घरमै भत्ता पाउँदा जेष्ठ नागरिक खुसी



 

नेपाल समाचारपत्र
जाजरकोट
कुशे गाउँपालिका–५ की ७४ वर्षीया कमला खत्री जहिले पनि जेष्ठ नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता लिनका लागि सकिनसकी साविकको गाविस कार्यालय ढिमेमा जान्थिन्। बुढेसकालमा हिँड्न नसक्ने कमला खत्रीलाई एक जना साथी नभई हुँदैनथ्यो। दिनभरि हिँडेर हैरान हुने कमला धौधौ आफ्नो घर फर्किन्थिन्। यो पटक भने उनलाई घर छोडेर जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षाको भत्ताको लागि कतै जानुपरेन।

कुशे गाउँपालिकाले गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई घरमै बुझाउने नीतिअनुरूप गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत कमलाको घरमै गएर उनले पाउने ८ हजार रकम बुझाएका छन्। आफ्नो घरमै गाउँपालिकाका अध्यक्षबाट जेष्ठ नागरिक भत्ता पाएपछि खुसी भएको खत्रीले बताइन्। ‘पहिला पहिला कहिलेकाहीं पाइँदैनथ्यो, पाए पनि धेरै समय कुर्नुपर्ने हुन्थ्यो, अहिले घरमै पैसा पाइयो, सधैंभरि आफूहरूलाई यसरी नै जेष्ठ नागरिक भत्ता घरमै दिए धर्म लाग्ने थिया’ –उनले भनिन्। गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षाको रकम नियमित रूपमा घरमै पुर्याएमा जेष्ठ नागरिकहरूप्रतिको सम्मान हुने कमलाले बताइन्।

कुशे गाउँपालिका–५ कै जल्दरा सिंह पनि घरमै सामाजिक सुरक्षाको पैसा पाउँदा निकै खुसी भएको बताउँछिन्। ‘राज्यले माया गरेर दिएको रकम जनप्रतिनिधिले घरमै पुर्याउँदा सजिलो भएको छ, यस्तो व्यवस्था मिलाउने गाउँपालिकाका अध्यक्षलगायत सबैप्रति धन्यवाद दिन चाहन्छु –उनले भनिन्।

विगतका समयभन्दा फरकपन दिन र नागरिकहरूलाई प्रत्यक्ष राहतको महसुस गराउनका लागि सामाजिक सुरक्षा भत्ताबापतको रकम घरमै पुगेर सम्बन्धित व्यक्तिलाई बुझाउने गरेको कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। ‘विगतका वर्षहरू नजिकको आफन्त तथा नातेदारले बुझेर सम्बन्धित व्यक्तिलाई नदिने, जेष्ठ नागरिकको उपचार तथा अन्य सेवाका लागि दिइने भत्ताबापतको रकम अन्यत्र खर्च हुने गरेको जनगुनासो आयो, यसले गर्दा सम्बन्धित व्यक्तिभन्दा अरूले खर्च गर्ने चलन बढेको र उनीहरूको हातमा नपर्ने देखिएकाले यो पटकदेखि हामीले सबैको घरघरमा गई सम्बन्धित व्यक्तिलाई दिने योजनाअनुसार सबैलाई घरमा गएर वितरण गरेका छौं’ –उनले भने। दलित बालबालिकाले पाउने रकम आमा र बाबुलाई दिने र यसबाहेक जसको नाममा रकम निकासा हुन्छ उसलाई मात्रै बुझाइने अध्यक्ष बस्नेतले बताए।

गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिक अन्यलाई प्रति महिना १ हजार उपचार खर्चसहित २ हजार, दलित जेष्ठ नागरिकलाई १ हजार, एकल महिलालाई १ हजार, विधुवा महिलालाई १ हजार, पूर्ण अपांगलाई २ हजार, आशिंक अपांगलाई ६ सय, पाँच वर्षमुनिका दलित बालबालिकालाई ४ सयका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कुशे गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए।

३ सय १ जना जेष्ठ नागरिक, १ सय ६० जना दलित जेष्ठ नागरिक, १ जना एकल महिला, ४ सय ७८ जना विधुवा महिला, २१ जना पूर्ण अपांग, १४ जना आशिंक अपांग, १ हजार २३ जना पाँच वर्षमुनिका दलित बालबालिका गरी १ हजार ९ सय ९८ जनालाई २०७३ चैतदेखि २०७४ असारसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कार्यकारी अधिकृत भण्डारीले बताए।

जनप्रतिनिधिहरूले गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकलाई उनीहरूले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता बुझाउन घरदैलोमा पुग्ने गरेका हुन्। गाउँपालिकाभित्र भएका जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता बुझाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीहरू गाउँगाउँमा पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्