गाउँपालिकाको जस्ता उप्काएर फरार



हेटौंडा,(नेस) । मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका–१, सरिखेतमा रहेको निर्माणाधीन वडा कार्यालयको जस्तापाता निकालेर युवाहरु फरार भएका छन् । करिब पाँच लाख रुपियाँ लागतमा निर्माणाधीन वडा कार्यालयको दुई कोठे ट्रष्टको जस्तापाता निकालेर सोही स्थानका युवाहरु फरार भएको वडा अध्यक्ष कान्छा रुम्बाले जानकारी दिए ।

मदन लामा र सन्तकुमार रुम्बाको नेतृत्वमा आएका सुरेश भ्लोन, विवेक थिङ र ध्वस्त गोलेसहित टोलीले ट्रष्टको आधाभन्दा बढी जस्तापाता निकालेको बताइएको छ । उनीहरुले मंगलबार साँझ करिब पाँच बजे १२ वटा जस्तापाता निकालेर लिएर गएको वडाअध्यक्ष रुम्बाले बताए । ‘ट्रष्टबाट जस्तापाता निकालेर लिएर फरार भएका छन्’, वडा अध्यक्ष रुम्बाले भने–स्थानीले प्रतिबाद गर्न खोजेपछि उनीहरु १२ वटा जस्तापाता लिएर फरार भए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीलाई जानकारी गराइएको छ । ‘हामीले साविक वडा कार्यालय हिँडेर पाँच घण्टामा पुग्ने स्थानबाट सारेर दैलोमै कार्यालय स्थापना गरिदिएका छौं । जनतालाई दिएको सेवालाई देख्न नसकेर यस्तो कदम चालिएको हो’, वडा अध्यक्ष रुम्बाले घटनामा संलग्नलाई कारबाहीका लागि सम्बन्धित पक्षमा अनुरोध गरिएको बताए ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घटनाको भत्सर्ना गरेका छन् । उनले घटनामा संलग्नलाई कारबाही माग गरेका छन् । ‘वडा कार्यालयको जस्तापाता लैजानु गैरकानुनी हो’, अध्यक्ष मल्लले भने ।
मल्लका अनुसार दुई कोठे ट्रष्ट गाउँपालिकाको पाँच वटा वडामा निर्माण भइरहेका छन् । असारको पहिलो साता ट्रष्ट निर्माण थालिएको थियो । ‘कोठा भाडामा लिनुभन्दा ट्रष्ट निर्माण गर्नु सस्तो पर्ने भएकाले निर्माण गरेका हौं’, मल्लले गाउँपालिकाको सवै वडामा आफ्नै भवन बनाउने योजना रहेको बताए । साविक खैराङ, राक्सिराङ, सरिखेत र काँकडा मिलाएर राक्सिराङ गाउँपालिका बनाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्