एम्बुलेन्स हस्तान्तरणसँगै आयो छक्कापञ्जा २ को गीत



 

हास्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनाइएको फिल्म छक्कापञ्जाले गत साल वर्षकै सर्वाधिक कमाइ गरेपछि त्यसैको सिक्वेलका रूपमा बनाइएको अर्को फिल्म छक्कापञ्जा २ को पहिलो गीतको रूपमा ए दाजु नसमाऊ बोलको गीत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। यसअघिको छक्कापञ्जा लोकप्रिय भएको र राम्रो कमाइ गरेको अवसरमा पनौती अवस्थित उर्गेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स प्रदान गर्न गरिएको वाचा पूरा गर्दै एम्बुलेन्स हस्तान्तरण गर्दै सो गीत सार्वजनिक गरिएको हो।

अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वरमा सजिएको गीतमा संगीत प्रिन्स र अल्मोडा रानाले नै भरेका छन्। गीतको शब्द भने प्रिन्स र फिल्मकै कलाकार दीपकराज गिरीले लेखेका छन्। गीतको भिडियोमा जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का र स्वरूप पुरुष ढकालले अभिनय गरेका छन्।

फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, बुद्धि तामाङलगायत पनि मुख्य भूमिकामा छन्। दीपकराज गिरी, दीपाश्री निरौलालगायत निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन्। कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपीन मल्लको सम्पादन र दीर्घ गुरुङको छायांकन रहेको छ। असोज ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको सार्वजनिक गरिएको गीतका बारेमा बोल्दै दीपकराज गिरीले यसलाई ट्राभल सङका रूपमा लिइएको बताए।

प्रतिक्रिया दिनुहोस्