नारायण पौडेल मृत्यु प्रकरण, प्रहरीले पठायो मुद्दा बागलुङ



 

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको छानविनका लागि पर्वतले बागलुङ जिल्ला प्रहरी कार्यालयमा मिसिल पठाएको छ।

पर्वत प्रहरीले लामो छानविनबाट पर्वतमा घटना घटेको कुनै प्रमाण फेला पार्न नसकेको भन्दै लास भेटिएको स्थल बागलुङमा नै अनुसन्धान गर्न मिसिल बागलुङ पठाएको हो।

पर्वतको कुस्मा नगरपालिका–१ पाङ घर भएका शिक्षक पौडेल गत जेठ २५ गतेदेखि बेपत्ता बनेका थिए। उनको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका–८ बेलबगरस्थित कालिगण्डकी नदी किनारमा फेला परेको थियो।
पर्वत प्रहरीले दिएको जानकारीअनुसार पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्तलगायतका कागजातहरू पर्वत प्रहरीमा प्राप्त भएकाले अनुसन्धान गरिरहेको भए पनि हालसम्मको अनुसन्धान तथ्य र प्रमाणसहित बागलुङ नै पठाइएको बताइएको छ।

पर्वत प्रहरीले बागलुङ जिल्लाबाट यस कार्यालयमा प्राप्त हुन आई जिल्ला सरकारी वकिल कार्यालय पर्वतको रायबमोजिम यस कार्यालयबाट अनुसन्धान भई आएकोमा हालसम्मको अनुसन्धान तहकिकात तथा उपलब्ध तथ्य, प्रमाणबाट यस जिल्लाअन्तर्गत वारदात स्थल पुष्टि हुन नआएको हुँदा शव फेला परेको स्थानलाई घटनास्थल मानिने मुलुकी ऐन अदालती बन्दोबस्तीको २९ नं. को ९२० अनुसार सोही इलाकाको अड्डाबाट हेर्नुपर्छ भनी उल्लेख भएको हुँदा सोही अनुसार गर्नु हुन भनी जिल्ला सरकारी वकिल कार्यालय पर्वतको राय प्राप्त हुन आएपछि पक्राउ परेका प्रतिवादीहरू र सक्कल मिसिलसमेत थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको बताएको छ।

शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र २ जना अभिभावकसहितको मिलेमतोमा हत्या भएको भन्दै छानविनका लागि जाहेरी दिएको थियो। पर्वत प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर छानविन गरिरहेको भए पनि कुनै तथ्य फेला पार्न सकेको थिएन।

मृतक पौडेलको पोस्टमार्टम रिपोर्टमा घाँटीमा जोडपूर्वक लागेको धारिलो वस्तुको चोटबाट मृत्यु भएको बताइए पनि कुन कारण कसले घाँटीमा धारिलो वस्तु प्रयोग गर्यो भन्ने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्