इन्धन भण्डारण क्षमता बढाउँदै निगम



 

दीपेन्द्र थापा, काठमाडौं

नेपाल आयल निगमले वार्षिक पेट्रोलियम पदार्थको खपतमा १५ देखि २० प्रतिशतका दरले वृद्धि भइरहेको जनाएको छ। यो वृद्धिलाई ध्यानमा राख्दै निगमले आगामी ५ वर्षभित्र ९० दिनको खपत धान्ने भण्डारण क्षमता विकास गर्न लागेको हो।

निगमले ९० दिन खपत धान्न आवश्यक पर्ने थप ५ लाख ३० हजार किलोलिटर पेट्रोल, डिजल, मटितेल र हवाई इन्धन भण्डारण क्षमता विस्तार गर्न लागेको हो। वर्षेनि वृद्धि हुँदै गरेको पेट्रोलियम पदार्थको खपतको प्रमुख कारण प्रतिदिन सवारी चाप रहेको निगमले बताएको छ।
उपत्यकामा मात्र सार्वजनिक तथा निजीसमेत गरी दैनिक १० लाख सवारी सञ्चालनमा रहेका छन्। २०७३ सालसम्म देशभरमा २३ लाख ३९ हजार १ सय ६९ सवारी दर्ता भएको तथ्यांक छ।

यसरी प्रतिदिन पेट्रोलियम पदार्थको खपत बढिरहेको अवस्थामा भण्डारण क्षमता बढाउन निगमले गृहकार्य गरिरहेको छ। निगम स्रोतका अनुसार हाल राष्ट्रिय रूपमा निगमको भण्डारण क्षमता पेट्रोलमा जम्मा ८ हजार ६ सय किलोलिटर रहेको छ भने दैनिक विक्री परिमाण १ हजार ४ सय किलोलिटर रहेको छ। यस हिसाबमा भण्डारणले देशभरको माग ६ दिनसम्म धान्नेछ। यसमध्ये उपत्यकामा मात्र दैनिक ५ देखि ६ सय किलोलिटर खपत रहेको छ।

त्यस्तै डिजेलमा देशभरको भण्डारण क्षमता ४ हजार २ सय किलोलिटर रहेकोमा दैनिक ५ हजार २ सय किलोलिटर खपत रहेको छ। ४ हजार २ सय भण्डारणले ६ दिनसम्म देशभरिको मागलाई धान्न सक्ने निगमको दाबी छ।

एलपी ग्यासमा भने निगमसँग हालसम्म भण्डारण क्षमता छैन। तर निजी ग्यास उद्योगीहरूसँग भएको क्षमताले देशको करिब ३ देखि ५ दिनसम्म माग धान्न सक्ने निगमका प्रवक्ता सीताराम पोखरेलले बताउनुभयो। काभ्रेपलाञ्चोकमा १० हजार मेट्रिक टन एलपी ग्यास भण्डारण संरचना निर्माण गर्न निगमले सम्भाव्यता अध्ययन गरिरहेको छ।

निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि न्यूनतम ९० दिनको माग धान्न सक्ने गरी नेपाल आयल निगमको भण्डारण क्षमता वृद्धि गर्न विभिन्न ठाउँ पहिचान गरी जग्गा खरिद गरिरहेको र भण्डारण गृह बनाउन निगम लागि रहेको निगमका चार्टर एकाउन्टेन तथा निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताउनुभयो। भरखरै मात्र निगमले उपत्यका र आसपासको मागलाई सम्बोधन गर्न निगमसँग भएको टइङ्कीलाई स्तरोन्नति गरी पेट्रोलमा ५ हजार ३ सय भण्डारण क्षमता पुर्याएको छ।

हालको जम्मा भण्डारण क्षमता ७१ हजार किलोलिटर रहेको छ। सातै प्रदेशमा भण्डारण गर्ने लक्ष्यअनुरूप निगमले झापा, सर्लाही, चितवन, भैरहवामा जग्गा खरिद गरिसकेको र अरू ठाउँमा पनि खरिद प्रक्रियाका लागि गृहकार्य भइरहेको निगमका निमित्त निर्देशक साहले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्