साउन लागेपछि बल्ल रोपाइँ शुरू



 

ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे
गत वर्ष साउनको पहिलो हप्तामा धान गोड्ने बेला भएको थियो। तर यसवर्ष साउन लागेपछि भर्खरै मात्र रोपाईं शुरु भएको छ। पानी कम परेका कारण जिल्लाको धान उत्पादनमा पकड मानिएका पाँचखाल, कुन्तावेसि, चाखोला, सिपाघाट र चण्डेनीमण्डन लगायतका स्थानहरूमा साउनको पहिलो सातामा मात्र रोपाईं शुरु भएको हो। यसवर्ष विगत वर्षहरूमा भन्दा अलि ढिलो गरी मनसुन शुरु भयो। त्यसैले यसको प्रत्यक्ष असर किसानहरूलाई परेको हो। अहिले सम्म जिल्लामा करिव ४० प्रतिशत जति खेतमा मात्र रोपाईं भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ।

विगत वर्षहरूमा असार सकिंदा सम्म जिल्लामा रोपाईं पनि सकि सक्थ्यो। अहिले जम्मा ४० प्रतिशतमा मात्र रोपाईं भएपछि धान उत्पादनमा पनि कमी आउने अनुमान गरिएको छ। ढिलो वर्षा भएकाले यसवर्ष विगतको जस्तो रोपाईं हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। सिचाईं सुविधा पुगेका खेतहरूमा भने समयमै रोपाईं सकिएको थियो। रोपाईं गर्न नपाएको खेतमा के राप्ने भन्नेमा कृषकहरू अन्योलमा छन्। यस वर्ष उनीहरूलाई रासायनिक मलको अभाव पनि उस्तै परेको स्थानीय कृषक दिपक प्रसाद पौडेलले बताउनुभयो।

समयमा रोपाईं गर्न नपाएपछि यसवर्ष धान उत्पादन घट्ने भएकाले किसानहरू चिन्तित छन्। गएको वर्ष मौसम अनुकूल भएका कारण देशमै धान उत्पादनमा उल्लेख्य वृद्धि भएको थियो। तर यसवर्ष देशभरिकै मौसम गतवर्षको जस्तो छैन। त्यसैले धान उत्पादन केहि घट्न सक्ने कृषि अनुसन्धान परिषदका इञ्जिनियर गौरीलाल श्रेष्ठले बताउनुभयो। यतिखेर देशभरि जम्मा ५० प्रतिशत खेतमा मात्र रोपाईं सकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्