स्कुलमा विज्ञान पढाउने शिक्षक गाई गोठमा, भन्छनः ‘म सन्तुष्ट छु’ 



दुर्गाप्रसाद शर्मा,पर्वत ।
बोडिङ्ग स्कुलमा बिज्ञान र अंग्रेजी पढाउँदै आएका शिक्षक यतिबेला गाई गोठमा भेटिन्छन, हातमा मार्कर र किताब होइन यतिबेला हसिँया र बेल्चा देखिन्छ ।

उनीले बिद्यालयमा बिज्ञान पढाउन छाडेर गाईगोठमा गोबर सोहोर्ने देखि गाई दुहुने काम गरिरहेका छन र यसमा सबैभन्दा  बढी सन्तुष्ट पनि छ । तपाईलाई सुन्दा अचम्म लाग्छ होला र वास्तबिकता यही हो  ।

बिएस्सी सकेर निजी बिद्यालयमा माध्यामिक तहका बिद्यार्थीलाई बिज्ञान र गणित पढाउने पर्वतको मोदी गाउँपालिका – २ देउपुरका शिक्षक बेदप्रसाद तिमिल्सीनाले अहिले गाईपालन फारम शुरु गरेका हुन ।

गाईपालन फारमबाट मासिक एक लाख रुपैया नाफा पनि कमाई रहेका छन । उनी भन्छन ‘निजी बिद्यालयमा गुरु बनेर भन्दा यहाँ आफ्नै गोठमा गोबर सोहोरेर बढी आम्दानी र आनन्द प्राप्त भएको छ ।’

बिद्यालयमा पढाउँदै गर्दा उनका घरमा दुई वटा गाई थिए । दुई वटा गाईबाट भएको आम्दानी देखेपछि निजी बिद्यालयको शिक्षक भन्दा आफ्नै ब्यबसायबाट राम्रो आम्दानी हुने संभावना देखेर गाईको संख्या थप्न थाले ।

उनलाई जागिर छाडेर गाईपालन ब्यबसायमा अगाडी बढ्न जिल्ला पशु सेवा कार्यालयले प्राबिधीक सहयोग र सुझाब दुबै दिएपनि पुर्णरुपमा गाईपालनमा लागेको तिमिल्सीना बताउँछन । ‘दुई  वटा गाईबाट त यसरी आम्दानी हुन्छ भने ब्यबसायिक रुपमा गाईपालनमा लाग्दा पक्कै राम्रो हुन्छ भनेर यता लागेको हुँ’ उनले भने  ।

तिमिल्सीनाको एकल लगानीमा २०७० देखि शुरु गरेको  ‘प्रगति गाईपालन फार्म’मा अहिले २४ वटा उन्नत गाई छन ।

अब १ सय गाई पु¥याउने लक्ष्य राखेका छन । अहिले उत्पादित दुध पातीचौर र डिमुवाबजारमा घरघरै पनि पु¥याउँछन भनृ सहकारीमा पनि बिक्री गर्छन । दुध बिक्रीका लागि समस्या पनि छैन , अझै उत्पादन बृद्धि गर्दा पनि समस्या नआउने उनी सुनाउँतन ।  तिमिल्सीना भन्छन ‘मेहनत गर्ने हो भने बिदेशमा भन्दा स्वदेशमै लाखौ रुपैंया कमाउन सकिन्छ ।’

तिमिल्सीनाले अहिले फर्ममा झण्डै ३० लाख लगानी पु¥याएका छन । उनलाई १० लाख रुपैया प्याक्टले सहयोग गरेपछि पुर्बाधार राम्रो बनाएका छन । फर्म वरपर घाँसखेती राम्रो गरेका छन ।

आफुँ  र श्रीमती बाहेक एक जनालाई रोगजारी दिएका छन  । युवाहरु बिदेशमा थोरै तलबमा कठिन काम गर्न तयार हुने तर स्वदेशमा काम गर्न नरुचाउने प्रबृत्तिका कारण उनले अझै धेरै कामदार राख्न सकेका छैनन ।

‘बिदेशमा जस्तो काम पनि गर्न तयार हुने तर आफ्नै गाउँघरमा  पशुपालन  गर्न कठिन मान्ने समस्याले फर्ममा कामदार पाउनै मुस्किल भएको छ’ उनले भने ।

अहिले नेपाल बिद्युत प्राधिकरणले फर्म वरपरको जग्गा अधिग्रहण गरिदिएका कारण घाँसखेती र फर्म बिस्तारमा भने समस्या भएको उनले सुनाए  ।

निजी बिद्यालयमा पढाउने बेला गाईपालनमा लाग्न प्रेरित गर्ने जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक रामजीप्रसाद पौडेल भन्छन‘थोरै तलबमा शिक्षक बन्नुभन्दा पशुपालनमा लाग्दा राम्रो कमाई हुन्छ भनेर शिक्षण छोडाएको हुँ’ तिमिल्सीनाकै जस्तो ब्यबसायिक सोच र मेहनत अरु युवाहरुमा पनि आउन आवश्यक रहेको पौडेलले बताए ।

‘यस्ता युवाहरुलाई उत्प्रेरित गर्न सकेमा रोजगारीको खोजीमा बिदेश जानै पर्दैन’ उनले भने ‘स्वदेशमै प्रशस्त संभावना छन, हामीमा सोच र अठोट मात्रै चाहिएको छ’

प्रतिक्रिया दिनुहोस्