फोप्ली पहिरोको एक वर्ष :- जोखिम उस्तै, त्रासमा स्थानीय



 

सलिम अन्सारी, प्युठान
उत्तरी प्युठानमा वर्षायाम शुरू भएसँगै पहिरोको जोखिम र त्रास समेत बढ्दै गएको छ। अहिले पनि गाउँका कोही ढुक्कले निदाउन समेत सक्ने अवस्था छैन। गत वर्ष फोप्ली, बहाने, खवाङ, पूजा, अर्खा, रजवारालगायतका गाउँहरूमा अविरल वर्षासहितको बाढी र पहिरोले उच्च धनजनको नोक्सानी पुर्यायो। घटनाको एक वर्ष पुग्न नपाउँदै फेरि त्यही शृंखला दोहोरिन थालेका छन्। मध्य असारमा घरमा सुतिरहेकी रजवारा–३ की १७ वर्षीया युवती तुलसा घर्तीले पहिरोमा पुरिएर अकालमै ज्यान गुमाइन्।

त्यस्तै पहिरोमा हराइरहेका नौबहिनी गाउँपालिकाकै लिघा कसेरीका १७ वर्षीया जुगमान घर्ती र उनका १३ वर्षीय भाइ सुनील घर्ती मगर अझै भेटिएका छैनन्। फोप्ली वार्डका सामाजिक परिचालक युवराज भण्डारीका अनुसार हल्का पानी परे पनि कहालीलाग्दो पीडा झेलेका बाढीपहिरोपीडितहरू फेरि तिनै दिन दोहोरिने त्रासमा रहने गरेको बताउँछन्। गाउँको गातिना र भीरकुना बस्ती धेरै जोखिमा छ। उनले भने– ‘पहिरोको जोखिम टरेको छैन। वर्षायाम शुरू भएसँगै यहाँ पहिरो खस्ने क्रम शुरू भएको छ भने स्थानीयहरू घर छोड्न थालेका छन्।’

जनता आवास कार्यक्रममार्फत हालै निर्माण भएका घरहरूसमेत पहिरोको जोखिममा रहेको सामाजिक परिचालक भण्डारीले जानकारी दिए। पहिरोपछि स्थलगत अध्यनका लागि आएका भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन प्रतिवेदन केन्द्रमा बुझाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनले विस्तृत अध्यनका लागि भूगर्भविद्को अर्को टोली वर्षा सकिएलगत्तै जिल्ला आउने जानकारी दिए। बाढीबाट प्रभावित ठाउँको जोखिमबारे प्रतिवेदन समयमै नआउँदा स्थानीयमा जोखिमको त्रास हटेको छैन। पहिरोपीडितको पुनर्वासका लागि आवास निर्माणको कामसमेत भइरहेको छ। प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगोलिक अध्यनपछि सुरक्षित स्थानमा घर निर्माण गर्ने काम गरिएको बताएका हुन्। उनले अहिलेसम्म ६० वटा घर निर्माण गरिसकिएको जानकारी दिए।

डिभिजन कार्यालय रोल्पामार्फत् जनता आवास कार्यक्रमअन्तर्गत २० विपन्न दलित परिवार र फूलबारीमार्फत् ४० घर निर्माण गरिएका हुन्। पीडितमध्ये १० परिवारले आफैं आवासको व्यवस्था मिलाएका थिए। जिल्ला दैवी प्रकोप राहत तथा उद्धार समितिले बाँकी ८ परिवारको व्यवस्थापनका लागि जग्गा किन्ने निर्णय गरिएको प्रजिअ पौडेले सुनाए। वर्षात्पछि तत्काल उनीहरूको आवासको व्यवस्था गरिने उनले जनाए।

गत साउनमा पहिरो जाँदा फोप्लीमा झन्डै ८० घरपरिवार विस्थापित भएका हुन्। पहिरोमा पुरिएर जिल्लाभरमा ५३ जनाले ज्यान गुमाएका थिए। २ जना अझै बेपत्ता छन्। ८ जना घाइते भएका थिए। पहिरोबाट फोप्लीमा मात्रै २७ जनाको ज्यान गएको थियो भने १ जना अझैसम्म बेपत्ता छन्। यहाँ ७८ घर पूर्ण रूपमा विस्थापित भएको जिल्ला प्रशासनले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्