काठेपुल बगाउँदा बालबालिकाको पढाइ प्रभावित



 

नेपाल समाचारपत्र
बझाङ
सदरमुखकाम चैनपुर जोड्ने एक मात्र बाउली खोलामा रहेको काठे पुल असार २९ गते बाउली खोलामा आएको बाढीले बगाएपछि विद्यालय जाने ससाना उमेरका बालबालिका तथा सदरमुकाम आउने स्थानीयलाई सास्ती भएको छ। बाउली खोलामा निर्माण गरेको काठेपुल बगाएपछि सुबेडा, सिमखेत, नौरा, देबलका बालबालिकाहरू र बझाङ क्षेत्र नं. २ बाट कामले चैनपुर आउने स्थानीयलाई निकै समस्या भएको जयपृथ्वी नगरपालिका–११ का खगेन्द्र खड्काले बताउनुभयो।

‘खोलामा काठेपुल हुँदा स साना बालबालिकाहरू आफैं विद्यलाय जान सक्थे’, सुवेडाकी मनु ऐडीले भन्नुभयो– ‘अहिले आफूले घरको काम सबै छोडेर आफ्नो छोरा विकास ऐडीलाई विद्यालय छोड्न र लिन आउनुपर्छ।’ ‘खोलामा काठेपुल हुँदा घरबाट ३० मिनेटमा सदरमुकाम चैनपुरमा रहेको सेती साइपाल एकेडेमी स्कुलमा पुगिन्थ्यो अहिले डेड घण्टामा पुगिन्छ कहिलेकाहीं स्कुल लागिसकेको हुन्छ समयमा पुग्न सकिन्न’ –उनले पीडा सुनाए। गत असार महिनाको ३१ गते बाउली खोलामा आएको बाढीले सदरमुकाम जोड्ने झोलुङ्गे पुल बगाएपछि केही महिना काठेपुल खोलामा हाल्ने गरेको र फेरि पानीको सतह बढेर काठेपुल खोलाले बगाउँदा समस्या हुने गरेको स्थानीयको भनाइ छ।

‘पहिले खोलामा पुल हुँदा सिमखेतबाट सदरमुकाम चैनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विद्या सदनमा पुग्न १५ मिनेट लाग्थ्यो। बालबालिकाहरू लामो बाटो भएका कारणले हिँड्न समेत सक्दैनन्। त्यसैले बोकेरै भए पनि विद्यलाय पुर्याउनैपर्छ’ –स्थानीय वीरेन्द्र धामीले बताउनुभयो। यहाँको स्थानीय निकायले भने पुल निर्माणप्रति कुनै चासो देखाएको वीरेन्द्र धामीले बताए।

बाउली खोलामा झोलुङ्गे र काठेपुल हुँदा विद्यार्थीहरू समयभन्दा १५⁄२० मिनेट अगाडि नै विद्यलाय पुगी सक्थे। अहिले सुबेडा, नौरा, देबल, सिमखेतमा विद्यार्थीहरू समयमा कहिले पनि पुग्दैनन्।

प्रतिक्रिया दिनुहोस्