मोहन दुवाल
समाजसेवाका उत्कृष्ट नाम– बद्रीविक्रम थापा। प्रशासनिक सेवामा चोखो उत्सर्गता देखाउन सफल व्यक्तित्व र सत्–निष्ठाका भावना समाजमा बाँड्न सफल कर्मयोगी– बद्रीविक्रम थापा। यिनै समाजसेवक व्यक्तित्वलाई चिनाउँदै जाने क्रममा ‘कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठी’ २०५३ सालमा स्थापित भएको देखिन्छ। कर्मयोगी बाबुका सुकर्मी पुत्र किरण थापाको सक्रियता रहेको यस गुठीबाट राष्ट्रिय स्तरका थुप्रै साहित्यिक, सामाजिक, शैक्षणिक, धार्मिक सुकार्यहरु हुँदै आएका छन्। बद्रीविक्रम थापाले गरेर गएका थुप्रै कार्यहरुमा भाषा, साहित्य, धर्म, संस्कृति, कला र ज्ञानविज्ञान क्षेत्रमा पुर्याएर गएका योगदानहरु स्मरण गर्नलायकका छन्। यिनले निरङ्कुश राणाशासनविरुद्ध विगुल फुक्ने कार्य गरेर आफूलाई प्रजातन्त्र सेनानीका रुपमा चिनाएका छन्। सादा जीवन उच्च विचारका धनी व्यक्तित्वका रुपमा यिनका समकालीन मित्रहरुले यिनको परिचय गर्ने गर्छन्। कर्तव्यनिष्ठ तथा कुशल प्रशासकका रुपमा पनि त्यसताका चिनिएका यिनी मेचीदेखि महाकालीसम्म आफ्नो सेवाद्वारा राष्ट्रनिर्माणको पवित्र कार्यमा पनि लागेको देखिन्छ। यिनले कविता लेखेर, संस्मरणमा आफू पोखिएर, आफूलाई लागेका कुराहरु ‘टिप्पणी’ मा पोखिदिएर आफूलाई राष्ट्रसमक्ष नढाँटीकन चिनाउन सफल छन्।

वि.सं. १९७९ साउन ११ मा सिन्धुलीमा जन्मेका बद्रीविक्रमका पोखिन बाँकी धेरै कुरा छँदाछँदै वि.सं. २०५२ असोज २५ मा यिनको अवसान भएको देखिन्छ। ‘बोलेको कुरा गरेर देखाउन थालेपछि थोरै बोल्न कर लाग्छ’ यिनले आफ्नो बोली–कर्म यसरी पनि राखेका छन्। ‘पाउनेले पाएन भने दिनेले जति दिए पनि काम छैन’ यस खालको सोझो अभिव्यक्ति पोख्न रुचाउने यिनले ‘नाश हुने चीजमा अडिएको मन कति दिन सुखी रहन सक्छ र ?’ मीठो बोलीमा सही–सत्य यथार्थहरु ठाउँ–ठाउँमा पोखेका छन्। ‘त्यस्तो मादल पनि के भिर्नु जसलाई अर्काले पछाडिबाट बजाइदिन्छ।’ कति कूटनीति दृष्टि। ‘त्रासबाट ल्याएको शान्ति र अन्यायबाट ल्याएको क्रान्ति दुवै राम्रो हुन्न।’ कति मार्मिक अभिव्यक्ति। समाजमा चिनाउन लायक, राष्ट्रकै परिप्रेक्ष्यमा उत्कृष्ट समाजसेवकका रुपमा देखाउन मिल्ने समाजसेवकलाई चिनाउन पनि आफ्नै छोरा लाग्नुपर्ने यहाँको गिर्दो संस्कृति भयावह छ। सतही मूल्याङ्कन हुने, ठोस मूल्याङ्कन नहुने यहाँको स्थिति डरलाग्दो छ। र, राज्यबाट कुनै पनि क्षेत्रमा उचित मूल्याङ्कन नहुने जुन परिपाटी छ त्यो दिक्कलाग्दो छ। साहित्य, कला, संस्कृतिमा दिलोज्यान दिएर लाग्नेहरु, समाजपरक कार्यहरु गरेर आफूलाई असल मान्छेका रुपमा देखाएर जानेहरु, देशको मुहार फेर्न जीवनदान दिनेहरु कसैको पनि निष्पक्ष ढङ्गले मूल्याङ्कन भएको देखिँदैन। आफ्नो मूल्याङ्कन आफैँले गर्नुपर्ने, छोरा–छोरी, नातिनातिनी, श्रीमती, दाजुभाइ, नजिकका नातेदारहरुले नै कस्सिनुपर्ने यहाँको अजबको परम्परा अनौठो लाग्दो छ। त्यस्तै परम्परामा बाध्य भएर बाबुको सुकर्म राष्ट्रमा देखाउन किरण थापा पनि रमाएको देखिन्छ।

