सांगीतिक तर्कना सार्वजनिक



 

गीतकार काजीराज शाक्यको चौथो गीति अडियो सीडी एल्बम तर्कना बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

विन्ध्यवासिनी म्युजिक प्रालिको उत्पादनमा सार्वजनिक गरेको एल्बमको नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्त (भक्त श्रेष्ठ), विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मी र संगीतकार हरिशरण सायमीले विमोचन गरेका थिए।

दश गीत रहेको एल्बममा शब्द शाक्यको छ भने संगीत स्वयम् शाक्य र हरिशरणले भरेका छन्। एल्बमको आँगनभरि चिसो चिसोमा गायिका मिलन अमात्य, आगो छ अँगेनी छमा गायक हरि सायमी, कति सम्हालु कति अँँगालुमा गायिका निशा देशार, धुवाँ धुवाँ नभई जाऊमा गायक यम बराल, बोझ भइदिन्छमा गायिका अञ्जु पन्त, अचम्मको छ मानिसको जीवनमा गायिका संगीता थापा शाक्य, दोष के भनी दिऊँ तिमीलाईमा गायक रामकृष्ण ढकाल, किन हुन्छ चाहमा आनन्द कार्की, जति खायो उति मीठोमा संगीता राना प्रधान र नरम बोली बोल्छुमा गायक रविन शर्माको स्वर रहेको छ।

कार्यक्रममा दश गीत केही अंश समेटेर तयार पारिएको अडियो क्लिप र एल्बमको पहिलो नम्बरमा रहेको आँगनभरि चिसो चिसोको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। म्युजिक भिडियोमा अनु शाह र मोक्षलाई देख्न सकिन्छ। ‘एल्बममा मनमा उठ्ने अनेक तर्कनाहरूलाई सँगालेर जीवनका गहन यथार्थहरूको चित्रण गरिएको छ’ –एल्बमबारे सरुभक्तले भने। त्यस्तै विन्ध्यवासिनीका प्रबन्ध निर्देशक रेग्मीले नेपाल सांगीतिक क्षेत्रमा व्यवस्थापन र वितरणमा अनियमितता र फितलोपना रहेका कारण स्रष्टाहरू सुविधा र अधिकार प्राप्त गर्न वञ्चित रहेको औंल्याउँदै विन्ध्यवासिनी सदैव कलाकार र स्रष्टाको हकहितका लागि लागिपर्ने बताए। गीतकार शाक्यले एल्बममा रहेका गीतहरूबारे चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्