शेयर बजार फेरि खस्कियो



 

नेपाल समाचारपत्र
काठमाडौं
साताको शेयर कारोबार हुने अन्तिम बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नयाँ आर्थिक वर्ष २०७४⁄७५ को शुरूदेखि नै उकालो लागेको शेयर बजारमा बुधबार र बिहीबार भने सामान्य अंकले खस्किएको हो।

बिहीबार १ हजार ६ सय ३७ दशमलव २७ अंकबाट शुरू भएको बजारमा आरोह तथा अवरोहपछि आउँदा अन्ततः बजार परिसूचक १ हजार ६ सय ३५ दशमलव ७५ अंकमा रोकियो। बिहीबार शेयर बजार शुरूदेखि नै अस्थिर देखिएको थियो तर पौने १ बजेदेखि बजार निरन्तर ओरालो लाग्यो। दिउँसो पौने ३ बजेतिर बजारले सुधारको संकेत देखाए पनि बजार फेरि ओरालो लाग्यो।

परिसूचक घटेसँगै बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य ९ अंकले घटेर ३ सय ४७ दशमलव ४५ को बिन्दुमा पुगेको छ।

परिसूचकमा सामान्य करेक्सन आएसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ। बुधबार १ अर्ब १७ करोड ६१ लाख ८ हजार १३८ रुपियाँको शेयर किनबेच भएको बजारमा बिहीबार १५५ कम्पनीको ९६ करोड ७ लाख ३८ हजार ४०६ रूपैयाँको शेयर खरिदबिक्री भएको छ।

बजार परिसूचक घट्दा बिहीबार कारोबार रकममा पनि गिरावट आयो। बिहीबार बजारमा ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपियाँको कारोबार भए। यसक्रममा ८ हजार ७ सय २७ कारोबारमार्फत् १ सय ५५ कम्पनीका १७ लाख ७५ हजार ९ सय ८९ कित्ता शेयर खरिद बिक्री भएका छन्। अघिल्लो दिन बजारमा १ अर्ब १८ करोडभन्दा बढीको कारोबार भएको थियो।

शेयर परिसूचक घट्दा बिहीबार कारोबारमा आएका ८ मध्ये ४ समूहका परिसूचकमा सुधार आए। बढ्नेमा बीमा समूह सर्वाधिक ७७ दशमलव ४ अंकले बढ्यो। त्यस्तै उत्पादनमूलक र वित्त समूह क्रमशः १३ दशमलव ४७ र १ दशमलव २८ अंकले बढे।

गिरावटमा आउनेमध्ये होटल समूह सर्वाधिक १६ दशमलव ४४ अंकले घट्यो। त्यस्तै जलविद्युत्, बैंकिङ समूह र विकास बैंक समूह क्रमशः ११ दशमलव ३१, ५ दशमलव ४४ र ३ दशमलव ८९ अंकले ओरालो लागे।

साताका अघिल्ला दिन झैं बिहीबार पनि बीमा कम्पनीको कारोबार उच्च रह्यो। बिहीबार उच्च कारोबार गर्ने शीर्ष ४ कम्पनी बीमा समूह रहे। रकमको आधारमा उच्च कारोबार हुने १० कम्पनीमँ बीमा समूहबाट ६ वटा परेका छन्। मूल्य वृद्धिको आधारमा पनि प्रमुख १० मा पनि ५ बीमा कम्पनी रहेका छन्।

बिहीबार बीमा समूहमा पर्ने नेपाल लाइफ इन्स्योरेन्स र नेको लाइफ इन्स्योरेन्सका क्रमशः ६ करोड १५ लाख र ५ करोड ५४ लाखको कारोबार भए। नेको लाइफ इन्स्योरेन्सले बुधबार मात्रै पुँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरेको थियो।

बीमा कम्पनीहरूले हकप्रद र बोनसमार्फत् आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने योजना बीमा समितिमा पेस गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित भएका हुन्। बीमा समितिले पुँजी वृद्धिको योजना माग गर्दा अधिकांशले हकप्रद र बोनस वितरण गर्ने प्रस्ताव पेश गरेका छन्।

बिहीबार हाम्रो विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाए। कम्पनीको शेयर मूल्य ८ दशमलव २३ प्रतिशतले बढ्दँ सिनर्जी फाइनान्सका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ६ प्रतिशत गुमाए।

बजार कर्जायोग्य लगानीको अभाव अन्त्य भइनसकेको कारण ठूला लगानीकर्ताले खरिदारी बढाउन सकिरहेका छैनन्। यसैकारण मंगलबार करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा बिहीबार भने ९६ करोडको मात्रै शेयर कारोबार भएको जानकारको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्