१३ वर्षदेखि पर्यावरणको रेखदेख गर्दै दुई पूरक मित्र



 

बेइजिङ , (एजेन्सी)
पूर्वी चीनको यलीगाउँमा दुई साथी मिलेर विगत १३ वर्षदेखि आफ्नो जीवन पर्यावरणका लागि समर्पण गरेका छन्। जिया हाइसिया र जिया वेन्की हरेक दिन ८ हेक्टरमा फैलिएको जमिनमा रुख रोप्छन् र त्यसको रेखदेख गर्छन्। यसले उनको गाउँलाई बाढीले बचाउने मात्र नभई प्राकृतिक रूपमा रमणीय पनि हुने उनीहरु बताउँछन्।

वास्तवमा उनीहरुको मित्रता पनि विशेष प्रकारको छ। उनीहरुको मित्रता एक अर्काका लागि पुरक बनेका छन्। वेन्कीको दुबै हात छैनन् भने हाइसिया दृष्टिविहीन हुन्। यिनीहरु दुई जना विगत १३ वर्षदेखि एकअर्काको हात र आँखा भएका छन्। यो मित्रतामा एकजनाले हात पाएको छ भने अर्कोले दृष्टी।

दुबैजना प्रत्येक दिन एउटा मुंग्रो र फलामको रड लिएर जंगल जान्छन्। अगाडि वेंक्वी हिँड्छ भने उनको सर्ट समाउँदै हाइसिया पछि लाग्छन्। नदी तर्नुपर्दा हाइसिया, वेंक्वीको पिठमा चढ्छन् र नदी तर्छन्।

उनीहरु दुबै बच्चाबेलामा सँगै स्कुल जान्थे। स्कुलपछि यी दुबै अलग्गिएका थिए। हाइसियाको बच्चा बेलामा एउटा आँखामात्र दृष्टिविहीन थियो। सन् २०००मा एउटा कारखानामा दुर्घटना हुँदा उनी पूरै दृष्टिविहीन बन्न पुगे। वेक्वी तीन वर्षको हुँदा उनले हाइभोल्टेजको तार छोएका थिए, जसका कारण त्यहीबेलादेखि उनले हात गुमाउनुपरेको थियो।

ती दुबैको जिन्दगी उनका परिवारमा निर्भर भइसकेको थियो। हाइसिया पूर्ण रूपमा दृष्टिविहीन भएपछि काम पनि गुमाउनुपर्यो र उनी डिप्रेसनमा जान थालेका थिए। उनका छोरा ४ वर्षका मात्र थिए र उनकी पत्नी पनि बिरामी हुन थाले। परिवारको आडभरोसाको अन्तिम आधार पनि समाप्त भइसकेको थियो।
अर्कोतर्फ वेन्की सानैदेखि अरूमा निर्भर थिए। उनी आफ्नो धेरैभन्दा धेरै काम आफैं गर्ने प्रयास गरिरहेको हुन्थे। उनले बिनाहात काम गर्न सिकिसकेका थिए। पढाइ सकिएपछि उनी स्थानीय वन विभागको मद्दतबाट काम गर्न थालेका थिए। उनी बगैंचामा फलफूलको रेखदेख र रुखबिरुवालाई पानी दिन्थे। एक प्रकारले उनले सबै काम सिकिसकेका थिए।

वर्षौंपछि उनीहरुको पुनः भेट भयो। उनीहरुले मिलेर काम गर्ने र पैसा कमाउने सोच बनाए। दुबैलाई रुख बिरुवामा रुची थियो। उनीहरुले सरकारी जमिन भाडामा लिए र त्यहाँ उनीहरुले रुख लगाउन र पर्यावरणको रेखदेख गर्ने योजना बनाए।
हाइसियाका अनुसार यो धेरै कठिन काम होइन। उनी विकलांग भए पनि आफ्नो परिवारको बोझ बन्न चाहँदैनथे।उनीहरुका अनुसार अर्को दश वर्षमा रुख ठूला भइसक्नेछन् र उनीहरुले पैसा पाउनेछन्। उनीहरुको काम भनेको अहिले धेरैभन्दा धेरै रुख रोप्नु र त्यसको रेखदेख गर्नु हो। विगत १३ वर्षमा उनीहरुले १० हजारभन्दा धेरै रुख रोपिसकेका छन्। जसमा तीन हजार मरिसकेका छन्। तर ८ हेक्टरमा ३ हेक्टर जमिन रुखले भरिएका छन् र थुप्रै पन्छीले त्यहाँ गुँड बसालिसकेका छन्। पहिला उनीहरुबाट टाढै बस्न रुचाएका गाउँलेहरुले पनि उनीहरुलाई साथ दिन थालेका छन्। पहिला उजाड देखिएका नदीका किनारा अहिले हराभरा भएकोमा गाउँले पनि खुसी छन्।

हालै मात्र चिकित्सकहरुले हाइसियाको अँँखाको उपचार हुनसक्ने बताएका छन्। उनी दाताको पर्खाइको सूचीमा छन्। हाइसियाले आफ्नो आँखा सद्दे भइसकेपछि पनि आफू वेंक्वीसँग त्यसरी नै पर्यावरणको रेखदेखमा लाग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्