महानगरले धरहरा र काष्ठमण्डप पुनर्निर्माण गर्ने



 

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुनर्निर्माण गर्ने बताउनुभएको छ। उहाँले स्थानीय जनताको सहयोगमा काष्ठमण्डपको पुनर्निर्माण महानगरले नै गर्ने बताउँदै यसका लागि तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘कामपाको जिम्मेवारीमा रहेको काष्ठमण्डप स्थानीय जनताको सहयोगमा कामपाले निर्माण गर्नेछ।’ यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका तथा काष्ठमण्डप पुनर्निर्माण अभियानबीच भएको सम्झौतामा काष्ठमण्डप पुनर्निर्माण अभियानले निर्माण गर्ने समझदारी भएको थियो।

तर उक्त समझदारीको विषयमा प्राधिकरणसँग सल्लाह लिएर अघि बढ्ने कामपाले जनाएको छ। मेयर शाक्यले बताउनुभयो– ‘कसले बनाउने भन्ने विषयमा कुनै प्रश्नै उठ्दैन, यो महानगरबासीको सम्पत्ति हो। महानगरपालिका आफैले बनाउनेछ।’ उहाँले अभियानमा रहेका सबैसँग छलफल गरेर उहाँहरूकै सहयोगमा काष्ठमण्डप पुनर्निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।

कामपाको गत असार ३० गते सम्पन्न नगरसभाको नीति तथा कार्यक्रममा काष्ठमण्डप र धरहरा महानगरपालिका आफैले पुनर्निर्माण गर्ने निर्णय गरेको थियो। सभाले निर्णय गरे पनि प्राधिकरणले अभियानसँग समझदारी गरेपछि अब के गर्ने भन्ने अन्योल भएको छ।

काठमाडौं मानगरपालिकाका पूर्वमेयर केशव स्थापितले काठमाडौंबासीको सम्पत्ति भएकाले यसको पुनर्निर्माण कामपाबाटै हुने दाबी गर्नुभयो। स्थानीय जनतासँग छलफल गरी काष्ठमण्डप पुनर्निर्माण तत्काल गर्र्नेे अभियानमा लाग्नुभएका पूर्वमेयर स्थापितले विदेशीको एक रुपियाँ सहयोग नलिई कामपा आफैले पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कामपा र महानगरबासी आफै सक्षम भइरहेको अवस्थामा विदेशीको सहयोगमा काष्ठमण्डप पुनर्निर्माण गर्ने प्रश्नै आउँदैन।’

उहाँले प्राधिकरणमा चार निकायबीच भएको सम्झौता पुनर्विचार गरी कामपाले तत्काल धरहरा पुनर्निर्माण अभियानको आरम्भ गर्नुपर्ने बताउनुभयो। अभियान, स्थानीय जनता र पूर्वमेयर स्थापितसहित शुक्रबार बसेको बैठकले तत्काल काष्ठमण्डप पुनर्निर्माण गर्ने सहमति भएको थियो। ठेक्कबाट भन्दा पनि कामपा आफैको संलग्नता र स्थानीयको सहभागितामा सो सम्पदा निर्माण गरिनुपर्नेमा एक मत देखिएको थियो। पूर्वमेयर स्थापितले देश नै हेर्नुपर्ने प्राधिकरणले काष्ठमण्डपको चिन्ता लिनु जरुरी नभएको टिप्पणी गर्नुभयो। उहाँले सम्झौता गर्दा कामपामा कर्मचारी थिए, अहिले स्थानीय जनप्रतिनिधि आइसकेका छन्, अब महानगर क्षेत्रभित्रको सबै पुनर्निर्माणको जिम्मा महानगरले लिने बताउनुभयो।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले कसले बनाउने भन्दा पनि तत्काल काम थालनी हुनुपर्ने बताउनुभयो। उहाँले अभियानसँग सम्झौता हुँदा मुख्य दायित्व बोकेको काठमाडौं महानगरपालिकाको नेतृत्वमा कर्मचारी थिए। अहिले स्थानीय जनप्रतिनिधि आइसकेको अवस्थामा अब कसरी पुननिर्माण गर्ने भन्ने विषयमा पुनः छलफल गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अभियानले बनाउने भन्ने सम्झौता भएको थियो तर स्थानीयको कारण विवाद देखियो, अब के गर्ने भन्ने विषयमा हामी सम्बन्धित निकायसँग छलफल गर्नेछौं।’

