कुलेखानीमा माछा उत्पादन घट्यो



 

नेपाल समाचारपत्र
हेटौंडा
विद्युत् उत्पादनका निम्ति मानवनिर्मित देशको सबभन्दा ठूलो पोखरी कुलेखानीको इन्द्रसरोवरमा माछा उत्पादन पछिल्लो समय घट्दै गएको छ। २ वर्षअछि वार्षिक करिब ५६ हजार केजी माछा उत्पादन भएको इन्द्रसरोवरमा यस वर्ष उत्पादनमा कमी आएको हो।

माछा पालन व्यवसायमा आबद्ध ६ सय ८५ मत्स्य व्यवसायीले वार्षिक ५५ हजार ८ सय केजीसम्म खाने माछा उत्पादन गर्दै आएको इन्द्रसरोवरमा यसवर्ष करिब ३ हजार केजी माछा उत्पादनमा कमी आएको छ। इन्द्रसरोवरमा मत्स्य व्यवसायी संघ अध्यक्ष जमानसिंह वाइबाका अनुसार अज्ञात व्यक्ति⁄समूहले केही वर्षअघि इन्द्रसरोवरमा छाडेको मांशहारी मागुर माछाका कारण अन्य माछा उत्पादनमा कमी आएको हो।

यस वर्ष केजमा समेत गरी करिब ३३ हजार केजी माछा उत्पादन भएकोमा केजबाहिर करिब २२ हजार केजीमात्र उत्पादन भएको छ। गत वर्ष केजबाहिर करिब २५ हजार केजी उत्पादन भएको थियो। मागुर माछाले अन्य माछा खाँदा खानेमाछा उत्पादनमा कमी आएको हो।

मागुर मांशहारी माछा भएको तथा यस्तो माछाको लामो र गोलाकार शरीर हुने मत्स्य विकास केन्द्र हेटौंडाका प्रमुख सानुकाजी पछाईंले बताउनुभयो। माथिल्लो फिन र तल्लो फिन निकै लामो हुन्छ र झण्डै पुच्छर नजिकसम्म पुगेको हुन्छ। दुवै फिनको फिन रे नरम हुन्छ।

माछाको टाउको चौंडा, थेप्चिएका र शरीर नरम कत्लाविहीन छालाले ढाकिएको हुन्छ। शरीरको रंग गाढा खरानीदेखि फिक्का कालोसम्म हुन्छ। लामो समयसम्म घमाइलो जलाशयमा मागुर माछा पालेमा माछाको रंग उज्यालो हुँदै जान्छ। पछाईंका अनुसार मागुर माछा बंगलादेश बाट भारतहुँदै नेपालमा व्यापारीले भित्रा्याएका हुन्। छ महिनामा नै मागुर ठूलो हुने गर्दछ।

माछाको चार जोडी हाँगाविहीन जँुगा हुन्छ। माछालाई हिलो एवम् पानीबाहिर श्वास फेर्न सहायक श्वास फेर्ने अंग हुन्छन् जुन काउलीको फूलजस्तो झुप्पो किसिमको हुन्छ। यो पानीको सबै तहमा बस्छ। माछा खाएकै भरमा यो बाँच्छ।
‘बल्छी थापेर मागुर मार्ने प्रयास त भएको छ, यतिले मात्र मागुर सकिने लक्षण देखिँदैन’, अध्यक्ष वाइबाले भन्नुभयो ‘विशेषज्ञ नै बोलाएर मागुर मार्ने अभियान सञ्चालन गर्ने तयारीमा आफूहरू लागेका छौ। अन्य पोखरी भए खाली गरेर पुनः माछा पालन सुरु गर्न सकिन्छ।’

माछा उत्पादनका लागि प्रसिद्धि कमाएको इन्द्रसरोवरमा कही वर्षअघि ‘चन्दा’ आतंकले माछा उत्पादनमा भारी गिरावट आएको थियो। चन्दा (माछाको प्रजाति) को आतंकमा बृद्धि भएपछि माछा उत्पादनमा ९० प्रतिशतसम्म गिरावट आएको हो।

सरोवरमा सिसा (चन्दा) माछाको संख्या ह्वात्तै बढेपछि माछाको वृद्धि र विकासमा प्रतिकूल असर परेको थियो। हेर्दा पारदर्शी देखिने चन्दा माछाले व्यावसायिकरुपमा पालिएको माछाको कत्ला उप्काएर खाने गर्दछ। माछाको कत्ला उप्किएपछि माछालाई ढुसीजन्य रोग लाग्ने गर्दछ। जीउमा ढुसीजन्य रोग लागेपछि माछाको आकार र तौल बढ्दैन।

तराईबाट माछाको भुरा ल्याउँदा संगै भित्रिएको चन्दा जातका माछाको भुरा प्रतिकूल वातावरणीय अवस्थामा पनि सजिलै हुर्किनसक्ने हुँदा इन्द्रसरोवरमा चन्दा माछाको आतंक नै फैलिएको थियो।

करिब ७ किलोमिटर लामो इन्द्रसरोवरको ११ हजार १ सय ५६ घनमिटर क्षेत्रफलमा ४ सय वटा केज राखेर प्रतिघनमिटर ४ दशमलव ५ केजीका दरले माछा उत्पादन भइरहेको छ। इन्द्रसरोवर बाहिर २ सय २० कृषक संघमा आवद्ध छन्। उनीहरूले करिब ४६ हेक्टर क्षेत्रफलमा माछापालन गर्दा प्रतिहेक्टर ३ हजार १ सय ५८ केजी माछा उत्पादन गर्दै आएका छन्।

त्यहाँ विशेष गरी रहु, नैनी, कमनकार्प, बिगहेड कार्प, सिल्भर कार्प, तिलापिया र ग्रास कार्प जातका माछा बढी छन्। जसमध्ये कमन कार्प र नैनीको खेती हुने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्