डोटीमा ६६ करोड भन्दा बढी बजेट फ्रिज



नेपाल समाचारपत्र, डोटी ।
डोटीमा आर्थिक वर्ष २०७३÷०७४ का लागि आएको कुल वार्षिक बजेट मध्ये ६६ करोड ४० लाख फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारी अनुसार गत असार २१ गतेसम्म पुँजीगततर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएकोमा असार मसान्तसम्म ७८.७९ प्रतिशत खर्च भएको देखिएको छ । पुँजीगततर्फ १ अर्ब ८२ करोड ६४ लाख २५ हजार ८ सय ८८ रकम बिनियोजन भएको थियो ।

कोष तथा लेखा नियन्त्रक ईश्वर कुमार श्रेष्ठका अनुसार चालूतर्फ २७ करोड ६७ लाख ४१ हजार दुई सय ३२ र पुँजीगततर्फ ३८ करोड ७३ लाख ४८ हजार पाँच सय तीन रकम फ्रिज भएको छ । त्यस्तै चालूतर्फ ६.५३ र पुँजीगततर्फ २१.२१ प्रतिशत फ्रिज भएको भएको छ । कुल बजेटको ८९ प्रतिशत रकम मात्र खर्च भएको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७२÷०७३ मा डोटी जिल्लामा कुल वजेटको ९० प्रतिशत खर्च भएको थियो । यस वर्ष डोटीमा ११ करोड ३७ लाख ८९ हजार ३ सय ९१ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा जिल्लाका लागि चालूतर्फ ४ अर्व, २३ करोड ८३ लाख ४८ हजार पाँच सय ४३ समेत गरी ६ अर्व ६ करोड ४७ लाख ७४ हजार ४ सय ३२ रुपैयाँ बजेट बिनियोजन भएको थियो । त्यसमध्ये चालूतर्फ ३ अर्व ९६ करोड १६ लाख ७ हजार तीन सय १० र पुँजीगततर्फ १ अर्व ४३ करोड, ९० लाख ७७ हजार ३ सय ८४ गरी ५ अर्व ४० करोड ६ लाख ८४ हजार ६ सय ९५ रुपैयाँ खर्च भएको छ ।

असार २१ गतेसम्मको तथ्यांक अनुसार पुँजीगततर्फ ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी थियो । तर, १० दिनमै पुँजीगततर्फको रकम ३० करोड ९७ लाख ७५ हजार चार सय ९७ खर्च भएको छ । यस्तै सो अवधीमा चालूतर्फ ३८ करोड ६८ लाख, ६३ हजार सात सय ६८ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्