चर्को घामका कारण तराईको जनजिवन कष्टकर



कृष्णउदास खनाल,वीरगन्ज ।
साउन लागेसंगै खडेरी परेपछि पर्सा सहित मध्य तराईको जनजीवन कष्टकर बनेको छ ।

अत्याधिक गर्मीका कारण पर्सा र बारा सहित तराई क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।

बिहानैदेखि लाग्ने चर्को घामका कारण सर्वसाधारणको दैनिकी निकै कठिन हुन थालेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर–पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउछन् ।

गर्मीका कारण वीरगन्जको बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ । चर्को घामसंगै तातो हावा चल्दा दैनिक जीवन–यापनसमेत प्रभावित भएको छ ।
एक हप्ताअघिको वर्षा सकिन नपाउदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको स्थानीयवासी बताउछन् ।

गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढेको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए ।
सदरमुकाम वीरगन्जस्थित जिल्ला अस्पतालमा गर्मी बढेसंगै दैनिक ४०÷५० जनासम्म बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल सहित वीरगन्जका सबै अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । यसैबीच प्रचण्ड गर्मीका कारण स्थानीयहरुले धान रोपाई समेत गर्न पाएका छ्रैनन् ।

पर्सामा हालसम्म जम्मा ६० प्रतिशत मात्रै धान रोपाइ भएको जिल्ला कृषि बिकास कार्यालय पर्साले जनाएको छ। उसका अनुसार पर्सामा धान रोपाई कार्य अझैपनि जारी रहेको छ ।

साउनको अन्तिम सातासम्म पनि धान रोपाई कार्य पर्सामा जारी रहने कृषि बिकास कार्यालय पर्साका प्रमुख बीरेन्द्र सिन्हाले जानकारी दिएका छन् । यद्यपी खडेरीका कारण रोपिएको धानबाली भने मर्न थालेको पनि उनले जानकारी दिएका छन् ।

पर्सामा कुल खेती योग्य जमिनको ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाउने गरिन्छ । खडेरी बढेसंगै धानको उत्पादनमा पनि गिरावट आउने आशंकाले पर्साका कृषकहरु भने चिन्तामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्