दुर्लभ सालकलाई रानीको काख



 

नेपाल समाचारपत्र
हेटौंडा
जिल्ला वन कार्यालय मकवानपुरले दुर्लभ एवम संरक्षित सूचीमा रहेको सालकलाई हेटौंडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई संरक्षणका लागि बुझाएको छ।

उक्त सालक साउन २ गते हेटौंडा–२, सिद्धार्थरोडमा कृपाल मरहठ्ठाले फेला पारेपछि सोही ठाउँका नारायण लम्सालले जिल्ला बनलाई खबर गरेका थिए। २ दिन जिल्ला वनले राखेपछि बिहीबार रानी वनलाई संरक्षणका लागि बुझाइएको हो।

करिब १ वर्षको भाले जातको खरानी रंगको सालक करिब १८ इञ्च लामो छ। प्रायः राति हिँड्ने भएकाले आमाबाट छुट्टिएर आएको हुनसक्ने जिल्ला वनको भनाइ छ। सालकलाई रानी सामुदायिक बनको ब्लक नं. ३ मा छाडिएको समूह पूर्वअध्यक्ष बलराम अधिकारीले बताउनुभयो।

सालकलाई जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले समूहका कार्यालय सचिव भीमसेन पौडेललाई उपभोक्ताको रोहवरमा बुझाएका थिए। रानी सामुदायिक वनले १२ वर्षदेखि सालक संरक्षण र यसको प्रचारप्रसार गर्दै आएको उपभोक्ता केदार अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्