कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित, जुलाई २५ मा शपथ



 

नयाँदिल्ली, (एजेन्सी)
भारतको राष्ट्रपति चुनावमा सत्तारूढ गठबन्धन एनडीएका उम्मेदवार रामनाथ कोविन्द विजयी भएका छन्। उनले विपक्षीका साझा उम्मेदवार मीरा कुमारलाई पराजित गरेका हुन्।

चुनावमा रामनाथ कोविन्दले निर्वाचन मण्डलबाट ६५ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेको र विपक्षी मिरा कुमारले करिब ३४ प्रतिशत मत हासिल गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

राष्ट्रपति पदमा निर्वाचित हुनुअगाडि कोविन्द विहारका राज्यपाल थिए। कोविन्दले राष्ट्रपति भवनमा प्रणव मुखर्जीको स्थान लिनेछ। वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल २४ जुलाइमा समाप्त हुनेछ। त्यसको अर्को दिन कोविन्दले राष्ट्रपतिको शपथ लिनेछ।

यसअघिको चुनावमा प्रणव मुखर्जीले पूर्व लोकसभा अध्यक्ष पीए संगमालाई हराएको थियो। भारतको १४औं राष्ट्रपतिमा निर्वाचित कोविन्द यसअघिका केआर नारायणनपछिको दास्रो दलित राष्ट्रपति हुन्। कोविन्दको जन्म सन् १९४५ अक्टोबर १ मा उत्तर प्रदेशको कानपुर देहातमा भएको हो।

कानुनको पढाइपछि कोविन्द यूपीएससीको तयारीका लािग दिल्ली आएका थिए। तर उनले त्यसमा चयन भए पनि निजामति सेवामा भने प्रवेश गरेनन् र उनले वकालतको प्राक्टिस गर्न थाले। उनी सन् १९९१ मा भारतीय जनता पार्टीमा आबद्ध भएका थिए। त्यसको तीन वर्षमै उनले राज्यसभाको सदस्यता प्राप्त गरेका थिए। सन् २००६ सम्म उनी लगातार दुईपटक राज्यसभाका सांसद रहे।

सन् २०१४ मा नरेन्द्र मोदी सरकारमा आएपछि कोविन्दलाई विहारको गभर्नरमा नियुक्त गरिएको थियो। सन् १९९८ देखि २००२ सम्मको बीचमा कोविन्दले भाजपाको अनुसूचित जाति मोर्चाको अध्यक्षका रूपमा काम गरेका थिए।

भारतको संविधानअनुसार राष्ट्रपतिलाई कुनै विशेष अधिकार छैन। केही विशेष परिस्थितिमा बाहेक सरकारले जे भन्छ राष्ट्रपतिले गर्नुपर्ने हुन्छ। यद्यपि भारतका पहिलो दलित राष्ट्रपति केआर नारायणन आफ्नो कार्यकालमा प्रभावशाली मानिएका थिए। उनी विदेश मन्त्रालय सेवाबाट आएका थिए। भारतका लागि राजनीतिज्ञका रूपमा रहिसकेका थिए भने प्राज्ञिक क्षेत्रका पनि थिए। उनले आफ्नो स्वतन्त्रता देखाउने प्रयास गरेका थिए।

संविधानअनुसार राष्ट्रपतिले सरकारलाई सुझाव दिन सक्छन्, सरकारसँग पुनर्विचार गर्नका लागि भन्न सक्छन्। तर यदि सरकारले अस्वीकार गरेमा उनले त्यसको अन्तिम अनुमोदनका लागि हस्ताक्षर गर्नु नै पर्ने हुन्छ।

भारतको पहिलो राष्ट्रपति राजेन्द्र प्रसाद र जवाहरलाल नेहरूबीच वैचारिक मतभेद भएको थियो। एक कार्यक्रममा राजेन्द्र प्रसादले आँखा बन्द गरेर बेलायतको चलन अपनाउनु नहुने र राष्ट्रपतिलाई आफ्नो अधिकार हुनुपर्ने बताएका थिए।

तर नेहरूको व्यक्तित्व मजबुत थियो र उनले राजेन्द्र प्रसादलाई १० वर्षसम्म राष्ट्रपतिमा राखे तर कहिले पनि उनको कुनै कुरा मानेनन्।

पूर्वराष्ट्रपतिमा अब्दुल कलाम पनि अत्यन्त योग्य थिए र उनले हरेक विधेयकमाथि सरकारलाई सुझाव दिन्थे। तर उनलाई सोनिया गान्धीले दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न दिइनन्। सोनियाले पहिलो महिला राष्ट्रपतिका रूपमा प्रतिभा पाटिललाई ल्याएकी थिइन्।

पूर्वराष्ट्रपतिमा डा. राधाकृष्णन र जाकिर हुसैन प्राज्ञिक क्षेत्रबाट थिए

प्रतिक्रिया दिनुहोस्