अमेरिकीलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध



 

वासिङ्टन, (एजेन्सी)
उत्तर कोरिया भ्रमणको चाँजोपाँजो मिलाउने दुईवटा निकायले शुक्रबार संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमाथि प्रतिबन्ध लगाउन लागेको जनाएका छन्। कार्यो टुर्स र योंग पायोनियर टुर्सले आगामी २७ जुलाईमा घोषणा हुने सो प्रतिबन्ध त्यसको तीस दिनपछि कार्यान्वयन हुने जनाएका छन्।

अमेरिकाको उत्तर कोरियाली मामिला हेर्दै आएको स्विडेनी दूतावासले तिनीहरूलाई यसबारे सूचित गरेको बताइएको छ। अमेरिकाले औपचारिक रुपमा उक्त प्रतिबन्ध योजनाबारे अझैसम्म केही जानकारी दिएको छैन।

तर उत्तर कोरियामा थुनिएका अमेरिकी विद्यार्थी ओटो वार्मवियरको निधन भएयता अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै चिसिएको छ। वार्मवियर योंग पायानियर टुर्सकै सहयोगले प्योङयाङ पुगेका थिए।

सन् २०१६ मा एउटा प्रोपोगान्डा साइन चोर्ने प्रयास गरिरहँदा पक्राउ परेका उनलाई १५ वर्ष लामो कारावास सजाय सुनाइएको थियो। गत जुन महिनामा अचेत अवस्थामा अमेरिका फर्काइएको एक सातापछि नै उनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्