कर्मचारीलाई स्थानीय तहमा खटाउने कार्य सम्पन्न



 

विष्णु तिमिल्सिना, बर्दिया

बर्दिया जिल्लास्तरका विभिन्न कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई ८ वटै स्थानीय तहका कार्यालयमा खटाउने कार्य करिब सम्पन्न भएको छ। ६ वटा नगरपालिका र २ वटा गाउँपालिकाका लागि बर्दिया जिल्लाका विषयगत कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई स्थानीय तहमा खटाउने कार्य करिब सम्पन्न भएको जिल्लास्तरीय कर्मचारी व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जानकारी गराउनुभएको छ।

कर्मचारी खटाउने क्रममा पहिलो चरणमा स्वास्थ्य, कृषि, पशुसेवा र शिक्षा कार्यालयबाट २⁄२ जनाका दरले सबै गाउँ⁄नगरपालिकामा पठाइएको छ। दोस्रो चरणमा महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीलाई खटाइएको हो।

बर्दियाका ८ वटै तहका ७५ वडा कार्यालयमध्ये ३३ वडामा वडा सचिवहरू कार्यरत रहेका छन्। बाँकी ४२ वटा वडा कार्यालय सञ्चालनका लागि वडा सचिवका रूपमा प्रशासनिक जनशक्ति कमी भएकाले सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी पठाइदिन जानकारी पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो।

विषयगत कर्मचारीलाई पनि आफ्नो विषयका अतिरिक्त वडा कार्यालय सञ्चालनका लागि सल्लाह दिइएको प्रजिअ थापाले बताउनुभयो। स्थानीय तहमा कर्मचारी जान इच्छा नदेखाएका, स्थानीय तहमध्ये गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका र जिल्ला समन्वय समितिमा रहन धेरै जनाको चाहना गरेका कारण आपसी सहमति गराई कर्मचारी पठाउन केही दिन ढिलो हुन गएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

जिल्ला समन्वय समितिका करार तथा अस्थायी कर्मचारीलाई स्थानीय तहमा पठाउँदा सम्बन्धित नगर⁄गाउँपालिकाले ४ जनालाई फिर्ता पठाइदिएका छन्। अस्थायी तथा करार कर्मचारी आवश्यकताअनुसार आफै भर्ना गर्छौं भनी फिर्ता गरिदिएकाले चारजना सहयोगी कर्मचारीलाई जिल्ला समन्वय समितिमा ठाडो हाजिरी गराई राखिएको कुरा जिल्ला समन्वय समितिका सचिव तेजराज शर्माले बताउनुभयो।

राज्यको पुनर्संरचना गर्दा स्थानीय तहमा जिल्लास्तरका कार्यालयहरूको अधिकार स्थानान्तरण भई ती कार्यालयबाट हुने कार्यहरू स्थानीय तहबाटै हुने भएकाले जिल्लाका विषयगत कार्यालयका कार्यालय प्रमुख र कार्यक्रम प्रमुखहरू निरास भएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्