किरण थापालाई शायद बिस्मात् नभएकै कारणले उनी दिल फुकाएर निरन्तर आफ्नो बाबुको स्मृतिमा केही न केही गर्न पाएर दङ्ग छन्। गुठीले साँचेका उद्देश्यहरुमा (१) देशसेवाको भावनाबाट प्रभावित भई कार्य गर्ने व्यक्ति एवं संस्थाहरुलाई प्रेरणा दिनुका साथै श्रम र स्रोतमा आत्मनिर्भर हुन सिकाई राष्ट्रिय चेतना र सहमतिको विकास गर्ने, (२) पद र प्रतिष्ठाबाट माथि उठी मुलुकको विकास र उत्थानमा निरन्तर लाग्ने, साथै सरल र स्वाभाविक जीवनशैली समाजमा स्थापना गर्न जनचेतना जगाउने, (३) कर्मयोगी बद्रीविक्रम थापा र उहाँको कार्यका बारेमा अध्ययन, अनुसन्धान एवं वृत्तचित्र आदि निर्माण गर्ने–गराउने, (४) नेपालका विभिन्न स्थानमा रहेर पनि समाजका विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्ति एवं संस्थालाई सम्मान प्रदान गर्न ‘सेवा पुरस्कार नेपाल’को स्थापना गर्ने, साथै अभिनन्दन⁄सम्मान कार्यक्रम गर्ने, (५) विविध समयमा कर्मयोगी बद्रीविक्रम थापासँग नजिक भएका व्यक्तिहरुका संस्मरण सङ्कलन गरी आउने पिँढीको प्रेरणाका लागि खण्ड–खण्डमा पुस्तक, पत्रिका, स्मारिका आदि प्रकाशित गर्ने–गराउने, (६) योग, प्राकृतिक चिकित्सा र जडीबुटी चिकित्सालाई समाजमा स्थापित गरी यी पद्धतिलाई राष्ट्रिय पद्धतिका रुपमा विकास गर्न आवश्यक पर्ने कार्य गर्ने–गराउने, (७) नैतिकता, आदर्श, सांस्कृतिक मूल्य र मान्यताका साथै आधुनिक एवं प्राचीन शिक्षापद्धतिको सेतुका रुपमा आदर्श शिक्षा प्रदान गर्न शैक्षिक निर्माण गर्ने–गराउने, (८) सनातन धर्मको सार्वभौम सत्यसँग सबैलाई परिचित गराई यस शाश्वत सनातन आध्यात्मिक जीवन पद्धतिभित्र आबद्ध हुने विविध कार्यहरु गर्ने–गराउने, (९) पाटी, पौवा, मठमन्दिर, गुम्बा, चैत्य, विहार आदिको संरक्षण गर्ने एवं यस्ता पवित्र स्थानहरुको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्वका बारे जनचेतना जगाउने र (१०) विज्ञान, प्रविधि र विकासप्रतिको स्वाभिमानको भावना विकसित गराउँदै हाम्रो समाजको संरचनामा आधारस्तम्भका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरलाई बलियो बनाउन सामाजिक जागरणका माध्यमबाट प्रयास गर्ने–गराउने।

