कुशेको बृहत् सरसफाइ अभियान, कुचो समाएर फोहोर टिप्दै गाउँपालिका अध्यक्ष



 

दीपेन्द्र शर्मा, जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकालाई सफा, स्वच्छ र पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउन बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। सफा र स्वच्छ गाउँपालिका घोषणा गर्न बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका विभिन्न वडामा भएको फोहोरलाई व्यवस्थापन गरी गाउँपालिकाबासीलाई स्वस्थ बनाउन कुशे गाउँपालिकाले दैनिकरूपमा सरसफाइ गर्न गाउँपालिकास्तरीय बृहत् सरसफाइ अभियान थालेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको नेतृत्वमा बिहीबार गाउँपालिकाको केन्द्र बाटुलेबजारबाट सरसफाई अभियानको सुरुआत गरिएको छ।

सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सफा र सुन्दर गाउँपालिका बनाउनका लागि घर आँगन र सार्वजनिक स्थान भएको फोहोरलाई उचित व्यवस्थापन गर्न र जथाभावी फोहोर नफाल्न बजारबासीलाई आग्रह गरे। सबैभन्दा पहिला नागरिकको स्वास्थ्य ठीक हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले सरसफाइमा ध्यान दिनुपर्ने बताए। ‘आजैदेखि सबै वडाका जनप्रतिनिधिहरू तथा कर्मचारीले आफ्नो वडामा पहिलो काम भनेको स्वास्थ्य र सरसफाइ बनाउन आग्रह गर्दछु, हामी सबै मिलेर गाउँपालिकालाई सफा र स्वस्थ गाउँपालिका बनाऔं’ –उनले भने। विगतमा सरसफाइमा ध्यान नदिँदा सयौं नागरिकले ज्यान गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष बस्नेतले सबै नागरिकले अभियानलाई सार्थक बनाउनुपर्ने बताए। गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउन योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीको पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाइ र वातावरणीय सरसफाइमा सबैले विशेष ध्यान दिनुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ।

गाउँपालिकाको केन्द्रबाट शुरू गरिएको अभियान सबै वडामा नियमित सञ्चालन हुने गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्षहरू तथा कर्मचारीहरू हातमा कुचो समातेर फोहोरहरू टिप्दै बजार सरसफाइमा लागेपछि स्थानीयहरू पनि स्वतःस्फुर्त रूपमा सरसफाइ अभियानमा सहभागी हुने गरेको कार्यकारी अधिकृत भण्डारीले बताए। सरसफाइको क्षेत्रमा गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउने गरी कार्ययोजना निर्माण गरेको भण्डारीले बताए।

बृहत् सरसफाइ अभियानमा गाउँपालिकाका उपाध्यक्ष रामछाया शाही, गाउँपालिका कार्यकारी अधिकृत थानेश्वर भण्डारी, नौवटै वडाका वडा अध्यक्ष तथा सदस्यहरू, नागरिक अगुवा, पत्रकार, शिक्षक, विद्यार्थी, व्यापारी, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरू, विषयगत कार्यालयका प्रतिनिधिहरू, प्रहरी, वडा सचिवलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्