३० हजार घरमा प्रहरीको “स्टिकर”



 

नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुर प्रहरीले हेटौंडाका ‘घरघरमा स्टिकर’ अभियान थालेको छ। अभियानको बिहीबार हेटौंडाका मेयर हरिबहादुर महत, उपमेयर मीना लामा, मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी गणेश केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी र जिल्ला प्रहरी प्रमुख एसपी वसन्तकुमार लामालगायतले प्रारम्भ गरेका हुन्।

प्रहरी र आमनागरिकबीच सम्बन्ध प्रगाढ बनाएर अपराध र अपराधीलाई कानुनी दायरामा ल्याउने उद्देश्यसाथ स्टिकर टाँस अभियान शुरू गरिएको हो।

आमनागरिकमा शान्ति⁄सुरक्षाको थप अनुभूति दिलाउन तथा कुनै आपराधिक घटना भए प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउने उद्देश्यले नागरिक सूचना र सुरक्षाका लागि हेटौंडा नगरका करिब ३० हजार घरमा स्टिकर टाँस अभियान सञ्चालनमा ल्याइएको प्रहरी प्रमुख एसपी लामाले बताए। विद्यालयका विद्यार्थी र नागरिकमार्फत् स्टिकर घरघरमा पुर्याइनेछ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्याब्सन मकवानपुरको सहयोगमा स्टिकर तयार पारेको हो। कार्यक्रमका प्रमुख अतिथि हेटौंडाका मेयर महतले घरघरमा स्टिकर टाँस भएपछि प्रहरीसँग नागरिकको प्रत्यक्ष सम्वन्ध बिस्तार हँुदै जाने र समुदायमा कुनै घटना भए प्रहरीको पहुँच छिटो हुने विश्वास व्यक्त गरे।

प्रहरी नायब महानिरीक्षक केसीले नागरिक सूचनाका लागि स्टिकर टाँसिएका घरका मानिस, प्रहरी र अन्य नागरिकबीच सम्बन्ध प्रगाढ हुने बताउँदै अपराध र अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने बताए।

आमनागरिकलाई सुसूचित गर्न तथा सूचनाको अभ्यासलाई थप विकसित गराएर नगरको समग्र शान्ति⁄सुरक्षालाई अझ प्रभावकारी बनाउन अभियानले प्रहरीलाई सफलता र आमनागरिक फाइदा पुग्ने प्रमुख जिल्ला अधिकारी दुवाडीले बताए।

अभियानलाई प्रभावकारी बनाउन र नागरिकसँगको सम्वन्ध सुधार ल्याउन नागरिक समाज, राजनीतिक दल, समाजसेवी र आमनागरिकको सहयोग अपरिहार्य रहेको उनले बताए। कुनै प्रकारको असुरक्षाजन्य गतिविधिप्रति सचेत गराएर शंकास्पद वस्तु वा थाहा पाए वा सुरक्षासम्बन्धि समस्या भए तत्काल प्रहरीलाई खबर गर्न घरमा टाँस गरिएको स्टिकरमा भएको फोन नम्बरमार्फत् जानकारी गराउन सकिने प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

नागरिक सूचनाका लागि प्रत्येक घर, पसल, कार्यालय, संघसंस्था आदिमा टाँस गर्न प्रहरी, विद्यार्थी तथा सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीले नागरिकको सहयोग लिएर कार्य गर्ने प्रहरी प्रमुख एसपी लामाले बताए।

प्रतिक्रिया दिनुहोस्