यस्तो हो त सम्मान ?



 

जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्यको कर्तव्य हो। र राज्यले उहाँहरुको कदर गरिरहेको पनि छ। जेष्ठ नागरिकका लागि नेपाल सरकारले रकम बाँडेर सम्मान गरिरहेको छ। यसमा जेष्ठ नागरिकहरु पनि यति पैसा पाएको छ भन्दै खुसी पनि भइरहेका छन्। तर उहाँहरुको एउटा गुनासो भने गम्भीर बनेको छ। धरहराले पनि उहाँहरुको पीडा देखेको छ।

जेष्ठ नागरिकहरु आफूलाई पाउने रकम लिन बैंकमा लाम लागेको दृश्यले धरहरालाई दुःखित बनाएको छ। बैंकको काम सधैं ढिलासुस्ती नै देखिन्छ। यो उमेर गएका व्यक्तिहरुलाई कठिन परिश्रम भएको छ। दिनभरि लाम लागेर उहाँहरुलाई थकान भइरहेको पनि धरहराले महसुस गरेको छ। उहाँहरुको गुनासो छ कि सरकारले रकम त दियो, खोइ त हामीलाई सुविस्ताका साथ रकम दिएको?

बैंक कसैको घरबाट नजिक पनि छैन अनि उहाँहरुमध्ये कोही आफ्ना छोरा वा छोरीको हात समाउँदै बिस्तारै हिँडिरहनु भएको दृश्य पनि धरहराले हेर्न सकेन। एक जेष्ठ नागरिक त करिब करिब १० स्थानमा विश्राम लिँदै घर फर्किरहनुभएको देख्दा उफ् सरकारले गर्नुगर्यो भन्ने धरहरालाई लाग्यो। कति त लाम देखेरै रकम नलिई घर फर्कनुभयो। सरकारले जेष्ठ नागरिकका लागि सुविस्ताका साथ रकम उपलब्ध गराउन पर्यो। कसो पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्