ग्रामीण बर्थिङ सेन्टरमा सुत्केरी, मातृमृत्यु दर शून्य



 

नन्दराम जैशी, जुम्ला

स्वास्थ्य चौकी रारालिहिमा सञ्चालित जुम्लाकै पहिलो ग्रामीण बर्थिङ सेन्टरमा ५९ जनाले सुत्केरी गराएका छन्। तिला गाउँपालिका–२ मा अवस्थित रारालिहि बर्थिङ सेन्टरबाट आर्थिक वर्ष २०७३⁄०७४ मा ५९ जना ग्रामीण जुम्ली महिलाले प्रसूति सेवा लिएका हुन्। ग्रामीण क्षेत्रका गर्भवती महिलाको सेवाका लागि २०६५ देखि सञ्चालनमा आएको उक्त बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिने महिलाहरुको संख्या बिस्तारै बढ्दै गएको छ।

बर्थिङ सेन्टरमा दक्ष चिकित्सकसहित उपकरणहरुरको पनि व्यवस्थापन हुनथालेपछि अघिल्ला वर्षहरुको तुलनामा गत वर्षदेखि ह्वात्तै प्रसूति सेवा लिनेको संख्या बढेको हो। बर्थिङ सेन्टर व्यवस्थित बन्दै गएपछि चालु आर्थिक वर्षमा पनि प्रसूति सेवा लिनेको संख्या पनि बढ्ने देखिन्छ।

यता रारालिहिकी महिला स्वास्थ्य स्वयंसेविका हरिशोभा रावतले गर्भवती महिलाहरुलाई सरसल्लाह दिएर स्वास्थ्य संस्थामा चेकजाँच तथा उपचारका लागि जान अनुरोध गर्ने गरेको बताइन्। उनले भनिन्– ‘जन्मान्तर कम गर्ने उद्देश्यले गाँउमा महिला तथा पुरुषहरुलाई पहिले अस्थायी साधन वितरण गर्ने गर्दछौं।’ यदि गर्भ रहेमा पनि स्वास्थ्य संस्थामै चेकजाँच र प्रसूति सेवा लिन पठाउने गरेको उनको भनाइ छ।

स्वास्थ्य चौकी रारालिहिका अहेब एकराज गिरीले भने– ‘ग्रामीण क्षेत्रका महिलाहरु हाल बर्थिङ सेन्टरमै प्रसूति सेवा लिन आउने गरेका छन्। यो खुसीको कुरा हो।’ पहिले घरमै सुत्केरी गराउने प्रचलन थियो। त्यसले गर्दा कयौं आमा तथा नवजात शिशुले ज्यान गुमाउनुपथ्र्यो। जनचेतनाका कारण हाल त्यसको ठीक उल्टो भएको भन्दै सुरक्षित प्रसूति सेवा नपाएर अकालमा मर्ने मातृ तथा शिशु मत्युदर शून्यमा झरेको उनले बताए। तत्कालीन घोडेमहादेव, मालिकाठाँटा र रारालिहिलगायतका छिमेकी गाविसका गर्भवती महिलाहरुले बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिएको उनले जानकारी दिए।

उनले भने– ‘बर्थिङ सेन्टरमा अहिले औषधि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभाव छैन। हामीले निरन्तर सेवा दिइरहेका छौं। तर हिउँदे सिजनमा चिसो र विभिन्न कारणले स्वास्थ्यकर्मीहरु बिदामा बस्ने गर्दा गुणस्तरीय सेवा प्रवाहमा कमी भएको महसुस हुन्छ।’ त्यसको अन्त्यका लागि लागिपरेको बताउँदै स्वास्थ्य चौकीमा रहेको १० जनाको दरबन्दी कोटा पूरा भएको उनको भनाइ छ।

बर्थिङ सेन्टरमा प्रसूति गर्न नसक्ने बिरामीलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने गरिएको छ भने हाल हरेक वडा र गाउँस्तरसम्म स्ट्रेचर वितरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्