चीन–भारत सीमा तनाब, युद्ध भएमा सम्पूर्ण सीमाना युद्धको चपेटामा आउँछः अखबार



 

बेइजिङ⁄नयाँदिल्ली, (एजेन्सी)
चिनियाँ अखबारहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत र चीनबीच जारी विवादलाई लिएर लोकसभामा दिएको जानकारीलाई झुठो भएको आरोप लगाएका छन्।
बिहीबार विदेशमन्त्री स्वराजले लोकसभामा भारत र चीनबीच जारी तनाबका विषयमा सरकारको धारणाबारे जानकारी दिएकी थिइन्। चीनको अखबार ग्लोबल टाइम्सको चिनियाँ भाषा संस्करणमा विदेशमन्त्रीले भारतीय सासंदहरूलाई झुठो बोलिरहेको र चिनियाँ इलाकामा भारतीय सैनिकले अतिक्रमण गरेको निर्विवाद रूपमा सत्य भएको उल्लेख गरेको छ। भारतको जोखिमपूर्ण कदमले अन्तर्राष्ट्रिय समुदाय अचम्मित रहेको र भारतको उक्त कदमको कुनै पनि देशले समर्थन नगर्ने पनि अखबारले जनाएको छ।

बिहीबार स्वराजले लोकसभामा भनेकी थिइन्– ‘चीनले भारतलाई आफ्नो सैनिक डोकलामबाट फिर्ता बोलाउनुपर्छ भनिरहेको छ। यदि कुनै वार्ता गर्नु छ भने दुवै देशले आ–आफ्नो सेनालाई फिर्ता बोलाउनुपर्छ। भारतका तर्फबाट कुनै पनि अतार्किक कुरा भएको छैन। यो मामिलामा सबै देश हाम्रो साथमा छन्। भुटान जस्तो देशमा चीन यति धेरै आक्रामक भइरहेको छ।’

उनले भनिन्– ‘एक स्थान त्यस्तो छ जसलाई ट्राइ जंक्सन स्पट भनिन्छ र यसलाई लिएर भारत, चीन र तेस्रो देश भुटान मिलेर कुनै पनि कुराको तय गर्ने लिखित सहमति छ। उसको नियत यो पटक यसबाट पछि हट्ने र त्यहाँको यथास्थितिलाई अन्त्य गर्ने हो।’

मुम्बईमा चिनियाँ वाणिज्य दूतावासको पूर्व काउन्सिल जनरल लिउ याउफाले एक अन्तर्वार्तामा अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै सैनिक अर्को देशको सीमा पार गर्छ भने ऊ शत्रु बन्छ र त्यसको तीनवटा नतिजा हुने बताएका थिए। कि त त्यो देशले आफ्नो सैनिकलाई फिर्ता बोलाउनुपर्ने वा ती सैनिकलाई बन्दी बनाइनुपर्ने उनले बताए। यदि स्थिति बिग्रेमा उनीहलाई नष्ट गर्नुपर्ने स्थिति आउने उनले थपे।

यसबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहका (एनएसए) अजित डोभाल ब्रिक्स देशहरूको एनएसएको बैठकमा सहभागी हुन जुलाई २६ मा बेइजिङ पुग्नेछ। डोभाललाई चीन भारत सीमा विवादको विशेष दूतका रूपमा लिएको छ।

चीनको हङकङ ओरिएन्टल डेली न्युजले डोभालको चीन भ्रमण जारी विवादमा भारतका लागि शान्तिको अन्तिम अवसर भएको उल्लेख गरेको छ। यदि यो अवसर हातबाट फुट्केमा युद्ध मात्र एक मार्ग हुने अखबारले लेखेको छ। चीन अगस्ट १ मा सैन्य दिवस मनाउन गइरहेको र पिपुल्स लिबरेसन आर्मीले त्यो दिन आफ्नो शक्ति प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। अखबारले युद्धको आगो डोकलाममा मात्र सीमित नरहेर सम्पूर्ण सिमाना यसको चपेटामा आउने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्