काण्ठमण्डप पुनर्निर्माणमा विवाद देखिएपछि तत्काल पुनर्निर्माण रोक्न माग गर्दै स्थानीयले काष्ठमण्डम छिर्ने गेटमा तालाबन्दीसमेत गरेका छन्। कामपाको सम्पत्तिको रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माण गर्न महानगरपालिकाले १९ करोड रुपियाँको टेन्डर आह्वान गरिसकेको थियो। काठमाडौंलाई परिचय दिने काण्ठमण्डप २०७२ सालको शक्तिशाली भूकम्पबाट ध्वस्त भएको थियो।

सातौ शताब्दीको भनिएको सो काण्ठमण्डपको पूर्ण अध्ययन बेलायतको दुरहाम विश्वविद्यालयले र नेपालको पुरातत्व विज्ञबाट भएको थियो।

कसले पुनर्निर्माण गर्ने ? भन्ने विषयमा पटकपटक विरोध भएपछि स्थानीय जनताको सहयोगमा वीरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा काष्ठमण्डप पुनर्निर्माण अभियान गठन भई जनताबाटै धरहरा बनाउने भन्दै प्राधिकरणलाई समेत पत्राचार गरेको थियो। त्यस लगत्तै यही वैशाख २९ गते प्राधिकरण, विभाग, काठमाडौं महानगरपालिका र अभियानको तर्फबाट अभियानलाई नै बनाउन दिने गरी समझादारी भएको थियो।

अभियानका संयोजक श्रेष्ठले जनसमुदायबाटै काण्ठमण्डप बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘अभियान आफैंले बनाउने भनेको होइन, हामीले ठेक्काप्रथाको विरोध जनाएका हौं, ठेक्कामा हामी कुनै पनि हालतमा पुनर्निर्माण गर्न दिदैनौं। समझारीअनुसार अब काण्ठमण्डपको पुनर्निर्माण सहभागितामा सबैलाई अपनत्व हुनेगरी दुई अभियानलेनै गर्ने छ। उता ५० वर्षका लागि महानगरको स्वामित्वमा आएको धरहरा पनि महानगर आफैंले पुनर्निर्माण गर्ने जनाएको छ। कामपाका मेयर शाक्यले हाम्रो सम्पत्तिका रुपमा रहेको धरहरा महानगरले नै पुनर्निर्माण गर्ने तयारी गरेको बताउनुभयो। पुरातत्व विभागले धराहरा पुनर्निर्माण गर्ने चहाना नेपाल टेलिकमले राखेपछि त्यसैलाई दिने अन्तिम तयारी गरेको छ। नेपाल टेलिकमले पुनर्निर्माण गर्ने चारो देखाएपछि उसैलाई दिने तयारी गरेका छौं–पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले भन्नुभयो।

२०७३ पुस २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा बसेको बैठकले धरहरा पुनर्निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको थियो अर्थ, गृह,संस्कृति, शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा संचार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, नेपाल टेलिकम,गोश्वारा हुलाकसहितको बैठकले धरहरा निर्माणसम्बन्धी ड्रइङ, डिजाइन लगायतका कागजात नेपाल टेलिकमलाई दिने, सम्झौतामा देखिएका समस्या समाधान गर्न कामपाले पहल गर्ने लगायत ६ बुँदे निर्णय भएको थियो। सोही निर्णयअनुसार नेपाल टेलकमले प्रकृया अघि बढाउने गृहकार्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्