको नेता चौलागाईंले बताउनुभयो। बैठकले आगामी भदौभित्र जनवर्गीय संगठनहरूको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले माओवादीबाट विभाजित भएर अगल पार्टी गठन गरेका मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलाई पार्टी एकताका लागि अपिल गर्ने निर्णय गरेको छ। प्रचण्डको भनाइ उद्धृत गर्दै नेता चौलागाईंले भन्नुभयो– ‘विभाजित माओवादीसँग पुनः पार्टी एकताको सम्भावना राम्रो देखिएको छ।’

त्यसैगरी यसअघि नै महाधिवेशनको मिति तोकेको माओवादी केन्द्रको महाधिवेशन अब तीन तहकै निर्वाचनपछि मात्र हुने भएको छ। निर्वाचनअघि महाधिवेशन गर्ने सम्भावना नभएको निष्कर्ष माओवादीले निकालेको छ।

निर्वाचनमा पार्टी पराजय भोग्नुपरेको भन्दै नेताहरूले असन्तुष्टि जनाएपछि अध्यक्ष प्रचण्डले चार कारणले स्थानीय तहको निर्वाचनमा अहिलेको सिट ल्याउन सम्भव भएको बताउनुभयो। प्रचण्डको भनाइ उद्धृत गर्दै नेता चौलागाईंले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी एकताले हौसला बढायो, यसले कार्यकर्तामा उत्साह जगायो, संविधान निर्माण र कार्यान्वयमा पार्टीले भूमिका खेल्यो, मेरो नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्यो, निर्वाचनमा पोलिटब्युरो सदस्यहरूको परिचालनले प्रभाव पार्यो।’

प्रतिक्रिया दिनुहोस्