लोप भइसकेको जिब्रो छेड्ने जात्रा फेरि सञ्चालन हुने



 

पुष्कर बुढाथोकी, भक्तपुर
घेरैले जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा सम्झन्छन्। तर मध्यपुर थिमीको दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबलीमा पनि इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा मनाइन्छ।

विगतमा सञ्चालन भएर ११ वर्ष यता सञ्चालनमा नआएको यो जिब्रो छेड्ने जात्रा यसपटक भने सञ्चालनमा आउने भएको छ। इन्द्रजात्राको भोलिपल्ट निस्कने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा आर्थिक तथा विभिन्न कारणले संकटमा पर्दै आइरहेको छ। मध्यपुर थिमी नगरबासी तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहयोगमा यसपटक भाद्र २१ गते मध्यपुर थिमी नगरपालिका–५ का २९ वर्षीय विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

जात्रालाई व्यवस्थित एवं अर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समितिसमेत गठन गरिएको छ। जात्रासम्बन्धी जानकारी दिने उद्देश्यले व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ।

सम्मेलनमा समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमीका स्थानीय बासिन्दाहरूलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरूले पीडित भएपछि थिमीका जनताहरूलाई दुःखबाट छुटकारा दिलाउन थिमीका अराध्यदेवी बालकुमारीको साधन गरेपश्चात भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरू यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरू रहेको भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको बेलुका करिब ८ बजे थिमीकै दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबलीमा जिब्रो छेडाउने भन्दै अध्यक्ष श्रेष्ठले जिब्रो छेड्ने जात्राका लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने बताउनुभयो।

जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिनाअगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जानुपर्ने भन्दै उहाँले नातु बनाउन खबर गर्न जाँदा रातो भाले, समेबजिसहित नकर्मीको घरमा जाने र नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नुपर्ने प्रचलन रहेको बताउनुभयो। उहाँले जात्रामा त्रिशुलजस्तै तीनतिर भएको नातु(सुइरो) बनाएको बताउनुभयो।

जिब्रो छेड्न आठ दिनअगाडि द्यः दुसालेगु भन्ने गरेको र बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बली दिएर बालकुमारीको साधना गर्नुपर्ने बताउनुभयो।

जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमीको लाय्कूका पःमाहरूले अहिले पनि हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राख्ने प्रचलनमा रहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले इन्द्रजात्राको दिनमा बालकुमारीमा छ्वयला ब्वः, रातो भालेको बलिसहितको पूजा गरी भोज खुवाउने चलन रहेको समेत बताउनुभयो।

त्यसैको भोलिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ। यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ। जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यतिm) को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजापश्चात जिब्रो छेड्ने व्यतिmमा दैविक शतिm प्राप्त हुने जनविश्वास रहेको छ।

त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरवसामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्याइन्छ। सयौं जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमिनायोले जिब्रो छेडाउने काम हुन्छ। त्यसपछि म्यं (महादिप) बोक्न लगाइ उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ। यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दा सँगसँगै नगरपरिक्रमा गर्दछ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि गएको पाइन्छ। इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमिनायोले सो सुइरो निकालिन्छ। सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ। अनि सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ। बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिन्छ। त्यसपछि जात्रामा सहभागी व्यक्तिहरूलाई भोज खुवाइन्छ। भोज खाइसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।

पत्रकार सम्मेलनमा २०५३, २०५९ र २०६३ सालमा गरी तीनपटक जिब्रो छेडेका कृष्ण नानिचा श्रेष्ठ, अहिले छेड्ने व्यक्ति विरेन्द्रभक्त गजु श्रेष्ठ, समितिका सदस्य राजेश सुवा श्रेष्ठ, प्रदीप श्रेष्ठ ‘पुइप जामन’ लगायतले नगरको लोपोन्मुख संस्कृति, जात्राहरूलाई संरक्षण गर्न सम्बन्धित निकायले आवश्यक चासो देखाउनुपर्नेमा जोड दिनुभएको थियो। कला, संस्कृतिले धनी मध्यपुर थिमीमा प्रत्येक वर्षको वैशाख २ गते बोडेमा र इन्द्रजात्राको भोलिपल्ट येया पुन्हिमामा थिमीमा गरी वर्षमा दुईपटक जिब्रो छेड्ने जात्रा हुने गरेको सञ्चारकर्मी रामकृष्ण शंखदेवले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्