यी माथि उल्लेख भएका १० वटा बुँदामा समेटिएका उद्देश्यहरुबाट थाहा पाउन सकिन्छ कि यस सेवा गुठीले कर्मयोगी बद्रीविक्रम थापाको नामबाट भावनाबाट अभिप्रेरित हुने व्यक्ति एवं संस्थाहरुलाई प्रेरणा दिने कार्य गर्नु भनेको चानचुने विषय होइन। योग, प्राकृतिक चिकित्सा, जडीबुटी चिकित्सालाई राष्ट्रिय चिकित्सा प्रणालीको रुपमा विकास गर्न प्रोत्साहन दिने उद्देश्य सान्दर्भिक र उदाहरणीय छन्। पाटी, पौवा, मठ, मन्दिर, गुम्बा, चैत्य, विहार आदिको संरक्षण गर्न प्रेरणा दिने, समाजका विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्ति एवं संस्थालाई सम्मान र पुरस्कृत गर्दै जाने आदिका साथै शिक्षा, संस्कृति, समाजसेवा, साहित्य प्रकाशनमा सक्दो योगदान पुर्याउँदै जाने जुन उद्देश्यहरु छन्। सबैजसो चर्चा गर्न लायकका छन्। ‘सेवा पुरस्कार नेपाल’ बाट थुप्रै व्यक्ति र संस्थालाई २०४४ सालदेखि सम्मान र पुरस्कृत गर्दै आएको देखिन्छ। हाल रु. ५१,०००।– रकमसहितको उक्त सम्मान प्रत्येक वर्ष बिराएर प्रदान गर्दै आएको देखिन्छ। यस गुठीबाट हालसम्म सम्मानित भइसकेका व्यक्तित्वहरुमा दीर्घराज कोइराला, सुवर्ण वैद्य, भैरव रिसाल, रामचन्द्र साहा, तीर्थराज अग्निहोत्री, सुश्री माधुरी आले, डा. शुद्ध एस. रौनियार, हरिप्रसाद शर्मा, उत्तम सञ्जेल, डा. सुरेशराज शर्मा, बुद्धिनारायण श्रेष्ठ, हुतराम वैद्य, तारुकोन्दो, नरकान्त अधिकारी, रामहरि जोशी, डा. रामप्रसाद पोखरेल, भिक्षु ज्ञानपूर्णिक, पुरुषोत्तम शमशेर जबरा, भद्राकुमारी घले आदि छन्। यस गुठीले सम्मानित गरिएका संस्थाहरुमा विश्रान्ती मन्दिर (धनकुटा), नेपाली शिक्षा परिषद्, लोकबाजा सङ्ग्रहालय, अन्त्योदय जनजाति आवासीय विद्यालय (चितवन), मिथिला नाट्यकला परिषद् (जनकपुर) खगेन्द्र नवजीवन केन्द्र, थाई नेपाली सेवा सङ्घ, शिशुसेवा समिति, विराटनगर एकल महिला समूह (काठमाडौं) छन्।

हिन्दु विद्यापीठ नेपालमा अध्ययनरत प्रतिभाशाली एक विद्यार्थीलाई प्रत्येक वर्ष ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार’ पनि २०५६ सालदेखि प्रदान गरिँदै आएको हो। रु. ५,०००।– नगदसहित सम्मान गर्दै आएको उक्त पुरस्कार २०६८ सालदेखि रु. १०,०००।– नगद दिएर सम्मान गर्ने चलन छ। हज्जारौं सङ्ख्यामा शिक्षा, धर्म र साहित्य–कला–संस्कृतिमा संलग्न व्यक्तिहरुको उपस्थितिमा श्रावण ११ गते हुँदै आएको उक्त गुठीको भव्य कार्यक्रम निकै प्रभावकारी देखिँदो छ। समाजसेवक बद्रीविक्रम थापाका स्मृति–विस्मृति (संस्मरणसङ्ग्रह–२०५२), बद्रीविक्रम थापा आफ्नै लेखाइमा (आत्मकथा–२०५२), तथ्य यस्तो छ (टिप्पणी–२०५७), बद्रीविक्रम थापाका अन्तर्वार्ता (अन्तर्वार्तासङ्ग्रह–२०५७), बद्रीविक्रम थापाका उक्तिहरु (उक्तिसङ्ग्रह–२०५८), हाम्रो चिनारी हाम्रो संस्कृति (लेखसङ्ग्रह–२०६२) आदि कृति–सङ्ग्रहहरु र ‘सेवा नेपाल’ वार्षिक मुखपत्र नियमितरुपमा प्रत्येक वर्ष गुठीबाट प्रकाशित हुँदै आएको देखिन्छ। साथै ‘सेवा नेपाल’ मा थुप्रै विद्वान्हरुको विशेष अङ्कहरु तथा ‘उखानभित्रका कथा विशेष’, ‘महाभूकम्प विशेष’ पनि प्रकाशित भएको देखिन्छ।

कर्मयोगीका सुमार्गी सुपुत्र किरण थापाले यस गुठीको संस्थापनमा निःस्वार्थ ढङ्गले पुर्याइरहेको योगदान वाङ्मयिक क्षेत्रमा उल्लेखयोग्य र ऐतिहासिक देखिँदो छ। भाषा–साहित्य, धर्म, समाजसेवामा निःस्वार्थ ढङ्गले समर्पित हुने भावना र चाहना देखाएर किरण थापाले पुर्याउँदै आइरहेको समर्पणका भावधाराहरु महत्वपूर्ण र प्रभावशाली छन्। शताब्दी पुरुष सत्यमोहन जोशीलाई अध्यक्षमा सम्मानपूर्वक राखेर ‘कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी–२०५३’ ले गर्दै आएका कार्यहरु वन्दनीय र प्रशंसनीय छन्।

LEAVE A REPLY