रुपन्देहीमा युवती कुट्ने ५ जनाविरुद्ध ज्यान मार्ने मुद्दा, प्रहरी निरिक्षकलार्ई पनि विभागीय कारबाही



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएकोे छ भने प्रहरी निरिक्षकलार्ई विभागीय कारबाही भएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवतीमाथि निजका परिवारले निर्घात कुटपिट गरेको र प्रेमगर्ने युवकसंग एकलाख जरिवाना लिएको भन्दै रुपन्देही प्रहरीले घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।

घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनु भयो । साथै इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको धानुकले जानकारी दिनु भयो ।

उहाँका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

प्रहर िनिरिक्षक सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती निर्घात कुटिएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका थिए ।

यस काममा मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतको सहभागीता थियो ।

 

प्रतिक्रिया दिनुहोस्