भारतीय राष्ट्रपतिमा कोविन्द निर्वाचित



 

काठमाडौं, (नेस)
छिमेकी मुलुक भारतको १४औं राष्ट्रपतिमा सत्तारूढ भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित हुनुभएको छ। विहारका गर्भनरसमेत रहनुभएका ७१ वर्षीय कोविन्द करिब २ तिहाइ मतका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।

बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार कोविन्दले ७ लाख २० हजार ४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एवं विपक्षी गठबन्धनका साझा उम्मेदवार मिरा कुमारले ३ लाख ६७ हजार १४ मत प्राप्त गर्नुभएको छ।

१४औं राष्ट्रपतिको निर्वाचन गत सोमबार सम्पन्न भएको थियो। नवनिर्वाचित कोविन्दले अर्को साता औपचारिकरूपमा पदभार ग्रहण गर्नु हुनेभएको छ।

सन् २०१५ मा बिहारको ३६औं गर्भनरका रूपमा निर्वाचित कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुने दोस्रो दलित नेता हुनुहुन्छ। यसअघि भारतका १०औं राष्ट्रपति रहनुभएका केआर नारायणनन भारतको पहिलो दलित राष्ट्रपति बन्नुभएको थियो।

नवनिर्वाचित राष्ट्रपति कोविन्द सन् १९४५ को अक्टोबर १ मा उत्तर प्रदेशको देहातमा जन्मनुभएको थियो। कानपुर विश्वविद्यालयबाट एलएलबी र बीकमको औपचारिक अध्ययन गर्नुभएका उहाँले दिल्लीस्थित हाइकोर्ट र सुप्रिमकोर्टमा वकालत पनि गर्नुभएको थियो।

सन् १९९१ मा भारतीय जनता पार्टीमा प्रवेश गर्नुभएका कोविन्द १९९४ मा राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। १९९८ मा भाजपाको जातीय सेलको अध्यक्षमा रहनुभएका उहाँले सन् २००२ मा संयुक्त राष्ट्र संघमा भारतको प्रतिनिधित्व गर्नुभएको थियो। २००४ मा राज्यसभा सदस्यमा पुनः निर्वाचित हुनुभएका उहाँ २०१० मा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ताको जिम्मेवारीमा रहनुभएको थियो।

त्यसै गरी २०१४ मा पार्टीको महासचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
भारतका १४औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित हुनुभएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई एवं शुभकामना सन्देश पठाउनुभएको छ।

छुटाछुट्टै शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले कोविन्द निकट रहेर काम गर्न इच्छुक रहेको बताउँदै आगामी दिनमा दुवै मुलुकको सम्बन्ध अझ फराकिलो बन्ने विश्वास व्यक्त गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्