मधेसमा बृहत् मोर्चा बनाउने प्रस्ताव



 

बीपी साह, काठमाडौं

लामो समयदेखि आन्दोलनरत मधेसीहरुको माग पूरा गराउन बृहत् मधेसी मोर्चा बनाउनुपर्ने प्रस्ताव बुद्धिजीवीहरुले गरेका छन्। बृहत् मोर्चामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र राजपासहितका पार्टीमा रहेका मधेसी नेताहरुलाई समेटेर मोर्चा बनाउनुपर्ने प्रस्ताव आएको हो।

शनिबार काठमाडौंमा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले आयोजना गरेको अन्तरक्रियामा सहभागी बुद्धिजीवीहरुले मधेसवादी दलहरु मात्रले मधेसको माग पूरा गराउन नसक्ने भन्दै बृहत् मोर्चाको आवश्यकता रहेको बताए।

आन्दोलनमा देखिएको राष्ट्रिय जनता पार्टी नेपाल एक्लैले आन्दोलन गर्दैमा मधेसको माग पूरा नहुने निष्कर्ष उनीहरुले निकालेका छन्। उनीहरुले सम्झौताका आधारमा राजपालाई निर्वाचनमा सहभागी हुन पनि आग्रह गरेका छन्।
अन्तरक्रियामा माओवादी नेता मातृकाप्रसाद यादवले बृहत् मोर्चा बनाएर मधेस आन्दोलनलाई सफल पार्न प्रस्ताव गर्नुभएको थियो। नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले मधेसवादी कुनै पनि दल मधेसको माग सम्बोधन गराउन नसक्ने भएकाले सबै पार्टीका मधेसी नेताहरु मिलेर तत्कालै बृहत् मधेसी मोर्चा बनाउनुपर्ने बताउनुभयो।

विश्लेषक सीके लाले पनि उक्त विषयमा जोड दिए। लालले मधेसवादी दलका नेताहरुमा पनि कमीकमजोरी रहेको बताउँदै त्यसलाई सुर्धान आवश्यक रहेको औंल्याउनुभयो। मधेसको आन्दोलन समाप्त नहुने बताउँदै लालले अहिलेका मधेसवादी दलले मधेसको माग पूरा गराउन नसके अर्को आन्दोलन हुने बताउनुभयो।

राजपा नेता महेन्द्र यादवले पनि संयुक्तरुपमा आन्दोलन गर्न आफूहरु तयार रहेको बताउनुभयो। उहाँले आन्दोलनले नै मधेसको माग पूरा हुने बताउँदै राजपा त्यसका लागि तयार रहेको दाबी गर्नुभयो। सोही कार्यक्रममा माओवादीका मधेसी नेताहरुले आफूहरु स्वायत्त मधेस एक प्रदेशको पक्षमा रहेको बताउनुभएको छ।

यता मधेसी मधेसका बारे वैकल्पिक इतिहास लेख्न आवश्यक रहेको वक्ताहरुले बताएका छन्। तराई मधेस राष्ट्रिय परिषद्ले शनिबार नै काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मधेसका बारे भ्रम फैलाइएको भन्दै वैकल्पिक इतिहास लेखन आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

छलफलमा लेखक युग पाठकले नेपालको इतिहास एकतर्फी रहेको बताउँदै अन्य कोणबाट पनि लेखन हुनुपर्ने सुझाउनुभयो। त्यस्तै, विश्लेषक तुलानारायण साहले पनि वर्तमान राज्य भ्रमित मानसिकताबाट गुज्रिरहेको बताउँदै इतिहासको पुनव्र्याख्या र लेखन हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्