बल्ड्याङ खाँदै लेखान्त



 

सन्तोष खनाल
लोकप्रिय हास्य टेलिश्रृंखला मेरी बास्सैको घिरौले पात्रबाट चिनिने हास्यकलाकारको नाम हो लेखान्त भुसाल केही वर्षदेखि कलाकारीतामा सकृय छन्। उनले अभिनयको माध्यमबाट छोटै समयमा तारिफ पनि बटुलेका छन्।
छोटै समयमा आफूलाई मेरी बास्सै, भद्रगोललगायतका टेलिसिरियलमा जम्न सफल उनी म्युजिक भिडियोमा समेत देखिँदै आएका छन्। पछिल्लो पटक नायिका प्रियंका कार्कीले अभिनय गरेको सिनेमा बटरफ्लाईमा डाक्टरको भूमिका निर्वाह गरेका उनी दाङको देउखुरी मौरीघाटमा २०४८ सालमा जन्मिएका हुन्। सानैदेखि कलाकारीतामा रुचि राख्ने उनको एसएलसी दिंदासम्म बुबालाई देख्दा सातो जान्थ्यो। बुबासंगको लामो दुरीमा पनि छुट्टै माया पाएका लेखान्तले एसएलसीपछि बुबाको माया गुमाए। बुबाको निधनपछि परिवारप्रतिको जिम्मेवारी निर्वाह गर्न पैसाको जोहो गर्ने उद्देश्यले ३ महिना भारत बसे र फर्केर प्लस टु भर्ना भए।

 

नाटक, सडक नाटक, कचहरी नाटक, लघुनाटक तथा रेडियो नाटकहरुमा आफूलाई केन्द्रित गर्दै लगेका उनले क्याम्पस पढ्ने क्रममै बीबीसी नेपाली सेवाबाट प्रसारण हुने कथा मिठो सारंगीकोमा अभिनय गर्ने मौका पाएका थिए। जसमा अभिनय गरेबापत उनले पहिलो कमाइवापत ६ हजार रुपियाँ पाएका थिए। उच्च रुचि र कलाकारीताप्रतिको लगावले उनलाई ठुलो पर्दाको सिनेमामा तान्न थाल्यो। पहिलोपटक वीर नामक नेपाली सिनेमा अभिनय गरेका उनलाई प्रहरीको छोटै भूमिकाले पनि सिनेकर्मीको नजिक बनायो। त्यसपछि उनले बाचा, काली, मेन्टल, रङ वे, सरकार र पछिल्लोपटक बटरफ्लाई लगायतका सिनेमामा सहायक भूमिका निर्वाह गरे। पछिल्लो समय धुर्मुस सुन्तली फाउन्डेसनसंग जोडिएर उनले ज्योती, हरियो बिल्ला, गज्जब छ बालगायतका छोटा सिनेमामा पनि काम गरेका छन्। ३ वर्षदेखि धुर्मुस सुन्तलीको छायामा बसी सामाजिक काममा लागिरहेका उनले पहरी बस्ती, गिराञ्चौरदेखि मुसहर वस्तीसम्मको व्यवस्थापन र आर्थिक पाटो सम्हाल्दै आएका छन्। हाल उनी लेखन तथा निर्देशनमा यु ट्युबबाटै अचम्मै भो नामक हांस्य टेलिश्रृंखला पस्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस्